coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

लाखौंको गुट्खा बरामद

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको गुट्खा आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय परिसरमा चेकजाँचका लागि झारिँदै। तस्बिर : टंक/नागरिक

सर्लाही – पछिल्लो केही दिनयता जिल्लास्थित सशस्त्र प्रहरीले भारतीय सीमा हुँदै अवैध आयात निर्यातमा निकै कडाइ सुरु गरेको छ। सशस्त्र प्रहरीको कडाइसँगै दुई दिनयता लाखौं मूल्य बराबरको अवैध ढंगले आयात निर्यात हुँदै गरेका मालसामान एवं गाईगोरु बरामद भएका छन्।

सशस्त्र प्रहरीले मापदण्डविपरितको ५० बोरा गुट्खा नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि प्रमुख जिल्ला अधिकारीसमक्ष पेस गरेको छ। आठ लाख ३९ हजार मूल्य बराबरको गुट्खा मापदण्डविपरित रहेको प्रजिअ मोहनबहादुर जिसीले जानकारी दिए।

‘सूर्तीजन्य पदार्थ नियन्त्रण ऐनअनुसार त्यस्ता प्याकेटमा ९० प्रतिशत भाग सचेतनामूलक फोटो एवं सन्देशले भरिएको हुनुपर्ने भए पनि बरामद् प्याकेटमा ४० प्रतिशतमात्र देखिएको छ,’ प्रजिअ जिसीले भने, ‘त्यसैले उक्त सामान नष्ट गर्ने र ५० हजार जरिवाना त हुन्छ नै, अझ राजस्वको स्टिकर पनि नक्कली हो कि भन्ने आशंका लागेकाले स्टिकर परीक्षणका लागि जनकपुर राजस्व कार्यालयमा पठाएका छौं।’ राजस्वको स्टिकर नक्कली भए पिकअप भ्यान लिलामीसहित थप कारबाही हुने प्रजिअ जिसीले बताए।

राजस्व स्टिकरसमेत नक्कली भएको आशंका

पूर्व–पश्चिम राजमार्गस्थित नवलपुरबाट सदरमुकाम मलंगवातर्फ जाँदै गरेको ना२च ५९७८ नम्बरको पिकअपलाई कविलासीमा नियन्त्रणमा लिइएको कविलासीस्थित सशस्त्र प्रहरी १० नं. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले बताए। उक्त गुट्खा कपिलबस्तुको चन्द्रौटाबाट मलंगवातर्फ ल्याउँदै गरेको अवस्थामा बरामद भएको उनले बताए।

त्यस्तै सशस्त्र प्रहरीले आइतबार बिहान सर्लाहीबाट भारततर्फ अवैध ढंगले लगिँदै गरेका १२ वटा गाईगोरु नियन्त्रणमा लिएको जनाएको छ। भारतीय सीमा क्षेत्र नजिक पर्ने ब्रह्मपुरी गाउँपालिका–४, भेल्हीबाट ती गाईगोरु नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए। एक लाख रुपैयाँ मूल्यांकनसहित नियन्त्रणमा लिइएका गाईगोरु मलंगवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यस्तै शनिबार राती रामनगर गाउँपालिका–५, बिर्ता टोलबाट सीमलका २० थान गोलिया काठ बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। बरामद गोलिया आइतबार बिहान सेक्टर वन कार्यालय मूर्तियामा बुझाइएको छ। उक्त गोलिया नेपालबाट भारततर्फ अवैध निर्यात गर्ने तयारीमा राखिएको सशस्त्र प्रहरी स्रोतले जनायो।

त्यस्तै भारतीय सीमास्थित त्रिभुवननगरबाट आइरहेको ना३ख १९१२ नम्बरको यात्रुबस ब्रह्मपुरी गाउँपालिका–४, भेल्हीमा चेकजाँच गर्दा भन्सार छलेका ६० हजार रुपैयाँ बराबरको कपडा, किराना, हार्डवेयरलगायत विभिन्न सामान बरामद गरिएको सशस्त्र प्रहरीले बतायो।

केही साताअघि पनि सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा साल, टिक, मसलालगायतको एक ट्याक्टर चिरान काठ र एक भारतीय नागरिकलाई नियन्त्रणमा लिई डिभिजन वन कार्यालय लालबन्दीमा बुझाएको थियो।

प्रकाशित: ६ आश्विन २०७६ ०२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App