coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

झुट्टा मुद्दा खारेज गर्ने विषयमा पार्टीभित्र सैद्दान्तिक निर्णय भएको प्रचण्डको खुलासा

फाइल तस्बिर

इटहरी — नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चार वर्षअघि भएको टिकापुर घटनाका सबै झुटा मुद्दा खारेज हुने बताएका छन। उनले मुद्दा खारेज गर्ने विषयमा पार्टी भित्र सैद्दान्तिक निर्णय भइसकेको समेत खुलासा गरे।

‘टीकापुर घटनाको बिषयमा निर्णय कार्यान्वयनको चरणमा छ,’ अध्यक्ष दाहालले सुनसरीको झुम्कामा आइतबार जितिया पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भने, ‘यो घटनामा संलग्न जनमत पाएर निर्वाचित सांसदलाई स–सम्मान राजनीतिमा ल्याउने वातावरण बनाइनेछ।’

थारु कल्यणकारिणी सभा सुनसरीद्दारा आयोजित जितिया महोत्सवमा बोल्ने  थारु अगुवाले सांसद रेशम चौधरी जेलमा बस्नु परेकोमा विरोध गरेका थिए। कार्यक्रमका प्रमुख अथिति दाहालले जनताबाट निर्वाचित सांसद स–सम्मान जेलमुक्त हुने आश्वासन दिए। कैलाली क्षेत्र नं. १ बाट रेशम चौधरीले चुनाव जितेका हुन्। उनलाई टीकापुर घटनामा जन्मकैदको सजाय सुनाइएको छ। उनी जेलमा रहदा सपथ लिएका थिए।

चार वर्षअघि अर्थात २०७२ साल भदौ ७ गते टीकापुरमा भएको आन्दोलन हिंसामा परिणत हुँदा आठ प्रहरी र एक नाबालकको ज्यान गएको गियो। सो घटनामा ५८ जनाको संलग्नता रहेको जनाउँदै कैलाली अदालतमा कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र डाका मुद्दा दायर भएको थियो। अदालतले थुनामा रहेका २७ जनालाई फैसला समेत गरि सकेको छ। सांसद रेश्म चौधरीसहित ११ जनालाई जन्मकैद, १३ जनालाईं तीन वर्षसम्म सजाय र तीन जनालाई सफाई दिएको थियो  फरार ३१ जना प्रतिवादीको मुद्दा भने मुलतबीमा राखिएको छ।

नेता दाहालले थारुलाई मधेसी र जनजाति कोटामा नराखी छुट्टै पहिचान दिलाउन संवैधानिक थारु आयोग बनाइएको बताए। ‘यसअघिका सरकारले छुट्टै थारु आयोग बनाएका थिएनन्, थारु समुदायले भने छुट्टै पहिचानको माग गर्दै आएका थिए, यसपटक बनेको छ,’ उनले भने, ‘समानुपातिक व्यवस्थाले थारुहरुको संसदमा बढी भन्दा बढी प्रतिनिधित्व भएको छ।’

नेता दाहालले संघीय लोकतान्त्रिक व्यवस्थाप्रति सामान्य खालका अराजक र उछृङ्खल गतिविधि हुन थालेकोले त्यसको प्रतिबाद गर्नु पर्ने बताए।  ‘राजनितिक परिवर्तन र राज्य व्यवस्थाप्रति भने कुनै तहबाट अहिले नै खतरा छैन,’ उनले भने, ‘तर, जुन खालको गतिविधि देखापर्न थालेको छ, त्यस खालको गतिविधिको प्रतिवाद गर्ने समय भने आई सकेको छ।’
उनले कुन समुह वा व्यतिmबाट सिष्टमप्रति अराजक र उछ्श्रृखल गतिविधि भईरहेको भन्ने बारे भने खुलाएनन्। ‘संविधान र लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल समेत एकै ठाँउमा र्छौ,’ उनले भने।

संविधान दिवसमा कालोझण्डा देखाउनेहरुलाई जवाफ दिंदै दाहालले संविधान सहमतिको दस्तावेज भएकाले गर्दा फेरि पनि आवश्यक परे संवैधानिक र शान्तिपूर्ण तरिकाले संसोधन गर्न सकिने प्रस्टयाए। सो क्रममा  नेकपाका प्रदेश नं. १ का संयोजक भीम आचार्य, कृषि तथा पशुपन्छी विकास राज्य मन्त्री रामकुमारी चौधरीलगायतकाले सम्बोधन गरेका थिए।

प्रकाशित: ५ आश्विन २०७६ १३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App