७ वैशाख २०८१ शुक्रबार
समाज

सिसडोल र बन्चरेडाँडामा फोहोर फाल्न नदिने जनप्रतिनिधिको चेतावनी

काठमाडौं– सिसडोल र बन्चरेडाँडाका स्थानीय जनप्रतिनिधिहरुले काठमाडौंको फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन्। धुनिबेँसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामा र ककनी गाउँपालिका, वडा नम्बर २ का वडाध्यक्ष केदार पौडेलले स्थानीय जनतासँग गरिएका कुनै पनि सहमति हालसम्म कार्यान्वयनमा नआएको भन्दै काठमाडौंको फोहोर सिसडोल र बञ्चरेडाँडामा व्यवस्थापन नगर्न नदिने चेतावनी दिएका हुन्। 

धुनिबेसी नगरपालिकाका मेयर आचार्यले सरकार र काठमाडौं महानगरपालिकाले स्थानीयको समस्या समाधान गर्न पटकपटक गरिएको आग्रहलाई बेवास्ता गरेकोभन्दै आपत्ति पनि जनाए। बञ्चरेडाँडामा काठमाडौंको फोहोर व्यवस्थापन गर्न दिन सकिदैन,’ मेयर आचार्यको चेतावनी थियो। स्थानीय जनतासँग गरिएका कुनै पनि सहमति कार्यान्वयन नभएकाले जनप्रतिनिधिको रुपमा आफूले सो ठाउँमा काठमाडौंको फोहोर फाल्न दिन मिल्दैन्।’ संघीय संसदको विकास तथा प्रविधि समितिले सो सम्बन्धमा सरोकारवाला निकायसँग आइतबार बोलाएको छलफलमा भाग लिँदै उनले आश्वासन दिने तर कामै नगर्ने सरकारले स्थानीय जनतालाई पटकपटक झुक्याएको भन्दै आक्रोश पनि व्यक्त गरे।

बैठकमा ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामाले सिसडोलका जनतामाथि काठमाडौंले अन्याय, अत्याचार गरेको उल्लेख गर्दै अव त्यहाँ फोहोर हाल्न नदिने चेतावनी दिए। २ वर्षका लागि फोहोर व्यवस्था गर्ने भनिएको १४ वर्ष बितेको अतित सम्झदै उनले त्यहाँ फोहोर फाल्न दिने अवस्था नरहेको बताए। स्थानीय जनता फोहोरकै कारण ठूल्ठूला रोगको शिकार हुने गरेपनि त्यसलाई निदान गर्न दिने भनिएको एम्बुलेन्स समेत सरकारले उपलब्ध गराउन नसकेको प्रमुख लामाको भनाई छ।

ककनी वडा नम्बर २ का वडाध्यक्ष केदार पौडेलले स्थानीयको समस्या तत्काल समाधान गरिदिन संघीय संसदको विकास तथा प्रविधि समितिको ध्यानाकर्षण गराए। उनले सरकार र काठमाडौं महानगरपालिकाले स्थानीय जनतालाई पटक पटक झुक्याएकाले उनीहरुले समस्या गरिदेलान भन्ने आशा नभएको पनि बताए।

यता, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने काठमाडौंको फोहोर व्यवस्थापनको काम राष्ट्रिय समस्या भएकाले यसको समाधानका लागि पनि राष्ट्रियस्तरकै छलफल हुनुपर्ने आवश्यक्ता औंल्याए। उनले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सिसडोल र बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

यता, सरकारले पनि सिसडोल बन्चरेडाँडाका स्थानीयको माग सम्बोधन गर्ने प्रतिवद्ध रहेको जनाएको छ। सहरी विकासमन्त्री मोहम्मद ईस्तियाक राईले सिसडोल र बञ्चरेडाँडाका स्थानीयको माग तत्काल सम्बोधन गर्न सरकार तयार रहेको बताए। उहाँले काठमाडौंको फोहोरको उचित व्यवस्थापन गर्न स्थानीय तहलाई पनि अग्रसर हुन पनि आग्रह गरे।

सिसडोल र बञ्चरेडाँडाका स्थानीयले काठमाडौंको फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएपछि संघीय संसदको विकास तथा प्रविधि समितिले सो समस्याको दीर्घकालीन समाधानका उपायको खोजी गर्न सरोकारवाला निकायसँगको छलफललाई पनि अघि बढाएको हो।

प्रकाशित: ५ आश्विन २०७६ ११:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App