coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

जीवित हुँदा हेला, मृत्युपछि सेवा !

बसपार्कको एउटा कुनाको बेन्चमा बसेर कसैको प्रतीक्षामा आँखा डुलाइरहेका करिब ८० वर्षका वृद्धलाई देखेर ५५ वर्षजतिका एक व्यक्ति उनको नजिक जान्छन् र सोध्छन्, ‘बुबा १ घण्टा अगाडिदेखि तपाईंलाई यहीं  देखिरहेको छु। कोही आउँदै छ, तपार्इंलाई लिन वा बस कता लाग्छ भन्ने थाहा नपाएर हो ?’ आँखाभरि आँसु पार्दै वृद्धले भने, ‘बाबु ! मेरो कान्छो छोरोले जेठो छोरोकहाँ लैजान भनेर मलाई यहाँ लिएर आएको हो। दाइ लिन आउनुहुन्छ, तपाईं यहीं बस्दै गर्नु र यसबीचमा कोही मान्छे भेटे यो कागज देखाउनु है भनेर छाडेर गएको, अहिलेसम्म आएको छैन। मेरो जेठो छोरो मलाई लिन आइपुगेन।

छोरालाई केही त भएको छैन होला नि है बाबु ?’ आफ्नोभन्दा छोराको चिन्ता झल्किन्थ्यो, ती बाको अनुहारमा। त्यसपछि ती अधबैंसेले कागजको टुक्रा हेरे, तप्प आँशु चुहाए र बाले नदेख्ने गरी पुछे। वृद्ध बाले सोधे, ‘बाबु ! यो कागजमा के लेखेको छ ?’ ती अधबैंसेले भने, ‘बुबा ! तपाईं चिन्ता नलिनू, तपाईंको छोरा एउटा काममा व्यस्त भएछन्। म हाम्रो घरमा लगेर राख्छु, तपाईंलाई। आफ्नो काम सकेर छोरा तपाईंलाई लिन आउलान्।’

वास्तवमा कागजमा लेखिएको थियो– ‘बुबालाई जसले भेट्नुहुन्छ, वृद्धाश्रममा लगेर छाडिदिनुहोला।’ यो सुनेर अचम्म मान्दै ती बाले भने, ‘बाबु, मलाई त जेठो छोरोले लिन आउँछु नै भनेको थियो, कसरी यस्तो भयो ?’ ती अधबैंसेले ती वृद्धलाई आफ्नो घरमा लगे र आफ्नै छोराले भन्दा राम्रो स्याहार र प्रेम दिएर राखे। तर बुबाले भने आफ्नै छोराहरूलाई सम्झिरहे, आँशु थामिएनन्। यस्ता घटना अचेल धेरै देखिन थालेका छन्।  

बा–आमाको जीवन रहुन्जेल झर्को मान्ने, समय नदिने, राम्रो औषधोपचार र व्यवहार नगर्नेले स्वर्गे भइसकेका पितृलाई श्राद्ध गरेर खुसी बनाउन खोज्नु कत्रो विडम्बना !

शरद् ऋतु, मौसमले दसैंको पूर्वसन्ध्या जनाउँदै छ भने तिथिले सोह्रश्राद्ध चलिरहेको छ। आश्विन कृष्णपक्ष प्रतिपदादेखि औंसीसम्म सूर्य कन्या राशीमा भएको अवस्थामा आफ्ना समस्त पितृको श्राद्ध गर्नाले उनीहरू मुक्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ। श्राद्ध गर्नाले पितृको मात्र होइन, उनीहरूको आशीर्वादबाट श्राद्ध गर्नेको पनि कल्याण हुन्छ, कार्य सफल हुन्छ, उसलाई ऐश्वर्य प्राप्त हुन्छ भन्ने पुराणहरूमा वर्णन गरिएको छ। श्राद्ध अर्थात् पितृयज्ञ वेदसम्मत छ भनेर व्याख्या गरिएको छ।

आफ्ना बा–आमाको उपदेश, आशीर्वाद, उनीहरूले आफ्ना सन्तानलाई दिएको शिक्षा कुनै वेदभन्दा कम होला र ? वेद, शास्त्र र परम्परा मान्ने र श्रद्धा गर्ने हामी जिउँदा बा–आमालाई चाहिँ किन हेला गर्छौं ? बा–आमाको जीवन रहुन्जेल झर्को मान्ने, समय नदिने, राम्रो औषधोपचार र व्यवहार नगर्नेले स्वर्गे भइसकेका पितृलाई श्राद्ध गरेर खुसी बनाउन खोज्नु कत्रो विडम्बना ! बा–आमा जिउँदो छँदा वृद्धाश्रमसम्म जान नभ्याउनेहरू पनि मृत्युपछि मुक्तिनाथ र गोकर्ण पुगेर श्राद्ध गर्नु श्रद्धा होला कि पश्चाताप वा समाजका लागि देखावटी ?

