विवाह–अनुभूति

यही हो नानी जुग जाने घर...

शनिबार, ०४ असोज २०७६, ०८ : ५७ नागरिक

हसिना बस्नेत

 

यही हो नानी जुग जाने घर।
राम्रो गर सबैको मन पर।।
बिहेको अघिल्लो रात आमाले भन्नुभयो, ‘हेर्, आजबाट यो घर मात्र होइन, त्यो घर पनि तेरो जिम्मेवारी हो। घर खान सकिनस् भने उतै मादीमा हामफाल्नु, तर तेरो घरबाट तेरोबारे कुनै अबगाल सुन्न नपरोस्।’
मेरी आमा सधैँ मेरो सुरक्षित भविष्यको चिन्ता गर्नुहुन्थ्यो।उहाँको एउटै चिन्ता हुन्थ्यो, ‘यो छोरीले घर गरेर खाओस्।’

 

कक्षा ७ पढ्दापढ्दै उहाँको बिहे भएको थियो, त्यसैले उहाँको पढाइ रोकियो। शिक्षित हुन, दुनियाँ बुझ्न पाउनुभएन, परम्परागत जीवन बाँच्नुभयो। त्यसमाथि कलिलै उमेरमा विवाहपछि बर्सौंटे जन्मेका सन्तान हुर्काउँदा पक्कै गाह्रो भयो होला। उहाँले आफूले जस्तो जीवन बाँच्नुभयो, त्यही अनुसार मेरो चिन्ता गर्नुहुन्थ्यो।
मैले भर्खर १८ टेकेकी थिएँ।

कक्षा १२ को जाँच के सकिएथ्यो, घरमा बिहेको कुरा चल्यो। चल्न त पहिले पनि चल्थ्यो, यसपटक गम्भीर रूपमै चल्यो।

काम विशेषले पोखरा गएर घर फर्केकी थिएँ, घर छिर्ने तगारो के उघारेकी थिएँ, परैबाट तीनजना नौला मान्छे आँगनमा उभिएको देखेँ। पिँढीमा गलैंचा ओच्छयाइएको थियो। पिँढीको डिलमा झोला फालेर भित्र पसेँ। आमा र ठूली आमाहरू भान्सामा व्यस्त थिए। अलमल पर्दै आमासँग सोधे, ‘हैन, घरमा के हुँदै छ आज ?’

आमाले भूमिका बाँधेर भन्न थाल्नुभयो। मैले बुझिहालेँ, बाहिरका मान्छे मलाई हेर्न र बिहेको कुरा छिन्न आएका रहेछन्।

पढे–लेखेको केटो, जाँड–रक्सी नखाने, इलममा लागिसकेको भएकाले आफ्नो घरभन्दा सात गाउँपर मेरो बिहे छिनियो। त्यसमा न मेरो स्पष्ट मञ्जुरी थियो, न त विरोध। परिवारका सदस्य बसेर छिनेको कुरामा बाधा पु-याउन ‘संस्कार’ले दिँदैनथ्यो। फेरि केटा रोज्ने–छान्ने उमेर र क्षमता थिएन। एक झलक देखेको केटालाई केटीले र केटीले केटालाई विश्वास गर्नुपर्ने जमाना थियो।

मसँग कुनै योजना र सपना त थिएनन् कि सपना पूरा गरेर बिहे गर्नलाई, तर बिहे गरिहाल्ने सोच थिएन। आफूहरूले खोजेजस्तो केटासँग छोरीको घरजम गरिदिने परिवारको चाहना र सँगसँगै बाले शिक्षक पेसाबाट पाएको पेन्सनले मेरो बिहे उम्काउने बहानामा जन्मघरबाट बिदा हुँदै थिएँ म। कास्की लमजुङको सिमाना भएर बगिरहन्छ, मादी नदी। त्यही नदीको कास्की तर्फको गाउँमा मेरो कर्मघर पर्दथ्यो।

रूपातालको आँगनीमा
रूपातालको आँगनीमा हुर्कें–बढेँ, १८ वर्षको उमेरसम्म घरबाट कतै टाढा घुमघाम गर्ने वातावरण मिलेन। उतिबेला विद्यालयले पनि अहिले जस्तो शैक्षिक भ्रमण भनेर कतै लगेर केही देखाएन। अहिले जस्तो घर बाहिरको संसार, गाउँ बाहिरको भूगोल थाहा पाउनुपर्छ भनेर जान्ने–बुझ्ने मान्छे घरदेखि परसम्म कतै देखिएन। कुवाको भ्यागुतो भई हुर्किएर होला, घर नजिकैको रूपाकोट डाँडा पनि बिहेको पहिलो दिन टेकेकी थिएँ।

