८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाल–चीन कम्युनिस्ट पार्टीको संयुक्त कार्यक्रम हुने

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठकले चिनिँया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सफल बनाउने विषयमा छलफल भएको छ ।

शनिबार साँझ बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालयका सदस्यलाई राष्ट्रपति सीको भ्रमण तयारीपूर्व चिनिँया कम्युनिस्ट पार्टीको स्कूल विभाग र नेकपा स्कूल विभागले काठमाडौंमा आयोजना गर्न लागेको विचार गोष्ठीबारे जानकारी गराएका थिए । ‘चिनिया राष्ट्रपति नेपाल भ्रमणमा आउने निश्चित भएको छ ।

त्यसअघि नेकपा स्कूल विभाग र चिनिँया कम्युनिस्ट पार्टीको स्कूल विभागको संयुक्त कार्यक्रम हुँदैछ,’ बैठकमा ओलीले भनेका थिए । सोमबार र मंगलबार दुई दिनसम्म हुने कार्यक्रमको उद्घाटन ओलीले गर्नेछन् भने समापन अर्का अध्यक्ष पुष्पकमल दाहालले गर्नेछन् ।

नेपाल र चीन कम्युनिष्ट पार्टीको संयुक्त कार्यक्रम भने नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो । नेकपाको स्कूल विभागको पहलमा सो कार्यक्रम हुन लागेकाले पनि त्यसको तयारी राम्रोसँग गर्नुपर्ने र त्यही कार्यक्रमपछि चिनिँया राष्ट्रपतिको भ्रमण असोजको अन्तिममा हुने जनाएको छ ।

शनिवार साँझ बसेको सचिवालय बैठकले छ वटा महानगरको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । सचिवालय बैठकले चारवटा महानगरमा पूर्वएमाले र दुईवटामा पूर्वमाओवादीका नेताहरू पर्नेगरी महानगरको नेतृत्व टुंग्याएको हो । जसअनुसार काठमाडौं महानगरपालिकाको अध्यक्षमा निर्मल देउवा र सचिवमा रविन्द्र श्रेष्ठ, ललितपुरमा अध्यक्ष मञ्जली शाक्य र सचिव ज्ञानेन्द्र शाक्य, पोखरामा अध्यक्ष दिपक पौडेल र सचिव विश्वप्रकाश लामिछानेलाई मनोयन गरिएको छ ।

यस्तै भरतपुरमा रामप्रसाद न्यौपानेलाई अध्यक्ष र इश्वर सापकोटालाई सचिव बनाइएको छ भने विरगञ्ज महानगरपालिकाको अध्यक्ष रहबर अन्सारी र सचिव डा विश्वम्भर थापा तथा विराटनगरको अध्यक्ष सागर थापा र सचिवमा हेम कार्कीलाई मनोनयन गरिएको छ । पार्टी एकताका बाँकी काम छिट्टै बस्ने सचिवालय बैठकले टुंगो लगाइने बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

वामदेवले कास्कीमा उम्मेदवारी नदिने
शनिवार बसेको सचिवालय बैठकमा नेकपाका सचिवालय सदस्य वामदेव गौतमले आफू कास्कीबाट उम्मेदवारी नदिने जानकारी दिएका छन् । उनले शनिबारको बैठकमा आफूविरुद्ध नियोजित प्रहार हुन थालेको र कास्कीबाट उम्मेदवार हुन्न भन्दाभन्दै अनावश्यक प्रचार गरिएको बताउँदै सचिवालय बैठकमै कास्कीबाट उम्मेदवार नहुने जानकारी गराएको बताएका हुन् । ‘हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु ।

मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेडसहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु,’ बैठकपछि सामाजिक सञ्जालमा आफ्नो धारण सार्वजनिक गर्दै गौतमले भनेका छन्, ‘यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया १ बाट उम्मेदवार भएको यहाँहरूमा विदितै छ ।’ उनले अगाडि भनेका छन्, ‘उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो । तर मलाई विश्वास छ मभन्दा अरु कोही स्थानीय कमरेड उठ्नु हँुदा सहजै विजय प्राप्त गर्न सक्नुहुनेछ ।

कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेड उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेस गर्दछु ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा सचिवलाय बैठकपछि सो धारणा सार्वजनिक गरेका हुन् । उनलाई पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले कास्कीमा उम्मेदवारी दिन आग्रह गरेका थिए ।

प्रकाशित: ५ आश्विन २०७६ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App