८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

खाडी क्षेत्रमा थप सैनिक पठाउँदै अमेरिका

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले खाडी क्षेत्रमा थप सैनिक पठाउने भएको छ । साउदी अरबका दुई महŒवपूर्ण तेल प्रशोधनस्थलमा ड्रोन हमला भएपछि अमेरिकाले यस्तो कदम चाल्न लागेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेको केही घण्टा नबित्दै सैनिक संख्या बढाउने निर्णय सार्वजनिक भएको हो । अमेरिकाले साउदी अरबका तेल प्रशोधनस्थलमा इरानले ड्रोनमार्फत आक्रमण गरेको आरोप लगाउँदै आएको छ । यद्यपि ती तेल प्रशोधनस्थलमा आफूहरुले आक्रमण गरेको दाबी यमनमा संघर्षरत हुथी विद्रोही समूहले गर्दै आएको छ ।

यसैबीच, ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको केन्द्रीय बैंकमाथि नै प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । अमेरिकाले इरानमाथि तत्कालै सैन्य कारबाही गर्ने योजना नभएको बताए पनि इरानको केन्द्रीय बैंकमाथि प्रतिबन्ध लाग्नु नै सबैभन्दा ठूलो कारबाही भएको जानकारहरु बताउँछन् ।

अमेरिकी अर्थ विभागले साउदी अरबका तेल प्रशोधनस्थलमा गरिएका आक्रमणमा संलग्न रहेको भन्दै इरानी केन्द्रीय बैंकमाथि नै प्रतिबन्धको घोषणा गरिएको जनाएको छ । साउदी तेल उद्योगमा आक्रमण भएलगत्तै विश्व बजारमा एकाएक तेलको मूल्य वृद्धि भएको छ ।

अमेरिकी रक्षामन्त्री मार्क एस्परले गत जुनमा इरानले अमेरिकी गुप्तचर ड्रोन खसालेयताका हरेक कार्य अमेरिका र यसका गठबन्धनविरुद्ध केन्द्रित भएको बताएका छन् । उनले साउदी अरब र युनाइटेड अरब इमिरेट्सको आग्रहमा खाडी क्षेत्रमा थप अमेरिकी फौज पठाउन लागेको जानकारी दिएका छन् ।

रक्षामन्त्री एस्परले अमेरिकी सेना आक्रामक कारबाहीका लागि खाडी क्षेत्रमा पठाउन लागिएको भए पनि उनीहरु हाल मुख्य रूपमा हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षामा केन्द्रित हुने बताए ।

अमेरिकी संयुक्त सैन्य प्रमुख जनरल जोसेफ डनफर्डले खाडी क्षेत्रमा पठाइने सैनिक संख्या एक हजारको हाराहारीमा मात्र रहने स्पष्ट गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ । पत्रकार सम्मेलनमार्फत् रक्षामन्त्री एस्पर र संयुक्त सैन्य प्रमुख डनफर्डले खाडी क्षेत्रमा अमेरिकी सैनिक थप गर्न लागेको जानकारी दिएका हुन् ।

कतिपयले राष्ट्रपति ट्रम्पले इरानविरुद्ध युद्ध नै सुरु गर्ने अनुमान गरे पनि अमेरिकी नीति एकाएक फेरिएको छ ।गत जुनमा इरानले अमेरिकी जासुसी ड्रोन खसालेपछि तत्काल इरानविरुद्ध कारबाही गर्न राष्ट्रपति ट्रम्पले आदेश दिए पनि अन्तिम क्षणमा सो आदेश फिर्ता लिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष सन् २०१५ को बहुपक्षीय आणविक सम्झौताबाट एकपक्षीय रूपमा अलग हुँदै इरानविरुद्ध कडा प्रतिबन्ध घोषणा गरेदेखि नै वासिङ्टन र तेहरानबीच तनाव जारी रहेको छ ।

प्रकाशित: ५ आश्विन २०७६ ०५:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App