आधारात हुँदै गर्दा जन्तीमध्येको कसैले देखायो, ‘ऊ त्यहाँ पर हो पुग्नुपर्ने ?’ मैले जुनी काट्नुपर्ने घर। आफ्नो ठानेर पोत्नुपर्ने घर। अबको जीवन बिताउनुपर्ने घर। आँखा च्यातेर हेरेँ, अझै कति टाढा रहेछ भनी। निस्पट्ट अँध्यारोमा तीन गाउँपारि पुछारमा धिपिधिपी आकाशको तारा जस्तो बत्ती बलेको देखेँ।

बिहेको कुरा छिनिएदेखि मेरो मनमा अनेक कुरा खेलेका थिए। विशेषतः ‘घर गर्ने’ कुराले सताउँथ्यो। साँच्ची, घर गर्ने कसरी होला ? म यो माटो (जन्मघर)मा हुर्कें, यहाँबाट उखेलिएर अन्तै सर्ने कसरी होला ? कोदोको बिउ, धानको बिउलाई पनि उखेलेर रोप्ने एउटा समय हुन्छ। कलिलैमा उखेलेर रोप्यो भने नसर्न सक्छ। त्यस्तै, एउटी छोरीलाई बिहे गरेर दिने पनि समय हुनुपर्छ, तयारी हुनुपर्छ। वनस्पतिको बेग्लै कुरा, मानिसको त मन सर्नुपर्छ !

मैले आफूलाई त्यस्ती बिरुवा ठान्थेँ, जसको जरा जन्मघरको माटोमा गडेको छ। कलिली आफैँलाई उखेलेर अन्तै सार्ने ? माटो, मौसम, हावापानी मिल्छ कि मिल्दैन ? म त्यसै आत्तिन्थेँ, उमेर र अवस्था त्यस्तै थियो। अचेल लाग्छ– बिहेका लागि केटाकेटीहरू परिपक्व हुनुपर्छ, बिहेअघि केही समय कुराकानी हुनुपर्छ, बल्ल उनीहरू एकआपसमा घुलमिल हुन सक्छन्। अहिले यस्तो अभ्यास भइसकेको छ। तर, मेरो जमाना (हिजो भर्खरसम्म) समाजको सोच बेग्लै थियो।

वैशाखको कुनै दिन मेरो बिहेको तिथि परेको थियो। अन्ततः बिहेको दिन आएरै छाड्यो। संगीहरूले मेहन्दीले हात रंगाइदिए। शृंगारका कस्मेटिक सामग्रीले कहिल्यै नपोतिएको मेरो अनुहार सजाइदिए।

घरको माथिल्लो तलाको बार्दली कोठामा साथीहरूसँगै बसिरहेकी थिएँ, करिब दिनको १ बजेतिर बाजाको आवाज घर पछाडिको बाटो हुँदै मेरो कानसम्म ठोक्कियो।

हसिना बस्नेत

सधैँ सुन्दर लाग्ने सहनाईको धुन पनि त्यस दिन कर्कश जस्तो लाग्यो। दमाहाको आवाज ढ्यांग्रो ठोकेझैँ लाग्दै थियो, अब मैले आफ्नो घरबारी छाड्नुपर्छ। अन्त कतै सर्नुपर्छ, फुल्नुपर्छ।

म कतै हराउँदै थिएँ, अनेक जिज्ञासा र प्रश्नहरूमा। नौमती बाजा बजिरहेकै थियो, आमा र साथीहरूले के के सुनाइरहेका हुन्थे, मैले सबै सुनेर पनि केही सुनेकी थिइनँ।

नौमती बाजा, मानिसहरूको भीड, केटाकेटीको दौडादौडका बीच दुलहीका रुपमा मलाई आँगनीमा ओरालियो। दिनभरि विवाहको विधि पूरा गरेपछि साँझ ५.३० बजे डोली अन्माइयो। जन्माएर हुर्काएकी छोरीलाई एकैचोटि कसैको जिम्मामा सुम्पनुपरेकाले होला, आँसु नखसाल्ने माइती कोही थिएन। डोलीमा बसेपछि मेरो पनि आँखा बर्सिन थाले। जीवनमा त्यसअघि यी आँखाबाट त्यतिविधि आँसु कहिल्यै बर्सेका थिएनन्।
    
