coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चिनियाँ भाषा सिक्दै जनप्रतिनिधि र कर्मचारी

चितवन - ‘ह्वेयर आर यु फ्रम’ अर्थात् तिमी कहाँबाट आयौ भनेर सोध्नु पर्दा ‘नि लाइज्जी नाली’ भनेर सोध्न सिक्दैछन् भरतपुर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी । कक्षामा रहेका भाषा प्रशिक्षकले ‘नि लाइज्जी नाली’ भनेर सोध्दा ‘व लाइज्जी नेवोर’ भनेर उत्तर दिन सिकेका छन्, जसको अर्थ हो ‘आइ एम फ्रम नेपाल’ ।

भरतपुर महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु बिहानको समय भाषा सिक्दै छन् । उनीहरू बिहान दुई घण्टाको समय प्रशिक्षक लिउ फाङ ह्वा ९सुजन० बाट चिनियाँ भाषा सिक्दै छन् । नेपाली र अंग्रेजी भाषाका जानकार जनप्रतिनिधि र कर्मचारीलाई चिनियाँ भाषाको सिकाइ केही कठिन भएको भाषा सिक्दै गरेका भरतपुर महानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १० का अध्यक्ष अरुण ‘पीडित’ भण्डारी बताउँछन् । नेपाली र अंग्रेजी शब्द जत्तिको उच्चारण गर्न सहज नभएको उनले अनुभव सुनाए । भाषा सिकेर सामान्य कुराकानी गर्न सक्ने हुन उनी भाषा सिक्ने प्रयासमा छन् । भाषा सिक्नका लागि महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको सहभागी भएको दुईवटा समूह बनाएको छ ।

दुई वटा समूहका सदस्यले एक÷एक साताको भाषा प्रशिक्षण लिने व्यवस्था गरिएको छ । भदौ २४ बाट सुरु भएको एक समूहको भाषा प्रशिक्षण सोमबार सकिनेछ । मंगलबारबाट अर्को समूहको एक साताको प्रशिक्षण सुरु हुनेछ । प्रशिक्षणमा मेयर रेणु दाहाल, उपमेयर पार्वती शाह ठकुरी, प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीसँगै वडाका अध्यक्ष, महानगरपालिका सदस्य, कर्मचारी सहभागी छन् । दुई समूहमा गरी ४३ जना भाषा प्रशिक्षण कक्षामा सहभागी हुने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदी बताउँछन् ।

भरतपुर महानगरपालिकाले चीनका दुईवटा सहरसँग सिस्टर सिटी भगिनी सम्बन्ध कायम गरेको छ । अर्को एक सहरसँग पनि सिस्टर सिटीको सम्बन्ध बनाउने प्रक्रिया अघि बढाइएको छ । यस्तै, चितवनको शक्तिखोरमा बनाउन लागिएको औद्योगिक पार्कमा लगानी गर्न चिनियाँ पक्षले चासो दिएको छ । गएको साता मात्रै चिनियाँ लगानीकर्ताको टोलीले भरतपुर महानगरपालिका र सरोकारवालासँग छलफल गरेको थियो । औद्योगिक पार्क निर्माणस्थलको समेत अवलोकन गरेर टोली फर्किएको छ ।

चीनसँग सम्बन्ध र सहयोग विस्तारका क्रममा चिनियाँ टोली धेरै आइराख्ने हुनाले चिनियाँ भाषा सिक्न इच्छुक जनप्रतिनिधि र कर्मचारीका लागि भाषा प्रशिक्षण चलाइएको महानगरपालिकाकी मेयर रेणु दाहाल बताउँछिन् । चिनियाँको आगमन धेरै हुने स्थानीय तह भएकाले पनि चिनियाँ भाषाको प्रशिक्षण गर्ने व्यवस्था गरिएको उनले बताइन् । कुनै पनि भाषाको ज्ञान हुनु राम्रो भएकाले अहिले भाषा सिक्दा चिनियाँ टोलीसँग सहकार्य र समन्वय गर्न सजिलो हुने उनको धारणा छ । ‘धेरै चिनियाँको आगमन चितवनमा भइराखेको छ । लगानी गर्ने सम्भावना पनि बढेको छ,’ उनले भनिन्, ‘सामान्य खालको परिचय गर्नेसम्मको बोलीचालीको भाषा सिक्यो भने सञ्चारमा सजिलो हुन्छ ।’

महानगरपालिकालाई भाषा प्रशिक्षकको व्यवस्था भएकाले पनि अवसरको सदुपयोग गरिएको उनले बताइन् । एक साताको सिकाइले भाषाबारे सामान्य जानकारी मात्र हुने प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदी बताउँछन् । ‘यसले भाषाप्रतिको भोक जगाउँछ,’ उनले भने, ‘थप सिक्न र जानकारी लिनका लागि सहयोग गर्छ ।’ सर्वसाधारणका लागि भाषा प्रशिक्षण चलाउने योजना महानगरपालिकाको छ । क्याम्पस वा स्कुलमा जसरी नै निश्चित समयको कक्षा सञ्चालन गरिनेबारे पनि अध्ययन भइरहेको उनले बताए ।

प्रकाशित: ५ आश्विन २०७६ ०२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App