७ वैशाख २०८१ शुक्रबार
अर्थ

जलदेवीमा जिपलाइन

जलदेवी सामुदायिक वनले सुरु गरेको जिपलाइन सफारी। तस्बिर : नागरिक

चितवन – भरतपुर महानगरपालिकाको आँपटारीमा रहेको जलदेवी सामुदायिक वनले जिल्लामा पहिलो पटक जिपलाइन सेवा सुरु गरेको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा रहेको सामुदायिक वनले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी जिपलाइन सफारी सञ्चालन गरेको हो।

जिपलाइन सफारीको गत बुधबार शुभारम्भ गरिएको छ। सामुदायिक वन र निजी क्षेत्रको सहकार्यमा जिपलाइन सञ्चालनमा ल्याइएको सामुदायिक वनका अध्यक्ष केशव थापाले जानकारी दिए।

जिपलाइन सफारी सञ्चालनमा वनले वाइल्ड वन्डर्स प्रालिसँग सहकार्य गरेको छ। करिब ७५ लाख रुपैयाँ लगानीमा जिपलाइन सञ्चालनमा ल्याइएको हो। सामुदायिक वनको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत यसमा लगानी रहेको उनले बताए। जिपलाइन निर्माणका लागि सामुदायिक वनका ५० सेयर सदस्यले लगानी गरेका छन्। जिपलाइन सफारीका लागि लम्बाइ अनुसारको शुल्क तोकिएको छ। रुट नम्बर १ को लम्बाइ एक सय ९२ मिटर रहेको छ। यसमा स्टेसन ‘ए’देखि स्टेसन ‘बी’सम्म एक सय १२ मिटर र स्टेसन ‘बी’देखि स्टेसन ‘सी’सम्म ८५ मिटर रहेको छ।

यसको शुल्क पाँच सय रुपैयाँ तोकिएको छ। फोटो तथा भिडियोका लागि भने थप शुल्क तीन सय ५० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तै, रुट नम्बर २ मा स्टेसन ‘सी’देखि ‘डी’सम्म एक सय ७५ मिटरको दूरी रहेको छ भने यसको शुल्क ६ सय रुपैयाँ तोकिएको छ। यो रुटमा सफारी गर्दा पनि फोटो र भिडियो शुल्कबापत तीन सय ५० रुपैयाँ राखिएको छ। यस्तै  रुट नम्बर १ र २ दुवैमा सफारी गर्न नौ सय रुपैयाँ शुल्क राखिएको छ। यो रुटमा यात्रा गर्नेले फोटो÷भिडियो लिनका लागि थप पाँच सय रुपैयाँ तिर्नुपर्छ ।

त्यस्तै सार्क राष्ट्रका पर्यटकका लागि एक हजार पाँच सय तथा सार्क बाहिरका पर्यटकका लागि दुई हजार रुपैयाँ शुल्क तोकिएको छ। फोटो तथा भिडियो लिनका लागि थप सात सय रुपैयाँ तोएिको छ। सामुदायिक वनमा बालबालिकाका लागि पनि ३५ मिटर दूरीको छुट्टै जिपलाइन निर्माण कार्य अघि बढाइएको अध्यक्ष थापा बताउँछन्। एक वर्षको अवधि लगाएर निर्माण गरिएको जिपलाइनमा यात्रुको सुरक्षालाई प्राथमिकता दिएर पूर्वाधार तयार गरिएको उनले बताए।

कम्मरमा विशेष प्रकारको डोरीले बाँधेर आर्नेसमा बसेर यात्रुले जिपलाइन सफारी गर्ने व्यवस्था गरिएको छ। यसरी सफारी गर्दा करिब एक मिनेट हावामा उडेको महसुससमेत हुनेछ। फलामको लठ्ठा (डोरी)मा जोडिएको घिर्नी विशेष प्रकारको फित्तामा झुण्डिएर पर्यटक माथिबाट तल झरेर साहसिक आनन्दको अनुभूति लिन सक्नेछन्। हावाको वेगमा प्रकृतिको आनन्द लिन सकिने यो साहसिक खेल निकै रोमाञ्चक हुने विश्वास राखिएको छ। जिपलाइनमा प्रयोग गरिएको डोरीसहितको आर्नेस सुरक्षाको दृष्टिले उपयुक्त रहेको अध्यक्ष थापाले बताए।

‘दैनिक तीन सयभन्दा बढीले जिपलाइन सफारीको आनन्द लिन सक्नेछन्,’ उनले भने, ‘जिपलाइन सफारी गर्ने सबै यात्रुको सात लाख रुपैयाँको जीवन बिमाको व्यवस्था गरिएको छ। पर्यटकीय गतिविधि बढाउन र पर्यटन क्षेत्रको विकासका लागि जिपलाइन सुरु गरिएको उनले बताए। ‘जिपलाइनको माध्यमबाट वन, जंगलको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ,’ उनी भन्छन्, ‘यसले भ्रमण वर्षमा पर्यटकका लागि नयाँ अनुभूतिसमेत दिनेछ।’

चितवन आउने पर्यटकका लागि यो नयाँ र थप प्याकेज हुने भएकाले आन्तरिक तथा बाह्य पर्यटक भिœयाएर पनि पर्यटन उद्योगमा टेवा पुग्ने उनको भनाइ छ। जलदेवी सामुदायिक वनमा बालबालिकाका लागि पार्क र धार्मिक पार्कसमेत निर्माण भएको छ। वनमा पिकनिक स्पट पनि सञ्चालन गरिएको छ। पार्क र पिकनिक स्पटबाट हुने आम्दानीबाट विपन्न परिवारका विद्यार्थीको पढाइमा सहयोग गर्दै आएको अध्यक्ष थापाले बताए।

प्रकाशित: ६ आश्विन २०७६ ०१:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App