त्यो रातको यात्रा
आधारात हुँदै गर्दा जन्तीमध्येको कसैले देखायो, ‘ऊ त्यहाँ पर हो पुग्नुपर्ने ?’ मैले जुनी काट्नुपर्ने घर। आफ्नो ठानेर पोत्नुपर्ने घर। अबको जीवन बिताउनुपर्ने घर। आँखा च्यातेर हेरेँ, अझै कति टाढा रहेछ भनी। निस्पट्ट अँध्यारोमा तीन गाउँपारि पुछारमा धिपिधिपी आकाशको तारा जस्तो बत्ती बलेको देखेँ। त्यति टाढा होला जस्तो लागेको थिएन।

जन्मघरदेखि कर्मघरसम्म पुग्न लगालग हिँड्नेलाई ५–६ घन्टा लाग्थ्यो, तर मलाई दश घन्टाजति लाग्यो। उकाली–ओराली भएकाले डोलीमै चढेर जान सम्भव थिएन। अलिकति पर पु¥याएपछि डोलेहरू फर्किए। टाढा हिँडेर जानुपर्ने भएकाले मसँगै जाने कोही साथी थिएनन्।

बिहेअघि छुस्स देखेको दुलाहा, सासु नभएको घर। त्यसैले भोलिपल्टैदेखि घर सम्हाल्नुपर्ने चिन्ताले म भित्रभित्रै छटपटिएकी थिएँ।

घरबाट निस्केको केही घन्टामा रात प-यो। केही हाते–लाइट र एउटा मइन्टोलको सहारामा ५०–६० जना जन्तीको समूहसँगै सकीनसकी पाइला चाल्दै थिएँ। म हिँड्दाहिँड्दै नसकेर कतै थुचुक्क बसिदिन्थेँ। बेलाबेला बेहुलाले सोध्थे, ‘गाह्रो भयो कि ?’ तर मैले उनीहरूलाई सुनेकोे नसुन्यै गरिदिन्थे।

‘घरतर्फ रत्यौलीमा लुठो हल्लिँदै होलान्,’ बेलाबेला जन्ती छिल्लिन्थे। म हिँड्न नसकेको देखेर ठट्टा गर्ने हेतुले कसैले भन्थ्यो, ‘जग्गेमा पाइला नापेभन्दा पनि बढी भयो।’ अर्को बोल्थ्यो, ‘माइतीमा दाउरा–घाँस, मेलापात गरेकी रहिनछन् कि क्या हो बुढाबा बुहारीले त। तपाईंलाई पकाएर खान दिने छाँट छैन है।’
ससुराको जवाफ बढो शान्त थियो, ‘पकाइहाल्छे नि। आज पो कहिले नहिँडेकी बालखीलाई गाह्रो भो।’
तेर्सो, उकालो हिँड्दै रातको २.०० बजे चौतारीमा पुगेर मइन्टोलमा तेल थपियो, लाइटमा ब्याट्री फेरियो। कसैले भन्दै थियो, पुग्न अझै एक घण्टा लाग्छ। रातको ३.०० बजे दुलाहाको घर पुगियो।
त्यतिबेला पनि आँगनीमा रत्यौली रन्केकै थियो। गीतको बोल थियो–
यही हो नानी जुग जाने घर।
राम्रो गर सबैको मन पर।।

घर सम्हालेको त्यो बिहान
सुत्ने बेला हुँदा ४ बज्न लागेछ। माइतीमा आमा, सानिमाहरूले भोलिपल्ट उठेर गर्नुपर्ने विधि घोकाएका थिए– बिहान उठेपछि सबैभन्दा पहिले श्रीमानको गोडाको जल खानुपर्छ। सासुससुरा, नन्द, अमाजु सबैलाई ढोग गरेस्। अरुको अगाडि हिँड्दा बिस्तारै हिँड्नुपर्छ। जेठाजु, ससुरालाई कपाल नदेखाउनू, छोपेर हिँड्नू, हिँड्दा बीचबाट नहिँड्नू। बिस्तारै आवाज ननिकाली हिँड्नू। खाना पस्केर दिँदा उठेर मात्र दिनू। दाँत देखाएर नहाँस्नू, आदि–इत्यादि।

