७ वैशाख २०८१ शुक्रबार
समाज

विरामी बोकेको एम्बुलेन्स टिप्परसँग ठोक्किएपछि...

खोटाङ– एम्बुलेन्स दुर्घटना हुँदा घाइते बनेका खोटाङका एक युवाको अवस्था गम्भीर बनेको छ। जिल्ला अस्पतालले रेफर गरेका आफन्तलाई उपचारका लागि बिराटनगरतर्फ लैजाँदै गर्दा भएको एम्बुलेन्स दुर्घटनामा गम्भीर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३५ वर्षीय युवराज आचार्यको अवस्था चिन्ताजनक बनेको हो।

बिहीबार राती भएको दुर्घट्नापछि विराटनगरको गोल्डेन अस्पतालमा पुर्याइएका घाइते आचार्यको अझै होस खुल्न सकेको छैन। आचार्यको शुक्रवार बेलुकी टाउकोको सफल अप्रेसन गरिए पनि अवस्था चिन्ताजनक रहेको उनका भाई इन्द्रप्रसाद आचार्यले बताए। 

जिल्ला अस्पताल दिक्तेलले रेफर गरेको विरामी आफन्तलाई विराटनगर लैजाँदै गर्दा आचार्य सप्तरीको कञ्चनपुर वेरियरमा रातको २ बजे दुर्घटनामा परेका थिए। उनी खोटाङ सेवा समाज युकेले प्रदान गरेको एम्बुलेन्समा बिरामीलाई लिएर अस्पतालतर्फ गएका थिए। रोकेर राखेको टिप्परलाई ठक्कर दिँदा एम्बुलेन्स क्षतिग्रस्त बनेको छ। दुर्घट्नामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका एम्बुलेन्स चालक गोविन्द ढुंगाना पनि घाइते भएका छन्। ढुंगानाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

आफन्तलाई बचाउनका लागि अस्पताल लैजाँदै गर्दा दुर्घट्नामा परी आफै चिन्ताजनक अवस्थामा पुगेका आचार्यको उपचारमा आर्थिक समस्या भएको छ। दिक्तेलवजारस्थित सरस्वती माविमा कार्यालय सहयोगीको रुपमा कार्यरत आचार्यलाई वचाउनका लागि परिवारले सहयोगको याचना गरेका छन्। 

अस्पताल जानका लागि हेलीकोप्टर चार्टर गर्नुपर्ने र अस्पतालसम्म पुग्ने साधनको अभावमा ज्यान गुमाउनु पर्ने समस्या अन्त्याको प्रयास स्वरुप खोटाङ सेवा समाज यूकेले २०७३ साल चैत्र २६ गते खोटाङलाई एकैसाथ ७ वटा एम्बुलेन्स हस्तान्तरण गरेको थियो। त्यसमध्ये निर्मलीडाँडाका लागि उपलव्ध गराइएको एम्बुलेन्स दुर्घट्नामा परेको हो । 

प्रकाशित: ५ आश्विन २०७६ ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App