८ वैशाख २०८१ शनिबार
राजनीति

मोर्चासँग वार्ता गर्दै दाहाल

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार बिहान मधेसी मोर्चाका नेतासँग संविधान संशोधन विधेयकबारे छलफल गर्दैछन्।

प्रधानमन्त्रीले मोर्चाका नेतालाई मंगलबार साँझ सम्पर्क गरी बुधबार बिहान छmलफल गर्न बोलाएका हुन् । मोर्चाले सरकारलाई आगमी मंसिर १४ गतेभित्र संविधान संशोधन विधेयक संसद्मा दर्ता गर्न अल्टिमेटम दिएको छ। त्यतिन्जेल संशोधन विधेयक दर्ता नभए आन्दोलनमा जाने उसको चेतावनी छ।

प्रधानमन्त्रीले यसअघि मधेसी मोर्चाका नेतासँग बुधबारसम्म संविधान संशोधन विधेयक संसद्मा दर्ता गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसैले यसबारे छलफल गर्न बिहान मोर्चाका नेतालाई बोलाएका हुन्। ‘संविधान संशोधन विधेयकबारे छलफल गर्न प्रधानमन्त्रीले बुधबार हामीलाई बोलाउनुभएको छ । यसबारे हामीले उहाँको धारणा के हो बुझ्नेछौं,’ तमलोपा अध्यक्ष महन्थ ठाकुरले भने ।

मोर्चा सम्बद्ध दलका केही शीर्ष नेता यतिखेर काठमाडौंबाहिर छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी काठमाडौंबाहिर छन् ।

मोर्चाका नेताले भने प्रधानमन्त्रीलाई संविधान संशोधन विधेयकमा एमाले सहमत नभए पनि संसद्मा दर्ता गर्न दबाब दिइरहेका छन् । प्रधानमन्त्रीले मधेसी मोर्चाका नेतालाई संविधान संशोधन विषयवस्तुबारे पनि अनौपचारिक रुपमा जानकारी गराएका छन् ।

मोर्चाका नेताले भने संविधान संशोधन विधेयक संसद्मा दर्ता भएपछि यसबारे प्रतिक्रिया दिने बताउँदै आएका छन् ।

एमाले सहमतिमा नआए पनि विधेयक संसद् लैजाने तयारीमा सरकार जुटेको छ । बुधबारको छलफलमा यसबारे कुराकानी हुने मधेसी दलका नेता बताउँछन् ।

विभिन्न बहानामा संविधान संशोधन विधेयक संसद्मा दर्ता गर्न ढिलो भइरहेको भन्दै मधेसवादी दलका नेताले प्रधानमन्त्रीलाई यसरी नअलमल्याउन सुझाव दिएका छन् । प्रधानमन्त्री दाहाल संविधान संशोधनबारे  विगत केही दिनदेखि विभिन्न दलका नेतासँग निरन्तर औपचारिक र अनौपचारिक संवादमा छन्।

प्रकाशित: ८ मंसिर २०७३ ०१:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App