संगीहरूले जिस्काएका थिए, सुहागरातमा दुलाहाको कोठा सजाइएको हुन्छ। सेतो तन्ना ओछ्याइएको हुन्छ। तर मेरो सुहागरातमा त्यस्तो केही देखिनँ। दुलाहा उता खाटमा पल्टे, म यता।

बेहुला भन्दै थिए, ‘यता खाटमा आऊ।’ म पटक्कै बोलिनँ। चुपचाप दोलाईले मुख छोपेर पल्टिएँ। उनी एकछिनपछि मेरै खाटतिर घुस्रिन आइपुगे। छुन नपरे पनि हुन्थ्यो भनेर अलक्क बसेँ, तर नछोइकन मानेनन्।

उनको विवाहको कल्पना वर्षौंपछि विपनामा परिणत हुँदै थियो होला। दुर्गम गाउँको घर, पढाई, जागिर, कमाई, त्यसपछिको विवाह। योबीचमा उनका पनि कैयौै संघर्ष थिए होलान्। उनको सपनाको महल मेरोभन्दा कैंयौं गुणा विशाल थियो होला। तर म आलोकाँचो, राम्रोसँग भातै पकाउन नजानेकी, एकदिन मेलो नधानेकी।

उनी के के सोध्दै थिए, म ‘हँ’ र ‘अँ’मा उत्तर दिँदै थिएँ। करिब बीस मिनेट एउटी दिदीले ढोका ढकढक्याउन आइपुगिन्। मैले ती दिदीलाई चाँडै उठाइदिन आग्रह गरेकी थिएँ।‘नानी, उठ ५ बज्न आँटिसक्यो। हिजो तिमीले नै भनेकी थियौ, चाँडै उठाइदिनु भनेर।’

दिदीको आवाज कानमा ठोक्कियो। जुुरुक्क उठेँ। घ-याक्क अग्लो ताने। रिमरिम उज्यालो पूर्वतिरबाट बिस्तारै जमिनमा छरिँदै थियो। हिजो राम्रोसँग नदेखेको पराईघरलाई आजदेखि मैले हेरचाह गर्नु थियो। तल पिँढीमा झरेर पोतारो खोजेँ। घरको पूर्वपट्टि माटोको सानो आरीमा रातो माटो लतपतिएको टालो र अलिकति माटो सँगै थियो। पिसाब पनि नफेरीकन एक लोहोटा पानी थापेँ धाराबाट, मुख धोएँ।
पोतारो पिँढीको डिलमा राखेँ। झट्टपट्ट एक हातले कुचो समातेँ। अनि भान्छातिर दगुरेँ।
यसो कुँचो लगाउन के लागेकी थिएँ। एक्कासि आमाको भनाइ याद आयो। पहिले आगो सल्काउनुपर्छ।
अगेना वरपर आधा बलेका चिसा–दाउरा छरिएका थिए, बाहिर गएँ। दाउराको हारबाट एक अँगालो दाउरा ताने। जाँदाजाँदै जाँतोको कुनामा भएका दुइटा मकैका खोइला अर्को हातले समातेँ। भित्र पसेँ। सन्जकी पन्छाएर दाउरा अगेनोका कुनातिर राखेँ। शिखामा झुन्ड्याइएको सलाई झिकेँ।
कुन सामान कहाँ छ भन्ने थाहा थिएन, हेर्दै जाँदा देखेँ। सन्दुकको कुनाबाट पानस झिकेँ। क्वार्र सलाई कोरेर पानस बालेँ। मकैको खोइलोमा पानसबाट अलिकति मट्टीतेल खन्याएर अगेनामा आगो झोसेँ, ह्वार्र बल्यो। माथिबाट दाउरा जोडजाड पारेँ।

काम यति छिटो भइरहेको थियो कि मानौँ म कुनै प्रतियोगितामा भाग लिइरहेकी थिएँ। फेरि च्याप्प कुचो समातेँ। बिहेको घर फोहोर हुने नै भैहाल्यो।
पाहुना र घरका मान्छे सुतिरहेकै थिए। पिँढी बढारेर भ्याएपछि हातमा पोतेरो समातेँ। सिल्भरको लोटाबाट पानी खनाएँ। दौडँदै पिँढीमुनिको मटकिलोेबाट दुई मुठी माटो झिकेर घोलेँ। पिँढी पोत्दा पहिलो खुड्किलोबाट सुरु गर्नुपर्छ भन्ने सिकाइएको थियो। अग्लो पिँढी पूर्वबाट पश्चिमसम्म वारपार लिप्दै भित्र पसेँ। दैलोठेलो पोत्दै चुल्होसम्म पोतेँ। उज्यालो रिमरिम हुँदै थियो। चियाको कित्ली र लोटा, अम्खोरा जुठेल्नामा लगेर तातो खरानीले मस्काएर झलल्ल पारेँ। चोखो पानी भरेँ र चिया बसालेँ।

