८ वैशाख २०८१ शनिबार
अर्थ

वीरगन्ज-पथलैया सडकखण्ड ६ लेनको बन्दै

बारा- देशको प्रमु प्रवेशद्वारको रुपमा रहेको वीरगन्ज-पथलैया सडकखण्ड ६ लेनको बन्ने भएको छ। सवारी चापलाई कम गर्ने उद्देश्यका साथ यो सडक खण्ड २० महिनाभित्र ब्यापारिक मार्गको रुपमा विस्तार हुने बताइएको छ।

बाराको पथलैयादेखि पर्साको सुख्खा बन्दरगाह रहेको सिर्सियासम्म २६ किलो मिटर ६ लेनको व्यापारिक मार्ग निर्माण गर्न लागिएको हो। उक्त योजना तीन अर्ब १२ करोड ४१ लाखको रहेको आयोजना अधिकारीहरुले बताएका छन्।

‘आर्थिक वर्ष २०७२-७३ असार ३१ गते दुई वर्षभित्र वीरगन्ज-पथलैया सडकखण्ड ६ लेनको व्यापारिक मार्गको रुपमा निर्माण हुनेछ। त्यसका लागि सम्बन्धित कम्पनीहरुले निर्माण कार्य सुरु पनि गरिसकेका छन्,’ आयोजना प्रमुख रवीन्द्रलाल दासले भने, ‘ २० महिनापछि आर्थिक वर्ष २०७४-७५ को असार मसान्तसम्म २६ किलो मिटर सडक खण्डको निर्माण सम्पन्न गरिने लक्ष्य लिएका छौं।’

निर्माण कम्पनीहरुले अहिले खाली रहेको भागमा दुवै छेउमा नाला निर्माण र  अन्य भागको माटो समयाउने काम गरिरहेको दासले बताए। 'हालः रहेको २ लेनको सडक खण्डको मध्यभागबाट दायाँ २५ मिटर र बायाँ २५ मिटर बिस्तार गरी ५० मिटरको सडक निर्माण गरिनेछ,’ उनले भने, ‘एक लेन सडक तीन मिटरको हुनेछ। बाँकी भागमा नाला र पैदल हिँडडुल गर्न खाली राखिनेछ।’

पूर्व-पश्चिम महेन्द्र राजमार्गको पथलैयादेखि दक्षिण त्रिभुवन राजपथको परवानीपुरसम्म लगभग १६ किलो मिटरको एउटा खण्ड र परवानीपुरदेखि सिर्सियाको सुख्खा बन्दरगाहसम्म लगभग १० किलो मिटरसम्मको अर्को खण्ड गरी दुई खण्डमा सडकको निर्माण कार्य भइरहेको छ।

पथलैयादेखि परवानीपुरसम्म लगभग १६ किलो मिटरको सडक खण्डलाई एमआर कन्टेक जेभी, शर्मा युनिटेक बिल्डर्स, दिवा निर्माण सेवा जेभी र एम आर कन्टेक जेभीले खण्ड खण्डमा गरी लगभग एक अर्ब ८१ करोड २६ लाखमा ठेक्का स्कार गरी निर्माण कार्य सुरु गरेका छन्। यता परवानीपुर देखि सिर्सियाको सुख्खा बन्दरगाहसम्म लगभग १० किलो मिटरसम्म सडक खण्डलाई एम आर पप्पु कन्टेक जेभी वीरगन्ज, श्रेष्ठ बिरुवा एपेक्स जेभी हेटौंडा र पाप्पु लुम्बनी जेभी वीरगन्जले खण्ड खण्ड गरी एक अर्ब ३१ करोड १५ लाखमा ठेक्का स्कार गरेको दासले बताए।

वीरगन्ज-पथलैया ६ लेनको व्यापारिक मार्ग दुई वर्ष भित्रमा निर्माण भए पनि यस सडक खण्डको दुई स्थानमा पर्ने सिर्सिया खोलाको पुल र एउटा लालका खोलाको पुल पनि निर्माण गर्नुपर्ने भएकाले आयोजना पूरा हुनमा चार वर्षको समय लागिन सकिने दासले बताए।

 

प्रकाशित: ७ मंसिर २०७३ ०७:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App