coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चीन महाशक्ति राष्ट्रको रूपमा उदाउँदै

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले चीन अबको केही वर्षमा विश्वको महाशक्ति राष्ट्रको रूपमा उदाउने बताएका छन्। काठमाडौंमा शनिबार ‘सी जिनपिङ विचारधारा र बिआरआई : के विश्व व्यवस्था बदलिँदैछ ?,’ भन्ने बहसमा उनीहरूसो कुरा बताएका हुन्।

नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले चीन महाशक्ति राष्ट्रको रूपमा उदाएको बताउदै विश्व अथतन्त्रमा पनि चीन प्रभाव रहने दाबी गरे। ‘हामीले चीनबाट धेरै कुरा सिक्नुछ। चिनियाँहरू कुशल व्यापारी हुन उनीहरुले व्यापारमात्रै गर्देन सीप ज्ञान पनि बाँड्छन त्यसैले चीनबाट सिकेर नेपालको अर्थव्यवस्थालाई सुदृढ गर्नुपर्छ’, स्थायी कमिटी सदस्य पाण्डेले भने।

कार्ल माक्र्स जन्म द्वीशतवार्षिकी समारोह समितिले आयोजना गरेको सो कार्यक्रममा ‘सी जिनपिङ विचारधारा र बिआरआई ः के विश्व व्यवस्था बदलिँदैछ ?,’ भन्ने कार्यपत्र समेत प्रस्तुत गरिएको थियो। कार्यपत्र प्रस्तुत नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुषालले चिनियाँ कम्युनिस्ट पार्टी को १८ औं महाधिवेशनसम्म पुग्दा चीनको अर्थतन्त्रको आकार असाधारण रूपले विस्तार भएको बताए। ‘प्रतिव्यक्ति आयका हिसाबले ५ हजार डलरबाट माथि लाग्यो। अर्को १० वर्षमा त्यो १० हजार डलर हुँदै थियो।

चीन विश्वको सबैभन्दा धनी मुलुक, त्यस अर्थमा विश्व महाशक्ति बन्दैछ भन्ने भविष्यवाणी हुन थाल्यो,’ उनले सुनाए ‘एकातिर कम्युनिस्ट पार्टीले नेतृत्व गरेको राज्य व्यवस्था, राजकीय पुँजीको वर्चस्व अर्कातिर करिब १० करोड नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेको अवस्था, निजी पुँजीको विकासले सिर्जना गरेको धनी र गरिबको ठूलो अन्तर, पुँजीको विकासका दौरानमा पार्टी र राज्यका निकायमा बढेको भ्रष्टाचारजस्ता विपरीत अवस्थाले चीन फेरि एउटा ऐतिहासिक चुनौतीका अगाडि उभियो।’

राज्य नियन्त्रित अर्थतन्त्रमा कर्मचारीतन्त्रको क्यान्सर कसरी विकसित हुन्छ भन्ने कुरा सोभियत इतिहासले स्पष्ट पारिसकेको कार्यपत्रमा उल्लेख छ। ‘चीनका लागि अझ ठूलो खतरा के छ भने त्यहाँ विदेश र देशभित्रकै निजी पुँजीको ठूलो अंश छ। पुँजीले राज्य र पार्टीलार्ई, त्यसले एकाधिकारी पुँजीलार्ई बढाउँदै जाँदा चीन एउटा पुँजीवादी मुलुकमा पतन हुन सम्भव थियो। फेरि, चीनमा संकलित पुँजी र उत्पादक क्षमताले गर्दा चीन केवल पुँजीवादी मुलुक मात्रै रहन्न बरु स्वतः साम्राज्यवादी दिशामा जान्छ।’

कार्यक्रममा नेता जनार्दन शर्माले बिआरआईमा नेपालका शीर्ष नेताले सहमति गरिसकेको बताउँदै अबको केही वर्षमा चीन विश्व अर्थतन्त्रमा एक शक्तिशाली राष्ट्रको रूपमा अघि आउने बताए। कार्यक्रममा चीनका लागि पूर्वराजदूत टंक कार्की, नेकपाका स्थायी कमिटी सदस्य गणेश शाहलगायतले धारणा राखेका थिए।

प्रकाशित: ५ आश्विन २०७६ ०३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App