जेठानी उठेर आँगन बढार्न थालिन्। पाहुनाहरू पनि नित्य कर्म सकेर आ–आफ्नो घर फर्किने सुरसार गर्दै थिएँ। मैले हिजोको पीर, चिन्ता, थकाइ, अनिद्रा, दुखाई आज कहाँ भाग्यो, पत्तो पाइनँ। जग्गेमा दुना, टपरी यता–उता मिल्किरहेकै थिए। बाहिर निस्केर पिँढीको डिलमा टुक्रक्क बसेँ। पूरै उज्यालो भइसकेको थियो। आँखाले भ्याइन्जेल वारपार सबैतिर नियाले। चारैतिर हरियाली छाएका अजंगका डाँडा लमतन्न परेर फैलिएका थिए। मादी नदी आफ्नै लयमा सुसेल्दै बगिरहेको थियो। मनमा अनेक भावना आउँदै र बिलाउँदै गर्न थाले– नयाँ ठाउँ, नयाँ चालचलन, रीतिरिवाज, नयाँ मान्छे, नयाँ विधिविधान, नयाँ घर, नौलो दुलाहा अनि म। मेरो भविष्य, मेरो सपनाको संसार। घर सम्हाल्नु छ मैले नयाँ परिवेशमा।

भाग्यका कुरा
‘मेरो त दैलो फेरियो, भाग्य फेरिएन।’
बेलाबेला मलाई फुपूले सुनाइरहनुहुन्थ्यो। म भने खिस्स हाँसेर टारिदिन्थे। चौध वर्ष नपुग्दै जन्मघरबाट कर्मघर गएकी मेरी फुपूका गुनासा धेरै छन्। माइतीमा आँखाले हेरेर नभ्याइन्जेल जग्गा–जमिन थियो, तर अहिले उनको नाउँमा औँलो डोब्ने ठाउँ छैन। घरमा बुहार्तन खेप्दै सन्तान हुर्काइन्, फुपाजु बेलैमा बिते, छोराछोरी विदेशमा छन्। उनको गुनासो छ, ‘म सधैं एक्ली।’

हामी जतिसुकै शिक्षित भए पनि भाग्यमा विश्वास गर्न छाडेका छैनौँ। भाग्य हुन्छ कि हुँदैन भन्नेमा म अझै स्पष्ट छैन। यसमा भने स्पष्ट छु, कर्म गरेर खाने हो, कर्म गर्न अवसर चाहिन्छ र यहाँ अवसर नपाउनेहरू धेरै छन्।

अवसरको राजनीति आफ्नै ठाउँमा छ। अर्कोतिर संसारका कैयौं छोरीले दैलोसँगै भाग्य फेरिने कल्पना गर्छन्, तर कतिको भाग्य फेरियो होला र ?

आमाले गराएका वाचा र फुपूका गुनासाहरू सम्झन्छु, आजको समाज नियाल्छु र आफ्नो बिहेको दिन सम्झन्छु। मेरी १८ वर्षे छोरी र म आफू १८ वर्षकी हुँदाको समय तुलना गर्छु।

बिहेको कुरा छिनिएदेखि मलाई ‘घर गर्ने’ कुराले सताउँथ्यो। साँच्ची, घर गर्ने कसरी होला ? म यो माटो (जन्मघर)मा हुर्कें, यहाँबाट उखेलिएर अन्तै सर्ने कसरी होला ? कोदोको बिउ, धानको बिउलाई पनि उखेलेर रोप्ने एउटा समय हुन्छ। कलिलैमा उखेलेर रोप्यो भने नसर्न सक्छ।

