coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वन्यजन्तु र मानवबीच बढ्दै द्वन्द्व

कैलाली  - धनगढी उपमहानगरपालिका–३ बडहराका कालुराम चौधरीलाई गत शुक्रबार बेलुकी खेतमा धान रखवाली गर्न गएका बेला जंगली बँदेलले घाइते बनायो। बँदेलले दाहिने खुट्टामा टोकेर घाइते बनाएपछि उनी सेती अञ्चल अस्पतालमा उपचार गराई घर फर्केका छन्। बडहरामा हिजोआज लहलहाउँदो धानबाली जंगली बँदेलले सखाप पार्ने गरेको छ। बँदेलले धान खेती नष्ट गर्न थालेपछि किसानहरू राति खेतमै पहरा दिन थालेका छन्।

बडहराकै पुरानो मसानघाट टोल दुई हप्तादेखि त्रसित छ। भारतको दुधुवा नेसनल पार्कबाट डमरु हुर्काउन पोथी बाघ मोहना तटीय क्षेत्रमा आएपछि स्थानीय त्रसित बनेका हुन्। सो क्षेत्रमा पोथी बाघ डमरुसहित हिँडडुल गर्न थालेको छ। खोला हुँदै लालझाडी करिडोरतर्फ जाने बाघ मानव चहल–पहलले रुट परिवर्तन गर्दै धनगढीतर्फ आइपुगेको वन्यजन्तुका क्षेत्रमा काम गर्नेहरू बताउँछन्।

बढ्दो वनजंगल विनाशका कारण पछिल्लो समय वन्यजन्तु मानव बस्तीतर्फ आउन थालेको पूर्व वन अधिकृत रमेश चन्द बताउँछन्। ‘घना जंगल मासिँदै जानु र वन्यजन्तुको आहारा घट्दै जाँदा जनावर बस्तीतर्फ आउन थालेका छन्,’ उनले भने, ‘बस्तीतर्फ वन्यजन्तु आउँदा वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्न थालेको छ।’ वन्यजन्तुले बस्तीतर्फ आएर बालीनाली नष्ट गर्ने गरेपछि किसानले वन्यजन्तु मार्ने क्रम बढेको छ भने वन्यजन्तुले पनि मौका पाउँदा मानिसलाई आक्रमण गरेका घटना देखिँदै आएको उनी बताउँछन्। पछिल्लो समय सो क्षेत्रमा बाघ आउनुको कारण बँदेलको संख्या बढ्नु पनि रहेको उनी प्रस्ट्याउँछन्।

‘दुधुवा नेसनल पार्कबाट बाघ डमरु हुर्काउन मोहना–लालझाडी करिडोरमा जाने गरे पनि मोहना तटीय क्षेत्रमा बँदेलको संख्या बढी भएकाले सिकार गर्नकै लागि बाघ सो क्षेत्रमा पुगेको हुनसक्छ,’ उनी भन्छन्, ‘जंगल विनाश हुनु र बँदेलको आहारामा कमी आउँदा बँदेलले पछिल्लो समय मोहना करिडोरसँग जोडिएको धनगढीको बस्तीमा बालीनाली नष्ट गर्दै आएका छन्।’

बडहरा, भन्सार, चटकपुर, बोराडाँडी, राजपुर क्षेत्रमा पछिल्लो समय वन्यजन्तुको ओहोरदोहोर भइरहेको वन्यजन्तु संरक्षण अभियन्ता तथा मोहना–लालझाडी संरक्षित वन परिषद्का अध्यक्ष राजबहादुर ऐर बताउँछन्। उनले भने, ‘हामीले मोहना तटीय क्षेत्रमा फँडानी तथा अतिक्रमण रोकेपछि संरक्षित वन घना भयो र त्यही घना वनमा आश्रय लिन वन्यजन्तु यहाँ आइपुगेका छन्।’ मोहना तटीय क्षेत्रभन्दा बाहिर कञ्चनपुरतिरको जंगल अतिक्रमणको चपेटामा पर्नु र वन्यजन्तु सुरक्षित स्थान खोज्दै संरक्षित वन क्षेत्रमा आइपुग्दा नजिकै रहेको मानव बस्तीमा वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्न थालेको उनी बताउँछन्।

‘हामीले संरक्षण गरेको वनमा बाहिरबाट वन्यजन्तु सुरक्षित बासस्थान र आहारा खोज्न यहाँ आइपुगेका छन्,’ उनले भने, ‘नजिकै किसानको बालीनाली रहेकाले पनि वन्यजन्तु आहारा खोज्न मोहना तटीय क्षेत्रसम्म पुग्न थालेका हुन्।’ मानव बस्तीमा जनचेतना जगाउने तथा वन्यजन्तुलाई मानव बस्तीमा आउनबाट रोक्न विभिन्न उपाय खोजी गर्नुपर्ने उनी बताउँछन्।

‘हामी मोहना–लालझाडी करिडोरमा वन्यजन्तु संरक्षणमा वर्षौंदेखि लागि रहेका छौं,’ उनले भने, ‘यस्तै समयमा बाघ यस क्षेत्रमा आइपुग्नु हाम्रा लागि खुसीको कुरा हो।’ तर, बाघ बस्तीनजिकै पुगेकाले स्थानीयलाई भने त्रसित बनाएको उनले बताए। ‘स्थानीय त्रसित छन्,’ उनले भने, ‘यस्तो बेलामा सजक र सतर्क रहन हामीले स्थानीयलाई सुझाएका छौं।’

प्रकाशित: ५ आश्विन २०७६ ०१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App