coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चौतर्फी दबाबपछि मन्दिरको आयव्यय सार्वजनिक

नेपालगन्ज - सर्वत्र चासोको रूपमा रहेको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको आयव्यय सार्वजनिक गरिएको छ। मन्दिरको सम्पत्तिबारे चौतर्फी रूपमा चासो र दबाब बढेपछि शनिबार औपचारिक रूपमा मन्दिरको आयव्यय सार्वजनिक गरिएको हो। मन्दिरको ८४ बिघा जग्गा व्यक्तिको नाममा रहेको तथ्य नागरिक दैनिकले एक महिनाअघि बाहिर ल्याएको थियो। बागेश्वरी गुठी व्यवस्थापन समितिले राष्ट्रिय गुठी संस्थानका पदाधिकारी, जिल्लाका सरोकारवाला, सर्बसाधारणलगायत समक्ष आफ्नो आय व्यय सार्वजनिक गरेको हो।

बागेश्वरी गुठीको साविक ईन्द्रपुर गाविसमा संवत् १९६८ को अठ्सट्टामा ९९ बिघा, २००५ सालको लगतमा ९२ बिघा ७ कठ्ठा ११ धुर र अहिले आएर बिघा ८४ बिघा, १० कठ्ठा १० धुर देखिए पनि व्यक्तिको नाममा रहेको यथार्थ समितिले सार्वजनिक गरेको छ। ईन्द्रपुरमा रहेको जग्गासँग सम्बन्धित कैफियतसहितको जग्गाधनी दर्ता प्रमाणपूर्जा (स्रेस्ता), हाल कायम रहेका जग्गाधनी प्रमाणपूर्जा, साविक फिल्डबुक र मन्दिरको नामबाट रैकरमा परिणत गर्ने गरी २०५७ असोज १७ मा भएको निर्णयसहितको फाइल फेला परेको समितिले जानकारी दियो।

मन्दिरको नामबाट रैकरमा परिणत गर्ने गरी २०२७ पुस १३ र २०२८ कात्तिक १४ मा भएको (स्रेस्ताको कैफियतमा उल्लेखित) निर्णय हालसम्म प्राप्त हुन नसकेको समितिका पदाधिकारीले बताए। मन्दिर र सोको सम्पत्तिका सम्बन्धमा १९३६ सालको रणद्दीप सिंह राजबहादुरबाट भएको सनद, १९५१ को देवशम्शेर जबराबाट भएको, १९६६ को कुमारजंग राणा, १९७१ को चन्द्रशम्शेर जबरा, १९७८ सालको चन्द्रशम्शेरबाट भएको सनद तथा २००४ सालको नयाँ मुलुक गोश्वाराबाट भएको निर्णय र २००४ सालको जनरल मोहनशम्शेर जबराबाट भएको आदेशजस्ता लिखत भने फेला परिसकेका छन्।

‘परम्परालाई एकैचोटी तोड्न मिल्दैन, सहज रूपले अवतरण गर्ने हो। व्यक्तिको नाममा गएको सबै सम्पत्ति क्रमशः फिर्ता हुनेछ।’

‘उल्लेखित सनद तथा आदेशहरू ऐतिहासिक र प्राचीन भएका कारण थप अध्ययनका लागि सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले साथमा लिएको छ,’ समितिको प्रतिवेदनमा भनिएको छ। मन्दिरमा नयाँ समिति आउनुभन्दा पहिले १६ लाख ३८ हजार सात सय ८६ रुपैयाँ बैंक मौज्दात र १२ लाख रुपैयाँ मुद्दती बचत रकम रहे पनि विद्युत् प्राधिकरणमा मन्दिरको नाममा १७ लाख आठ हजार एक सय २३ रुपैयाँ महसुल बक्यौता रहेको थियो। समिति आएपछि मन्दिरको बैंक मौज्दात २०७५÷०७६ मा २१ लाख १० हजार एक सय ६५ र मुद्दती बचत १२ लाख पु¥याइएको समितिका सचिव गोपालप्रसाद अधिकारीले जानकारी दिए। ‘मन्दिरले १७ लाख आठ हजार एक सय २३ रुपैयाँ महसुल भुक्तानी गरी हाल नियमित रूपमा विद्युत् महसुल बुझाउने गरिएको छ,’ उनले भने।

