८ वैशाख २०८१ शनिबार
समाज

माग पूरा नभए सरकारी अस्पताल बन्द

काठमाडौं— चिकित्सा शिक्षा सुधारको माग राख्दै १० दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीका मागबारे छलफल गर्न र अनशन अन्त्य गर्न सरकारले उच्चस्तरीय समिति गठन गर्ने भएको छ।

अनशनका कारण डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदा पनि सरकारका तर्फबाट मंगलबारसम्म कुनै पहल भएको छैन । यहीबीच, मंगलबार राति स्वास्थ्यमन्त्री गगन थापाले डा. केसीलाई भेटेर माग पूरा गर्न सरकारले समिति बनाउन लागेको जानकारी दिएका हुन्।

देशभरका एमबिबिएस अध्ययनरत विद्यार्थीको छाता संगठन नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी (एनएमएसएस) ले डा. केसीका माग पूरा नगरे सबै प्राज्ञिक र अन्य अस्पतालका सेवा बन्द गर्ने चेतावनी दिएको छ।

डा. केसीलाई भेटेलगत्तै मन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर समिति बनाएर समस्या समाधान गर्नुपर्नेबारे छलफल गरेका थिए। प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री थापाको भेटका क्रममा प्रधानमन्त्री दाहालले डा. केसीका माग पूरा गर्न सरकार तयार रहेको र समिति बनाउने कुरामा सकारात्मक रहेको बताएका थिए।

प्रधानमन्त्री कार्यालयले दिएको जानकारीअनुसार सरकारले बुधबार शिक्षा सचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाउन लागेको हो। समितिमा स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहनेछन्।

समितिले वरिष्ठता मिचेर त्रिविले नियुक्त गरेको डिनका विषयमा संसद्मा रहेको चिकित्सा शिक्षा विधयेक, डा. केसीले उठाएका दसबुँदे माग र दोषीमाथि कारबाही गर्ने विषयमा काम गर्ने बताइएको छ।

यस्तै, डा. केसीले दोषी देखाएका व्यक्ति तथा पदाधिकारीबारे न्यायिक छानबिन गर्न छुट्टै निकाय बनाउनेबारे पनि छलफल चलिरहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।

डा. केसीले सरकारले आफूले उठाएका माग पूरा नभई अनशन नतोड्ने बताएका छन्। डा. केसीले वरिष्ठता मिचेर बनाइएका डा. केपी सिंहले राजीनामा दिनुपर्ने, त्रिविका उपकुलपति तिर्थ खनियाँलाई बर्खास्त गर्नुपर्ने, एमबिबिएसमा गत वर्षकै शुल्क सिमा लागू गर्नुपर्ने, आइओएमलाई पूर्ण स्वायत्तता संस्था बनाउनुपर्नेलगायत माग राखेका छन्।

यसैगरी, चिकित्सा शिक्षा ऐन नआउँदै विस्तारित कार्यक्रम वा अन्य कुनै वहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिन, संसद्बाट चिकित्सा शिक्षा ऐन पारित गर्दा विगतमा सुझाएका संशोधन समेटेर तथा माथेमा प्रतिवेदन र विगतका सम्झौताअनुकूल हुने गरी पारित गर्न पनि उनको विशेष जोड छ।

अस्पताल बन्द गर्ने चेतावनी

देशभरका एमबिबिएस अध्ययनरत विद्यार्थीको छाता संगठन नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी (एनएमएसएस) ले डा. केसीका माग पूरा नगरे सबै प्राज्ञिक र अन्य अस्पतालका सेवा बन्द गर्ने चेतावनी दिएको छ।

सोसाइटीले नवनियुक्त डिनलाई ज्ञपानपत्र बुझाउँदै अस्पताल बन्दको चेतावनी दिएको हो । सोसाइटीलाई आवासीय चिकित्सकले समेत साथ दिएका छन् । संयुक्त ज्ञापनपत्रमा संस्थानको भलाइ, गुणस्तरीय चिकित्सा शिक्षा र सेवामा आमनेपालीको सहज पहँुच स्थापित गर्ने अभियानलाई सफल बनाउन डिन पदबाट राजीनामा गर्न डा. केपी सिंहलाई आग्रह गरिएको छ । तर डा. सिंहले राजीनामा नदिने अडान दोहो¥याएका छन् ।

उपकुलपतिको राजीनामा माग्दै त्रिवि घेर्ने

डा. केसीको माग पूरा गर्ने विषयमा सरकारले कुनै चासो नदिएको र वरिष्ठता आधारमा मिच्दै डिन नियुक्ति गरेको भन्दै डा. केसीका समर्थकले बुधबार त्रिवि उपकुलपति तीर्थ खनियाँको राजीनामा माग गर्दै उपकुलपति कार्यालय घेराउ गर्ने भएका छन्।

‘सोलिडारिटी फर डा केसी अलायन्स’ को अगुवाइमा बुधबार दिउँसो १२ बजे उपकुलपतिको कार्यालय घेराउ र प्रदर्शन गर्ने कार्यक्रम छ। अलायन्सले घेराउ र प्रदर्शनीमा सहभागी हुन समाजिक सञ्जालमार्फत सबैलाई आग्रह गरेको छ ।

अलायन्सले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिन केपी सिंहलाई बर्खास्त गर्न माग गर्दै मंगलबार डिन कार्यालय घेराउ गरेको थियो।

प्रकाशित: ८ मंसिर २०७३ ०१:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App