७ वैशाख २०८१ शुक्रबार
समाज

डेंगी संक्रिमतको उपचारमा लापरबाही, बिरामी मंहगो उपचार गराउन बाध्य

धनगढी  - डेंगी संक्रमित घोडाघोडी नगरपालिका–२ साढेपानीका ३९ वर्षीय धनीराम सदगवा चौधरी निसर्ग अस्पतालको ८ नम्बर शड्ढयामा छन्। उनको वरिपरिका शड्ढयामा अन्य रोगका बिरामी छन्। चौधरीलाई झुलभित्र राखिएको छैन। यसबाट डेंगी संक्रमितको उपचारमा अस्पतालले सावधानी नअपनाएको देखिन्छ।

यसैगरी माया मेट्रो अस्पतालमा पनि अन्य रोगका बिरामीको बीचमा राखेर कञ्चनपुरको महेन्द्रनगरबाट आएकी डेंगी संक्रमति दुई वर्षीया रितिमा चन्दको उपचार भइरहेको छ। उनलाई पनि झुलबिना खुला शड्ढयामा राखेर उपचार भइरहेको छ। यी प्रतिनिधिमूलक घटनामात्र हुन्। सुदूरपश्चिमका अस्पतालमा डेंगी संक्रमितलाई झुलभित्र राखेर उपचार नगर्दा अन्य बिरामी र कुरुवा जोखिममा परेका छन्। ‘डेंगीका बिरामीलाई झुलबाहिरै राखेर उपचार गराउँदा अन्य बिरामीमा त्रास बढेको छ,’ कुरुवा शेरबहादुर चौधरीले भने।

निजी अस्पतालहरूमा डेंगी संक्रमितलाई बिनाझुल अन्य रोगका बिरामीको बीचमा राखिएको छ। सरकारी अस्पतालमा निःशुल्क उपचार हुने डेंगी र स्क्रबटाइफसका बिरामी निजी अस्पतालमा मंहगो शुल्क तिर्न बाध्य छन्।

डेंगी संक्रमण भएका बिरामीलाई अन्य बिरामीको बीचमा खुला रुपमा राख्नु गल्त भएको स्वास्थ्यविज्ञ बताउँछन्। ‘डेंगीका बिरामीलाई झुलभित्र राखेर उपचार नगरिनु लापरबाही हो,’ प्रदेश सामाजिक मन्त्रालय श्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्की भन्छन, ‘डेंगी संक्रमितलाई झुलबिना खुला शड्ढयामा राखेर उपचार गराउँदा सर्ने सम्भावना हुन्छ।’ डेंगी संक्रमितलाई टोकेको लामखुट्टेले अरुलाई टोकेमा यो रोग सर्छ। एडिस एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेले टोके डेंगी लाग्छ। ‘संक्रमित एउटै लामुखुट्टेले धेरै जनालाई टोक्न सक्छ,’ चिकित्सक शुभेषराज कायस्थ भन्छन्, ‘यस्ता बिरामीलाई छुट्टै कोठामा र झुलभित्र राखेर उपचार गरिनुपर्छ।’

निजीमा उपचार महंगो
सरकारले डेंगी, स्क्रबटाइफस जस्ता रोगको निःशुल्क उपचार गर्ने भने पनि बिरामीहरु निजी अस्पतालमा महंगो शुल्क तिर्न बाध्य छन्। ‘सोमबारदेखि अस्पतालमा भर्ना भएर उपचार गराइरहेको छु,’ निसर्गमा उपचाररत चौधरीले भने, ‘अहिलेसम्म १५ हजार रुपैयाँ खर्च भइसक्यो, गरिब मान्छे पैसा छैन। अझै कति खर्च लाग्ने हो थाहा छैन।’ टाउको दुख्ने आँखाको भित्री भाग दुख्ने, हातखुट्टाको जोर्नी दुख्ने र ज्वरो नरोकिने जस्ता लक्षण देखिएपछि आफू उपचार गराउन आएको उनले बताए।

यसैगरी भारतमा मजदुरी गर्ने घोडाघोडी नगरपालिका साढेपानी २ का रमेश चौधरी भदौ पहिलो साता घर फर्के। घर फर्केको केही दिनमै उनी बिरामी परे। घोडाघोडी बजारस्थित क्लिनिककै सुझावमा उनी पनि धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना भए। ‘करिब एक साताको उपचारपछि डेंगी निको त भयो तर पैसा धेरै खर्च भयो,’ उनले भने, ‘भारतमा वर्षभरि मजदुरी गरी कमाएको पैसा यही उपचारमा सकियो।’ उपचारमा ४२ हजार रुपैयाँ सकिएको उनले बताए।

‘डेंगीका बिरामीलाई झुलभित्र राखेर उपचार नगरिनु लापरबाही हो,’ प्रदेश सामाजिक मन्त्रालय श्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्की भन्छन, ‘डेंगी संक्रमितलाई झुलबिना खुला शड्ढयामा राखेर उपचार गराउँदा सर्ने सम्भावना हुन्छ।’ डेंगी संक्रमितलाई टोकेको लामखुट्टेले अरुलाई टोके यो रोग सर्छ।

