४ वैशाख २०८१ मंगलबार
समाज

लालपूर्जा पाएपछि सुकुम्बासी परिवारमा खुशियाली

मठको जमिनमा पुस्तौदेखि बसोबास गर्दै आएका सुकुम्बासी परिवारलाई लालपूर्जा प्रदान गरिदैं। तस्बिर: टंक/नागरिक

सर्लाही - जिल्लाको लालबन्दी नगरपालिकाअन्तर्गत रानीगंजस्थित एक मठको जमिनमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासी परिवारले मोही हक अन्तर्गत शनिबार लालपूर्जा पाएका छन्। पुस्तौंदेखि बसोबास गर्दै आएको जमिनको लालपूर्जा पाएपछि सुकुम्बासी परिवारमा खुशियाली छाएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका–१७, रानीगञ्जस्थित देवता महाकाली मठको ११ विघा पाँच कठ्ठा जमिन मध्ये आधा जमिन ९ सुकुम्बासी परिवारले दामाशाही हकभोग प्राप्त गरेका हुन्। २०२२ सालमा स्थापना भएको मठको जमिनमा तीन पुस्तादेखि बस्दै आएका सुकुम्बासी परिवारलाई मोहीयानी हक अन्तर्गत दामाशायी हिसाबले लालपूर्जा वितरण गरिएको १७ नम्बर वडाका वडाध्यक्ष नवराज अधिकारीले बताए।

लालपूर्जा पाएपछि ६० वर्षीय तिलकबहादुर बलको मुहारमा निकै खुशी देखिन्थ्यो। पुस्तौंदेखि मठको जमिनमा बसोबास गर्दै आएका बलसहित ९ सुकुम्बासी परिवारमा लालपूर्जा पाएपछि खुशियाली छाएको छ। सो जग्गाको विषयमा २०६६ सालदेखि अदालतमा मुद्दामामला चल्दै आएको थियो। बीचमा नक्कली मोही समेत खडा गराएर भू–माफियाले मठको जमिन हडप्ने प्रयास गरेपनि आफू लगायत जनप्रतिनिधिको पहलमा वास्तविक बसोबास गरिरहेका सुकुम्बासी परिवारलाई मात्र मोहियानी हक अन्तर्गत लालपूर्जा दिलाउन सफल भएको वडा अध्यक्ष अधिकारीले जानकारी दिए। भू–माफियाले हड्प्न लागेको जग्गा जनप्रतिनिधिको पहलमा फिर्ता गरिएपछि स्थानीय बासिन्दाले पनि खुशी प्रकट गरेका छन्।

शनिबार बिहान रानीगञ्जस्थित वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नौ जना मोहीलाई जग्गाधनी लालपूर्जा प्रदान गरिएको छ। लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्का, पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, वडा अध्यक्ष सुरेन्द्र न्यौपाने, कांगे्रस नेताहरु कुवेर आचार्य, प्रशान्त आचार्य, नेकपा नेता डिल्ली अधिकारी लगायतको उपस्थितिमा मोहीलाई लालपूर्जा वितरण गरिएको हो।

प्रकाशित: ४ आश्विन २०७६ ११:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App