मालपोत कार्यालयमा राखिएको मन्दिरको सर्यौं वर्ष पुरानो दुईवटा तिजौरी (बाकस) खोल्दा २०७४ फागुन ३० गते २० किलो तीन सय चार ग्राम चाँदी र सुनको तिलहरी, तामाको रड, चाँदीको पाता, पोते, माला, पत्थरसमेत दुई सय ५२ ग्राम अर्थात् करिब दुई तोला सुन फेला परेकोमा उक्त सुनचाँदी नेपाल बैंक लिमिटेडको लकरमा राखिएको छ। नयाँ समिति आएपछि मन्दिरलाई प्राप्त भएको सुनको आखिया दुई थान, नथुनी दुई, तार एक, तिलहरी चार र बिन्दिया एक थान तथा चाँदीको छत्तर ६ थान, आखिया दुई थान, पाउदान, बेलपत्र, सिंहासन, लक्ष्मीको मूर्ति, गणेशको मुर्ति र बिन्दिया एक÷एक थान रहेको छ।

मन्दिरको जग्गामा निर्मित सटर, पसल भाडा, मालपोत, बोटिङ सञ्चालनबाट प्राप्त हुने रकम, श्रद्धालु भक्तजनबाट प्राप्त हुने दान–दक्षिणा, सरकारी तथा गैरसरकारी निकाय एवम् संघसंस्था, व्यक्तिगत तथा संस्थागत रूपमा प्राप्त हुने आर्थिक सहयोग मन्दिरले प्राप्त गर्दै आएको छ। मन्दिरको अस्थायी फूलप्रसाद १६ वटा अस्थायी पसलबाट ६ सयदेखि एक हजार ६ सयसम्म मासिक भाडा प्राप्त हुने गरेको छ। मन्दिरको उत्तर–पूर्वपट्टि रहेका २० वटा पक्की सटरलाई प्रतिसटर चार हजार रुपैयाँका दरले भाडामा दिइएको छ। यसैगरी मन्दिरको उत्तर–पूर्वपट्टि रहेका पुराना १३ वटा पसलबाट प्रतिपसल चार हजारका दरले भाडा प्राप्त हुने गरेको समितिले जनाएको छ। मन्दिरको दक्षिण–पश्चिमतर्फ रहेका १६ वटा पुराना सटर भने घरबारीटोल सडक विस्तारका क्रममा भत्काइएको छ। उक्त पसलबाट मासिक दुई हजारदेखि पाँच हजारसम्म भाडा प्राप्त हुने गरेको थियो।

‘उक्त व्यवसायीले सटर निर्माणका लागि अग्रिम रूपमा दुई लाखका दरले रकमसमेत दाखिला गरिसकेका छन्, नयाँ सटर निर्माण पश्चात १६ वटा सटरको मासिक १० हजार र एउटा सटरको मासिक ५१ हजार एक सय कायम गरिएको छ,’ समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। समितिले मन्दिर अगाडिको तलाउमा ठेक्का सम्झौतामार्फत बोटिङ सञ्चालन गर्दै आएको छ। बोटिङ सञ्चालनबापत मासिक ४१ हजार आम्दानी हुने गरेको छ। मन्दिरको बाहिरपट्टि चार र भित्र एक गरी पाँच दानपेटिका राखिएको छ। ‘सोमध्ये बाहिर रहेका दुईवटा दानपेटिका खोली ७५ प्रतिशत व्यवस्थापन समितिले र २५ प्रतिशत मूल महन्तले लिन पाउने निर्णयबमोजिम उक्त दानपेटिका खोल्दा ८६ हजार एक सय ६० रुपैयाँ दान–दक्षिणा समितिलाई प्राप्त हुन आएको सचिव अधिकारीले जानकारी दिए।

बागेश्वरी गुठीका नाममा रहेको बाँकेको साविक ईन्द्रपुरस्थित जग्गाको मालपोतबापत वार्षिक १० हजार ५४ रुपैयाँ प्राप्त हुने गरेको छ। नयाँ व्यवस्थापन आइसकेपछि विभिन्न भक्तजनले चढाएको नगद ५७ हजार पाँच सय रुपैयाँ दान–दक्षिणा मन्दिरलाई प्राप्त भएको अधिकारीले जनाए। ‘अहिले थप दुईवटा दानपेटिका राखिएको छ,’ उनले भने। मन्दिरलाई प्राप्त हुने दान–दक्षिणा, विभिन्न पूजा शुल्कापतको रकम र जम्मा गर्ने प्रक्रियाका विषयमा पारदर्शीताका लागि मन्दिर परिसरमा सार्वजनिक सूचना जारी गरिएको समितिले जानकारी दियो। व्यवस्थापन समितिको बैठक बस्न तथा अन्य बैठक एवम् कार्यालय सञ्चालनका लागि उपयुक्त व्यवस्था गरिएको छ। लामो समयदेखि मन्दिर परिसरमा अव्यवस्थित रूपमा बसेका ४० जना असहाय, अशक्त एवम् जेष्ठ नागरिकलाई निलसागर असहाय असक्त तथा जेष्ठ नागरिक केन्द्रमा सुरक्षित व्यवस्थापन गरिएको समितिले बताएको छ।

