coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘अहिंसा क्षेत्रमा आउनुस् है !’

निमा लामा, सामाजिक अभियन्ता

वैशाख १२ को भूकम्पपछि मनास्लु क्षेत्रको पर्यटनको अवस्था कस्तो छ ?
भूकम्पले पदमार्ग क्षतविक्षत भएको थियो। गाउँका घरहरूको पनि क्षति भएको थियो। त्यसको पुनर्निर्माण गरियो। भत्केका होटल पनि बनाइयो। केही होटल थपिए पनि।  ०७३ देखि फेरि मनास्लुमा पर्यटन सुचारु भयो। बर्सेनिी पर्यटक बढिरहेका छन्। विसं ०७५ मा ७ हजार तीन सय १३ जना पर्यटक मनास्लु घुमेका थिए।

मनास्लु क्षेत्र घुम्ने सबै पर्यटक चुम भ्याली पस्दैनन्, सबैलाई चुम भ्याली घुमाएर लार्के पास गराएर पठाउन सकिँदैन ?
सकिन्छ। अहिलेको अवस्थामा जति पर्यटक मनास्लु क्षेत्र घुम्छन् त्यसको ३५ प्रतिशत चुम भ्याली पुग्छन्। चुम घुम्नेहरू पनि करिब ८० प्रतिशत पदयात्री नुब्री हुँदै लार्के पास भएर मनाङ निस्कन्छन्। बाँकीचाहिँ गएकै बाटो फर्कन्छन्। जहाँसम्म सबैलाई चुम भ्याली घुमाउने कुरा छ, त्यसो हुन सके राम्रो। हिमाल आरोहण गर्नेहरू चुमतिर पस्दैनन्। अन्य पदयात्रीलाई भने चुम घुमाउन सकिन्छ। त्यसका लागि ट्रेकिङ कम्पनीहरूले नै प्याकेजमा राख्नु पर्ने हुन्छ। यसमा नेपाल पर्वतारोहण संघ, टान, ट्रेकिङ व्यवसायी, पर्यटन बोर्ड लगायत सरोकारवालाले हातेमालो गर्नु पर्छ। 

चुम भ्याली नै किन घुम्ने ?
चुम भ्याली संसारकै एउटा गहना हो। अहिंसा क्षेत्र हो। अर्को कुरा चुम भ्याली बेयुल किमोलुङ मानिन्छ। बौद्ध दर्शनअनुसार किमोलुङ भनेको पवित्र भूमि हो। गुरु पद्मसंभवले ध्यान, योग र कर्मका लागि लुकाएको पवित्र भूमिलाई किमोलुङ भनिन्छ।

हाम्रोमा कुनै पनि जनावरको काटमार हुँदैन। विसं १९७७ देखि माथिल्लो चुमको छेकम्पारलाई अहिंसा क्षेत्र घोषणा गरिएको थियो। पछि २०६९ देखि तल्लो चुम अर्थात् चुमचेतलाई पनि अहिंसा क्षेत्र घोषणा गरिएको थियो। अहिले पूरै चुम उपत्यका हिंसारहित क्षेत्र हो। विसं ०७७ सालमा हामी त्यसको शताब्दी महोत्सव मनाउँदै छौं। बाहेक हिमाली जनजीवन, बौद्ध संस्कृति, चुम्बा संस्कृति र प्राचीन सम्पदाहरू माने, गुम्बा, चैत्य, गुफा आदि चुम भ्यालीका आकर्षण हुन्।

हामी विश्व शान्तिको कामना गरिरहेका छौं। हाम्रो उत्तरी गोरखाको चुम उपत्यका अहिंसा क्षेत्र भएको ०७७ सालमा सय वर्ष पुग्दैछ।

चुम भ्यालीमा हिमाल, ताल, जडीबुटी, झरना, चुली र जैविक विविधताको भण्डार छ। वन्यजन्तुका दृष्टिले चुम खुल्ला संग्रहालय हो जहाँ थरीथरीका जनावर देखिन्छ।