माया मेट्रो अस्पतालमा डेंगी संक्रमित दुई वर्षीया छोरी रितिमाको उपचार गराइरहेकी महेन्द्रनगरकी कमला चन्दले पनि उपचार महंगो भएको बताइन्। ‘दुई दिनदेखि छोरीको उपचार गराइरहेकी छु,’ उनले भनिन्, ‘अहिलेसम्म २० हजार रुपैयाँ खर्च भइसकेको छ, शड्ढया र अन्यको पैसा दिन बाँकी छ।’
सुदूरपश्चिमका डेंगी संक्रमित सरकारी स्वास्थ्य संस्थामा निःशुल्क हुने उपचारका लागि निजी अस्पताल महंगो उपचार गराउन बाध्य छन। धनगढीका निसर्ग, माया मेट्रो, नोभा, नवजीवनलगायत निजी अस्पतालमा डेंगीका बिरामीको उपचार भइरहेको छ। यी अस्पतालमा दैनिक पाँच÷छ जनाका दरले डेंगीका बिरामी उपचार गराउन आएको अस्पतालका कर्मचारीले बताएका छन्।

निःशुल्क उपचारबारे अनभिज्ञ
डेंगी, स्क्रबटाइफस, सिकलसेल एनिमियाको उपचार सेती प्रादेशिक अस्पताललगायत सरकारी स्वास्थ्य संस्थामा निःशुल्क हुने व्यवस्था छ। यसबारेमा जानकारी नपाउँदा सर्वसाधारण निजी अस्पतालमा महंगो उपचार गराउन बाध्य छन्। ‘निःशुल्क उपचार हुन्छ भन्ने मलाई थाहा छैन। डेंगी खतरनाक रोग हो।

यसको राम्रो उपचार प्राइभेट अस्पतालमा हुन्छ भनेर क्लिनिकका डाक्टरले भनेकाले यहाँ आएको हुँ,’ निसर्गमा उपचार गराइरहेका रमेश चौधरीले भने। महेन्द्रनगरकी कमलाले पनि सरकारी अस्पतालमा यो रोगको निःशुल्क र राम्रो उपचार हुन्छ भन्ने थाहा नभएर छोरीलाई निजी अस्पतालमा भर्ना गर्नुपरेको बताइन्। ‘छोरीलाई हनहनी ज्वरो आएपछि आफन्तसँग पैसा मागेर धनगढी ल्याएर आएकी हुँ।’ उनकी छोरी रितिमाको माया मेट्रोमा अस्पतालमा उपचार भइरहेको छ।

माया मेट्रो अस्पतालमा उपचार गराएका रमेश चौधरी भन्छन्– करिब एक साताको उपचारपछि डेंगी निको त भयो तर पैसा धेरै खर्च भयो। भारतमा वर्षभरि मजदुरी गरी कमाएको पैसा यही उपचारमा सकियो। उपचारमा ४२ हजार रुपैयाँ लाग्यो।

सुदूरपश्चिमकै रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा डेंगीको जाँच र उपचार निःशुल्क हुने भए पनि यहाँ आउने यस्ता बिरामीको संख्या न्यून छ। अस्पतालको मेडिकल वार्डका दिलीपकुमार श्रेष्ठले अहिलेसम्म दुईजना मात्र डेंगीका बिरामी आएको बताए। ‘निःशुल्क र भरपर्दो उपचार हुने सेती प्रादेशिक अस्पतालमा २ जना बिरामी आउनु र अन्य प्राइभेटमा बिरामी भरिनु आश्चर्यजनक हो,’ एक स्वास्थ्यकर्मी भन्छन्, ‘सरकारी निकाय दल र स्वास्थ्य संस्था, जनप्रतिनिधि, स्थानीय तहले निःशुल्क उपचारबारे जानकारी नगराउँदा सर्वसाधारण बिरामी निजीमा गएका हुन्।’ समाजिक विकास मन्त्रालकाय सूचना अधिकारी हेमराज खड्का निःशुल्क उपचारबारे प्रचारप्रसार गरेर सबैलाई जानकारी गराउने काम भइरहेको बताउँछन्।

डेंगी र स्क्रबटाइफसबाट तीनको मृत्यु, १९८ संक्रमित

सुदूरपश्चिममा डेंगी र स्क्रबटाइफसबाट तीनजनाको ज्यान गएको छ भने १९८ संक्रमित भएका छन्। तराईका दुई र पहाडी ६ गरी सुदूरपश्चिमका आठ जिल्लामा डेंगी संक्रमण फैलिएको छ। सुदूरपश्चिमका जिल्लामा डेंगीको संक्रमण ५४ जनामा देखिएको छ। त्यस्तै अछाम र बाजुराबाहेकका जिल्लामा स्क्रबटाइफसबाट १४४ जना संक्रमति भएका छन। डेंगीले १ र स्क्रबटाइफसले २ जनाको मृत्यु भएको छ। डेंगीबाट डोटीका एकजनाको अस्पतालमा उपचारकै क्रममा र धनगढीमा स्क्रबटाइफसबाट एक जनाको मृत्यु भएको छ। स्क्रबटाइफस संक्रमित एकजनाको निसर्ग अस्पतालबाट भारतको बरेली लैजादै गर्दा ज्यान गएको छ। डेंगी संक्रमण सबैभन्दा बढी कैलालीमा देखिएको छ। कैलालीमा २५, कञ्चनपुरमा ९, दार्चुलामा ९, डोटीमा २, डडेल्धुरामा ४, बझाङमा १, बैतडीमा २ र अछाममा २ जनामा डेंगी संक्रमण देखिएको छ। स्क्रबटाइफसका बिरामी सबैभन्दा बढी डडेल्धुृरामा देखिएका छन्। डडेल्धुरामा ५४, बैतडीमा २४, कैलालीमा ४४, डोटीमा ६, कञ्चनपुर ९, दार्चुला २ र बझाङ ५ जनामा स्क्रबटाइफस देखिएको छ।

प्रकाशित: ५ आश्विन २०७६ ०२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App