छोरीमा कति धेरै आत्मविश्वास, परिपक्वता देख्छु, तर मैले अझै त्यतिबेलाको आफूलाई छोरी जस्तो ठान्न सकेकी छैन। सायद छोरीले पाएको शिक्षा, पारिवारिक वातावरण, प्रविधिको युग सबै–सबैले हो कि ! म र छोरीले भोगेको समयमा खासै लामो अन्तराल छैन। मभन्दा अघिका चेली पुस्ताले कस्तो जीवन बाँचे भन्ने म कल्पना पनि गर्न सक्दिनँ।

आमा ! मैले जीवनका कैंयौं वसन्त पार गरेँ। आज पनि तिमीले खुवाएको कसम मनमा ताजै छ। तिम्री छोरीले आफ्ना हजारौं खुसीलाई कुल्चेर आफ्नो परिवारप्रतिको भूमिका अदम्य साहसका साथ निभाइरहेकी छ।

फुपू ! १८ वर्षको उमेरमा बिहे भए पनि तिम्री भदैनीले आफ्नो भाग्य आफ्नै कर्मले बनाएकी छ। बिहे गर्दैमा जीवन सकिने होइन, जीवन त बल्ल सुरु पो हुँदो रहेछ। मेरो मेहनत अनि तिम्रा ज्वाइँको साथ र सहयोगले सन्तोष र खुसी हाम्रा साथी बन्न सकेका छन्। तिमीले चिताएको सुन्दर बगैंचा जस्तो परिवार माया र प्रेमले धपक्क बलेको छ।

मेरो विवाहपछि हाम्रो समाजमा धेरै परिवर्तन आएका छन्। मैले दश घण्टा लगाएर हिँडेको बाटो आज एक डेढ घण्टामा पुग्न सकिने ग्राभेल कच्ची सडक बनेको छ। तर, ती गुल्जार मेरा माइती गाउँ निरश र एक्लिएर उजाड–उजाड बनेका छन्। पँधेरो र गल्लीहरू क्रमशः पुरिँदै गएका छन्। हाम्रा घरबारी र खोर रित्तै बाँझिएका छन्।

देशमा सूचना र प्रविधिले क्रान्ति ल्याइदिएको छ। आज महिना दिनअघि बिहे छिनेका दुलाहादुलहीले एकअर्काको सोच, सोख र रुचि बुझ्न फोन, भिडियो च्याट गर्न सक्छन्, भेट्न सक्छन्।

मुलुकको राजनीतिक व्यवस्था र चेतनाको स्तर बदलिएको छ। तर, आम रूपमा छोरीलाई हेर्ने दृष्टिकोणमा खासै परिवर्तन नआएको देख्दा कहिलेकाहीँ दिक्क लाग्छ। जतिसुकै शिक्षित, पढे–लेखेकी छोरी भए पनि घर धान्ने जिम्मेवारी उसकै थाप्लोमा थोपरिएको हुन्छ।

छोरीलाई अर्काको घरमा पठाउने जात, छोरीलाई सक्षम नबनाई सक्षम ज्वाइँ खोज्ने प्रवृत्ति अझै रोकिएको छैन, यसमा धेरै आयाम र कारण हुन सक्छन्। घर होस् या माइती, दुवै ठाउँमा छोरी वा बुहारीलाई कजाउने काइदा समय अनुसार विकास भएको छ। तर, कजाउन छाडिएको छैन। आज पनि सबै छोरीहरूमा खुसी, विनयशीलता, सहनशीलता, लगनशीलता र मेहनती गुण खोजिन्छ। यस्तो प्रवृत्ति कुलीन, शिक्षित वा अन्य परिवार, सबैमा आ–आफ्नै शैली र संस्कारका रूपमा देखिन्छन्। समाजको चेतनाको मापन शिक्षा हो भने साक्षरता दर ८० प्रतिशत पुगिसकेको देशमा आज पनि कैयौं छोरीहरू जन्मिन नपाउँदै भ्रूण हत्या गरिन्छन्।

छोरीको खुसी खोज्ने परिवार पनि यो समाजमा नभएका होइनन्। तर यो एकदम नगन्य अवस्थामा छ। मैले यो स्मृति लेखिरहँदा घर र अफिस दुवैतिर ध्यान दिनुपरेको छ। कम्तीमा मेरो त घर र अफिस चलेको छ। आजको बहसको विषय सबै गरिबीको रेखामुखिको उत्थान पनि हो। आज हामीसँग लोकतन्त्र, गणतन्त्र छ, अब हामी सबैको न्यायको बाटोमा हिँड्नु छ, बोल्नु छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad