७ वैशाख २०८१ शुक्रबार
समाज

फोहोर व्यवस्थित नहुँदा सास्ती

बारा - जितपुर सिमरा उपमहानगरपालिकाले फोहोर व्यवस्थित गर्न नसक्दा नगरवासीलाई सास्ती व्यहोर्नु परेको छ। उपमहानगरले दैनिक सफा गर्नुपर्ने फोहोर सफा नगरी जितपुर, सिमरा, पथलैयालगायत बजार, चोक र सडकछेउमा लामो समयसम्म छोड्दा सर्वसाधारणलाई सास्ती भएको जितपुरका व्यवसायी पुष्कर रायमाझीले गुनासो गरेका छन्।

थुपारेर राखिएको फोहोरको दुर्गन्धले बस्न र हिँड्डुल गर्नसमेत समस्या हुने गरेको व्यवसायी रायमाझीले बताए। उनका अनुसार फोहोर व्यवस्थित गर्ने नाममा उपमहानगरका जनप्रतिनिधि, कर्मचारी र गैर सरकारी संस्थाले ब्रह्मलुट मच्चाए पनि नगरवासीले बाध्य भएर सहनुपर्ने अवस्था छ। बजार दुर्गन्धित बनेपछि जितपुर, सिमरा, पथलैयालगायत बजार क्षेत्रमा ग्राहकको संख्यामा कमी हुँदै गएको उनले बताए।

होटल, लज, रेस्टुरेन्ट, कर्पोरेट अफिस, बैंक, निजी सरकारी कार्यालयलगायत सबै प्रकारका व्यवसाय उपमहानगरपालिकाको लापरबाहीले प्रभावित बनेको दुखेसो रायमाझीले सुनाए।

उपमहानगरले नगरक्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा वीरगन्जको गैरसरकारी संस्था क्लिन एन्ड ग्रिन सिटीलाई दिएको जनाएको छ। जितपुर सिमरा उपमहानगरप्रमुख डा. कृष्ण पौडेलले नगर क्षेत्रको फोहोर व्यवस्थित गर्न चुनौती रहेको जनाए। घर, होटेल तथा व्यावसायिक फार्मबाट निस्किने फोहोर जहाँ पायो त्यहीँ फाल्ने गरिएको र फालिएको फोहोर संकलन गर्न आवश्यकताअनुसार जनशक्ति पनि कम रहेको प्रमुख पौडेलले जानकारी दिए।

जितपुर सिमरा उपमहानगरका वातावरण शाखाप्रमुख सञ्जीव रूपाखेतीका अनुसार गैरसरकारी संस्थाको सहकार्यमा नगरपालिकाले फोहोर संकलन गर्ने कार्यमा २५ देखि ३० जना स्विपर, तीनवटा ट्र्याक्टर र दुईवटा टिपर परिचालन गरेको छ। उनले भने, ‘तीन वर्षपहिला उपमहानगरको बजार र मुख्य चोक सफा गर्न व्यवस्था गरिएको जनशक्तिबाट अहिले २४ वटा वडाका प्रत्येक टोलमा खटाउनुपर्ने बाध्यता छ।’

गैरसरकारी संस्थाले फोहोर संकलन गर्न सामान्य घरधनीसँग २० रुपैयाँदेखि ठूला होटलसँग एक सय रुपैयाँसम्म प्रत्येक महिना संकलन गर्ने गरेको उनले जानकारी दिए। उनका अनुसार गैरसरकारी संस्थाले नगर क्षेत्रबाट दैनिक १ दशमलव १ टन फोहोर संकलन गर्ने र त्यसका लागि उपमहानगरसँग लगभग तीन लाख रकम लिने गरेको छ।

दैनिक १ दशमलव १ टन फोहोर राख्न पनि उपमहानगरसँग निश्चित ठाउँ नभएकाले सोचेअनुसार फोहोर व्यवस्थित गर्न नसकिएको प्रमुख पौडेलले बताए। जितपुर सिमरा उपमहानगरपालिका क्षेत्रमा जताततै फालिएको फोहोर।

प्रकाशित: ५ आश्विन २०७६ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App