अहिंसा क्षेत्रमा केके गर्न पाइँदैन ?
अहिंसा क्षेत्रमा ६ किसिमका गतिविधि गर्न पाइँदैन। तिनमा काटमार नगर्ने, शिकार नखेल्ने, भीर मौरीको मह नकाढ्ने, चरिचरण र वनजंगलमा डढेलो नलगाउने, काटमार गर्ने मान्छेलाई कुनै पनि जनावर बिक्री तथा वितरण गर्न नपाइने, काटमारका लागि जनावर लिएर चुम भ्यालीको बाटो प्रयोग गर्न नपाइने हुन्। सुरक्षा निकाय, सरकारी कर्मचारी र विदेशी पर्यटक पनि अहिंसाको नियमप्रति प्रतिबद्ध हुनुपर्छ।

अहिंसा शताब्दी महोत्सव कसरी मनाउनु हुन्छ ?
हामी चुम उपत्यकामा बस्नेहरूले अहिंसाप्रति प्रतिबद्ध छौं। यसलाई दीर्घकालसम्म कायम राख्न शताब्दी महोत्सवले पनि सन्देश दिनेछ। महोत्सवकै अवसरमा नेपाल सरकारलाई चुम उपत्यकाको अहिंसा क्षेत्रको चार किल्ला घोषणा गराउन पहल गर्नेछौं। हामी महोत्सवमा बौद्ध दर्शन र पञ्चशीलको अभ्यास गर्नेछौं। साथै विश्व शान्तिका लागि सन्देश दिनु पनि हाम्रो उद्देश्य हो। हामी चुम उपत्यकाको अहिंसा संस्कृतिको सन्देश विश्वभर फैलाउँछौं।

चुम भ्यालीमा खाने÷बस्ने सुविधा के छ ? त्यहाँ घुम्न काठमाडौंमा बस्नेहरूले कसरी यात्रा योजना बनाउनु पर्ला ?
चुम उपत्यकामा होटल तथा होमस्टे सुविधा छ। हाम्रोमा ४० वटा होटल छन्। केही होमस्टे पनि छन्। सबैमा शाकाहारी खाना मात्र पाइन्छ। काठमाडौंबाट पाँच दिनमा चुम पुगिन्छ। काठमाडौंबाट पहिलो दिन सोतीसम्म गाडीमा। त्यहाँबाट चार दिनको पदयात्रामा चुम। दिनको १५ सय रुपैयाँले तीन छाक खाना र बासलाई तिर्न पुग्छ।

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का गतिविधि कस्तो पाउनु भएको छ ?  ऊसँग तपाईका कुनै गुनासा छन् कि ?
एमक्यापले दिगो संरक्षण र पर्यटन विकास कार्यक्रम विसं २०५४ देखि कार्यक्रम गर्दै आएको छ। विसं २०५५ मा मनास्लु संरक्षण क्षेत्र घोषणा गरिएको थियो। संरक्षण र पर्यटन प्रवद्र्धनका दृष्टिले कार्यक्रम ठिकै छ। आगामी दिनमा वातावरण र जैविक विविधताको दिगो संरक्षणका कार्यक्रमहरू, पर्यटनको दिगो पूर्वाधार विकास कार्यक्रम र नयाँ पदमार्गहरू निर्माणमा उसले अझै जोड दिनु पर्छ। धेरै भन्दा धेरै वृक्षारोपणका कार्यक्रम सञ्चालन गर्नु प¥यो। एमक्यापले आफ्नो कार्ययोजना बनाउँदा स्थानीयसँग बृहत अन्तरक्रिया गर्नु पर्छ। प्राचीन सम्पदा संरक्षण र पर्यटक बढाउन थप पहल गर्नु प-यो।

प्रकाशित: ४ आश्विन २०७६ ०३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App