८ वैशाख २०८१ शनिबार
समाज

चितवन मेडिकल कलेज, कानुन मिचेर गरेको दादागिरीमा कलेज पछि हटेको भन्दै विद्यार्थी खुशी

चितवन - चितवन मेडिकल कलेजले चिकित्सा शिक्षा अध्यापनमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले तोकेभन्दा बढी लिएको शुल्क फिर्ता गर्न सहमत भएपछि आन्दोलनरत विद्यार्थीले कलेजमा लगाएको ताला आईतबार खोलेका छन् । प्रहरी, कलेज प्रशासन, अभिभावक र विद्यार्थीको रोहवरमा पठनपाठन सञ्चालन हुने कैलाशनगरमा रहेको बेसिक साईन्सको भवनमा लगाईएको तालाबन्दी खोलिएको हो । सोमबारबाट कलेजमा नियमित पठनपाठन सुरु हुने भएको छ ।

शनिबार चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय चितवनमा चितवन मेडिकल कलेजका विद्यार्थी, अभिभावक, फ्याकल्टी र व्यवस्थापन पक्ष बीच छलफल भएको थियो । छलफलमा नेपाल सरकार एवम् आइओएमले तोकेभन्दा बढी लिएको शुल्क मेडिकल कलेजले कार्तिक १८ गते भित्र फिर्ता वा समायोजन गर्ने सहमति सहित पाँच बुँदे निर्णय भएको छ । तोके भन्दा बढी लिएको शुल्क फिर्ता एवम् समायोजन गर्नका लागि अभिभावक टेकप्रसाद चापागाईको संयोजकत्वमा सात सदस्यिय समिति समेत गठन भएको छ ।

समितिले असोज १० गतेसम्म फिर्ता गर्नुपर्ने रकमको विवरण सहित कलेजले कुन विद्यार्थीबाट कलेजले कति बढी शुल्क असुल गरेको छ भन्ने प्रतिवेदन सार्वजनिक गर्नेछ । चितवन मेडिकल कलेज सहमतिमा आएपछि विद्यार्थी खुशी भएका छन् । मेडिकल शिक्षामा भएको माफियाकरणको अर्को उदाहरण प्रष्ट भएको विद्यर्थी नसिम अख्तर बताउँछन् । ‘रकम बढी लिएकाको भौचर दिन्छौं, फिर्ता वा समायोजन गर्छौं भनेर कबुल गरिसकेका छन्’ उनले भने, ‘अहिलेलाई आन्दोलन स्थगित गरेका छौं ।’

असोज १ गते बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरेर कलेज तहबाट पुरा हुनुपर्ने मागहरु सबै पुरा गरेको कलेजका प्रशासकहरुले दाबी समेत गरेको थियो । कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले एमबीबीएसको शिक्षण शुल्क ४२ लाख ४५ हजार नै लिएको दाबी गरे । शिक्षण शुल्कमा बढी रकम नलिएको बताउँदै उनले छात्राबास, सुचना प्रविधी, फिल्ड भ्रमण, पुस्तकालय, आन्तरीक परीक्षा शुल्क लगायतका शीर्षकमा भने एमबीबीएस अध्ययनरत विद्यार्थीबाट थप ६ लाख रुपैंयाँ लिईएको स्विकार गरेका थिए ।

कलेजले विभिन्न संकायमा अध्ययनरत विद्यार्थीबाट तोकिए भन्दा दुई लाख देखी २० लाख रुपैयाँसम्म बढी शुल्क लिएको भन्दै विद्यार्थीले विरोध गर्दै आएका छन् । शनिबारको छलफलमा सहभागी अभिभावक एवम् शिक्षाविद् प्रेम रिमाल २०७२ सालदेखी मेडिकल कलेजमा भर्ना भएका विद्यार्थीहरुबाट सरकारले तोकेको भन्दा बढी लिएको रकमको रेकर्ड कलेजको आर्थिक प्रशासनले उपलब्ध गराउने सहमति भए अनुसार समितिले काम अघि बढाएको बताउँछन् । कलेजले को को विद्यार्थीबाट कति कति रकम बढि शुल्क लिएको छ र फिर्ता गर्नुपर्छ भन्ने रिपोर्ट समितिले तयार गरेर सार्वजनिक गर्ने उनले जानकारी दिए ।

सरकारले तोकेको भन्दा बढी पैसा जो जसले विद्यार्थीबाट उठाएका छन् त्यसमा अध्ययन पुरा गरिसकेका विद्यार्थीलाई फिर्ता दिने र अध्ययनरत विद्यार्थीको तिर्नुपर्ने शुल्कमा समायोजन गर्नुपर्ने सहमति अनुसार अघि बढिने उनी बताउँछन् । १० गतेसम्म रिपोर्ट तयार गर्न कलेज प्रशासनबाट सहयोग भएन भने ११ गतेबाट पुनः आन्दोलन अघि बढाईने भएकाले अहिलेलाई स्थगित मात्र गरिएको उनले बताए । ‘अहिले चितवन मेडिकल कलेजमा जे भयो देशभरका अरु मेडिकल कलेजले पनि सरकारले तोकेको भन्दा बढी शुल्क लिन कसैलाई पनि छुट छैन’ उनले भने, ‘अन्यत्र पनि यसलाई अघि बढाउँछौँ, राष्ट्रव्यापी रुपमा समेत यो अभियानलाई अघि बढाईने छ ।’

अहिले शैक्षिक सत्रमा नयाँ भर्नाका लागि बढी शुल्क लिने कलेजहरुले विद्यार्थीका पैसा फिर्ता नगर्दासम्म उनीहरुको भर्नाको पक्रिया रोक्का गर्न सरकारसँग माग गरेको उनी बताउँछन् । संस्थागत रुपमा कानुन मिचेर गरिने दादागिरी र यस्ता अपराधलाई निरुत्साहित गरिनुपर्ने उनको भनाई छ । अहिले चिकित्सा शिक्षा आयोग गठन भएकोले यसमा आयोगको भुमिका रहने उनले बताए । तोकिएको शुल्क मात्र लिन पाउने गरि कार्यान्वयन गर्न आयोगले काम अघि बढाउनने भएकाले बढी शुल्क लिन कलेजहरु छाडा हुने प्रवृति हट्ने उनको विश्वास छ ।

प्रकाशित: ६ आश्विन २०७६ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App