श्राद्धप्रति पंक्तिकारको आपत्ति पटक्कै होइन, तर जिउँदा बा–आमालाई उनीहरूको जीवनकालमै बिनाझन्झट, झर्को नमानी, समय दिएर, साथ दिएर सेवा गरौं। मृत्युपछिका कर्मकाण्ड सके गरे हुन्छ, नसके पनि पाप लाग्दैन। जिउँदा बा–आमाको चित्त नदुखाई गरेका कर्मले नै धर्म प्राप्त हुन्छ। बाँचुन्जेल समयमा तातोपानी र औषधिसम्म नपाएका बा–आमालाई मृत्युपछि खिर खुवाउनुको के अर्थ ? जब श्राद्ध आउँछ र आफ्ना दिवंगत बा–आमाप्रति छोराछोरीले कर्मकाण्डमा जति सक्रियता देखाउँछन्, त्यति सक्रियता बा–आमा जीवित छँदै देखाउन सके उनीहरूको मन कति प्रसन्न हुन्छ होला !

मृत्युपछि पितृको भड्केको आत्मा शान्त पार्न पिण्ड दान दिने प्रचलन छ। जिउँदो छँदा नै आफ्ना सन्तानले खुसी र सुखी राख्न सके मृत्युपछि उनीहरूको आत्मा भड्किने थिएन कि ? सोह्रश्राद्धमा विशेषगरी आफ्ना स्वर्गीय बा–आमा मात्र नभएर ३ पुस्ताका पितृ स्मरण गरिन्छ।

यसको अर्थ– हाम्रा कर्म, आचरण, शील ३ पुस्तासम्म जीवित रहन्छ। जसलाई सधैं जोगाइराख्नुपर्छ भन्ने सांकेतिक शिक्षा पनि हो यो। सोह्रश्राद्धमा प्रयोग हुने जौ, तिल, चामल, धूपबत्ती, दूध, गहुँत, गोबरलगायत चिजले मानिस र प्रकृति, मानिस र कृषि उत्पादनबीचको सम्बन्ध प्रस्ट पार्छ। यस्ता कर्मकाण्डमा पाखण्ड मात्र हुँदैन, यी प्रक्रियामार्फत व्यक्तिको चित्त शुद्धीकरण, आत्मशुद्धि, आत्मजागरण, चेतना जागरण पनि स्मरण गराएको हुन्छ। हामी भने गर्नाका लागि कर्मकाण्ड गर्छाैं र १ वर्षका लागि मुक्ति पाएको अनुभूति गर्छाैं। यति मात्र बिलकुल होइन, हाम्रो जीवनशैली, जीवनको उद्देश्य र कर्तव्यपरायणता पनि ख्याल गर्नुपर्ने सन्देश यी कर्मकाण्डपछाडि छिपेका वास्तविकता हुन्।

आफैंलाई जन्म दिने बा–आमाप्रति समय दिन नसक्नु, प्रेम दिन नसक्नु, अनि मृत्युपछि भने पश्चाताप गर्नाको कारण कतै हाम्रो कर्म गर्ने तरिका, हामीले सोचेको जीवनको उद्देश्य र हामीले सोचेको सफलताको अर्थ नमिलेका त होइनन् ? मानिस शरीरको आवश्यकता पूरा गरेर मात्र आनन्दित हुँदैन।

उसलाई प्रेम चाहिन्छ, ध्यान चाहिन्छ। भित्र जागृत र बाहिर प्रेम, अनि सम्पन्नता मनुष्यका गुण हुन्। बाहिरको सम्पन्नता र चेतनाको स्तर दुवैमा सन्तुलन आवश्यक छ। सफलता र सम्पन्नताको नाम लिएर जीवनभरको दौड, कमाइ केका लागि ? त्यो पनि छुट्याउन सक्नुपर्छ। हाम्रो कमाइले बुढेसकालका हाम्रा बा–आमालाई खुसी दिन सकेन भने त्यो के काम ? जति कमाए पनि नपुग्नु अर्थात् असीमित इच्छाको अर्थ हो– हाम्रो मन अतृप्त छ। यसले बाहिरको साधन जति भोगे पनि एकपछि अर्को आवश्यकता सिर्जना गरिदिन्छ। त्यसैले मनको अतृप्ति बुझेर, जीवन मन मात्र होइन, म मन मात्र होइन, मनले जता भड्काउँछ त्यतै दौडिने म होइन भन्ने जान्नु नै स्वबोध हो।

यो जान्नासाथ आफ्ना बा–आमाका लागि साथ र समय दिन सक्ने हुन्छौं, हामी। जीवनलाई समग्रतामा जिउन जानेपछि सन्तुलन कायम हुन्छ। आफ्ना बा–आमालाई बुढेसकालमा, अशक्त हुँदा, आवश्यक पर्दा साथ, सहयोग, प्रेम र श्रद्धा दिन सकिएन भने त्योजस्तो पश्चाताप जीवनमा अरू कर्मले पक्कै हुँदैन। बा–आमा नै गुरू र देवता हुन्।

आफ्ना सन्तानबाट बा–आमा र पितृहरूले पनि देखावटीभन्दा मौलिकता, भावना र अपनत्व अपेक्षा गरेका हुन्छन्, पक्कै। मृत्युपछि पितृलाई स्मरण गर्दै श्राद्ध गरौं, अहोभाव व्यक्त गरौं, आभार प्रकट गरौं, तर जीवित छँदै तिनको श्रद्धा र हेरचाह पनि गरौं। जीवनभर कुनै बा–आमाले आफ्ना सन्तानप्रति गुनासो गर्ने र चित्त दुखाउने मौका नपाउन्। त्यो नै सन्तानका लागि सबैभन्दा ठूलो सम्पत्ति हो।

प्रकाशित: ५ आश्विन २०७६ ०६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App