मन्दिरको पूर्वतर्फ अव्यस्थित रूपमा रहेका २० वटा अस्थायी प्रकृतिका पसल हटाई मन्दिर परिसरलाई व्यवस्थित, सुरक्षित र फराकिलो पार्दै स्थायी प्रकृतिका सटरहरू निर्माण गरी व्यवस्थित गरिएको छ। मन्दिरको पूर्व–उत्तरतर्फ २० वटा सटर निर्माण गरिएको छ। मन्दिरको पूर्वतर्फ पार्क परिसरमा सत्संग भवन निर्माण भएको छ। सटर निर्माण, सत्संग भवन, माटो पटान, चिल्डे«न पार्क मर्मतसमेतमा ११ लाख १६ हजार नौ सय ९५ रुपैयाँ खर्च भएको थियो। त्यसमध्ये ३२ लाख २२ हजार आठ सय ५० रुपैयाँ नेपालगन्ज उपमहानगरपालिकाले सहयोग गरेको थियो। मन्दिरको दक्षिण पश्चिमतर्फ १७ वटा सटर पसलहरू निर्माण गरिने र निर्माण कार्यको लागि ९३ लाख ८६ हजार पाँच सय ९३ रुपैयाँ खर्च हुने गरी सम्झौता भइसकेको समितिले जनाएको छ। मन्दिरको पूर्वतर्फ रहेको पार्क परिसरमा सरस्वती मन्दिर स्थापना गर्ने प्रक्रियामै रहेको बताइएको छ।

आय, व्यय सार्वजनिक गर्दै बागेश्वरी गुठी व्यवस्थापन समितिका अध्यक्ष एवम् नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले मन्दिरको सम्पत्तिलाई क्रमशः रूपमा व्यवस्थित गर्दै लगिएको बताए। ‘परम्परालाई एकैचोटी तोड्न मिल्दैन, सहज रूपले अवतरण गर्ने हो,’ उनले भने, ‘व्यक्तिको नाममा गएको सबै सम्पत्ति हामी फिर्ता ल्याउँछौं।’ गुठी संस्थानका केन्द्रीय अध्यक्ष मिनराज चौधरीले तराई क्षेत्रमा मात्र गुठीको नाममा ६६ हजार तीन सय ९० बिघा जमिन देखिएको बताए। संस्थानले देशभर रहेका त्यस्ता जग्गाको अभिलेख अब वेबसाइटमा राख्ने तयारी रहेको जानकारी दिए। सरकारले गुठी संस्थानलाई हेर्ने नजर फरक रहेको गुनासो गर्र्दै भने, ‘सीमित स्रोत–साधनबाट समग्र धर्म, संस्कृतिको कसरी संरक्षण गर्न सकिन्छ र ?’

मन्दिरको सम्पत्ति खोजबिन उपसमिति संयोजक एवम् नगर उपप्रमुख उमा थापामगरले ‘मन्दिरको ८४ बिघा जमिन व्यक्तिको नाममा कसरी गयो ?’ यससम्बन्धी २०२७ र २०२८ सालको कागजात अझै फेला नपरेको बताइन्। ‘मालपोतको सहयोग र सहकार्यबिना खोजबिन गर्न गाह्रो परिरहेको थियो, पटक–पटकको प्रयासपछि केही तथ्य फेला परेको छ,’ उनले भनिन्। सो क्रममा प्रदेश पाँचका सांसद आइपी खरेल र कृष्णा केसी, वरिष्ठ साहित्यकार सनत रेग्मी, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ, प्राध्यापक डा. राजकुमार सुवेदी लगायतले मन्दिरको समग्र विकासका लागि सम्पत्ति फिर्ता ल्याउनुपर्ने सुझाव दिए।

प्रकाशित: ५ आश्विन २०७६ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App