८ वैशाख २०८१ शनिबार
समाज

पीडा पोख्दै द्वन्द्वका घाइते

इलाम - जंगलमा घाँस काट्न गएका बेला भेटिएको बेवारिसे बम खेलाउँदा १७ वर्षे सुरेन्द्र खत्रीले दुवै हात गुमाए। नाडीमुनि दुवै हात नभएका खत्रीको शरीर र आँखाभित्र बमका छर्रा अझै बाँकी छन्। उनी भन्छन्, ‘शल्यक्रिया गरेर छर्रा निकाल्दा आँखा नदेखिने र शरीरमा अन्य असर हुने डरले पीडा बोकेरै हिँडेको १३ वर्ष भयो।’

मंगला गाउँपालिका–२ म्याग्दी घर भएका खत्रीलाई २०६३ असार १२ जीवनकै कहालीलाग्दो दिन बनेर आयो। देशमा सशस्त्र द्वन्द्व चलिरहेकोसम्म त उनको बाल मस्तिष्कले खुट्याउँथ्यो तर घाँस काट्न गएका बेला भेटेको ‘आकर्षक’ वस्तु बम नै होला र जीवनभर आफू अपांग बन्नुपर्ला भनेर उनले सोचेका थिएनन्। खेलाउने क्रममा विस्फोट भएको बमले दुवै हातसँगै उनको होससमेत उडायो। ‘अस्पतालमा लामो उपचारपछि अर्धचेतमा फर्किंदा बायाँ हात गुमे पनि दायाँ त थियोजस्तो लागेको थियो,’ उनले त्यही अवस्मरणीय विगत सम्झिए, ‘दाहिने हात पनि नभएको थाहा पाएपछि त यतिसम्म पीडा भयो कि त्यसैको असर अहिलेसम्म बोकेर हिँड्नुपरेको छ।’

त्यतिबेला न उनी सशस्त्र द्वन्द्वरत कुनै पक्षमा थिए न द्वन्द्वसँग उनको कुनै साइनो सम्बन्ध नै थियो। तर त्यही द्वन्द्वले उनको शरीरको अंग मात्र होइन परिवारसमेत चकनाचुर बनाइदियो। ‘बमले हात गुमाएपछि पढाइ १० कक्षामै रोकियो, घर–परिवार पाल्ने जिम्मेवारी पूरा गर्न असहज भयो,’ उनले गहभरि आँसु पार्दै पीडा पोखे, ‘मैले काम गरेर पाल्न नसकेपछि दुई छोराछोरी भइसकेकी पत्नीले समेत मलाई छाडेर गइन्। त्यसपछि मुटुमा अझ तिखो सियो रोपिए झैं भयो। पीडा ओकल्ने ठाउँ कतै देखिनँ।’

‘मुटुमाथि ढुंगा राखेजस्तो’ भए पनि खत्री आफ्नोजस्तै पीडा बोकेका सशस्त्र द्वन्द्वका अन्य घाइतेको समेत कथा खोज्दै छन्। र, त्यस्ता घाइतेको कथा सुनाउँदै म्याग्दीबाट सुदूरपूर्वको इलाम आइपुगेका छन्। सशस्त्र द्वन्द्वका बेला द्वन्द्वरत कुनै पक्षमा आबद्ध नभएका तर द्वन्द्वकै असरले जीवनभर अपांग बन्न बाध्य १४ पीडितका प्रतिनिधि फोटोकथा बोकेर खत्री यहाँ आएका हुन्। सदरमुकामस्थित चोकबजारमा तस्बिरसँगै सम्बन्धित पीडितकै आवाजको अडियो दर्शकलाई सुनाउनेसमेत व्यवस्था मिलाइएको छ।

‘विशेषगरी बालबालिकालगायत वृद्धवृद्धासमेतलाई देशमा अब कहिल्यै त्यस्तो द्वन्द्व नहोस् भन्ने भावना विकास गर्न पीडितका कथा सुनाउँदै आएका हौं,’ खत्रीले सुनाए, ‘हामीले रोजेका १४ कथा त्यस्ता पीडितका हुन्, जो सशस्त्र द्वन्द्वमा कतै सामेल थिएनन् तर त्यसको सबैभन्दा गहिरो चोट उनीहरूमाथि नै परेको छ। र, म जस्तै उहाँहरूको शरीर जिउँदो देखिए पनि मृत्यु भएबराबर बाँच्नुपरेको छ।’

द्वन्द्वको समयमा मृत्यु र बेपत्ता भएका व्यक्तिका परिवारलाई राज्यले आंशिक सम्बोधन गरे पनि द्वन्द्वरत कुनै पक्षमा आबद्ध नभई घाइते भएकाको पीडा कसैले नसुनेको उनको गुनासो छ। ‘जो द्वन्द्वरत पक्षबाट टाढा थिए तर जीवन चलाउन नसक्नेगरी घाइते भए, उनीहरूमध्ये केही सीमितले पहुँचका भरमा उपचार र अन्य राहत पाए पनि ठूलो समूह पीडा बोकेरै बाँच्न बाध्य छ,’ अपांगता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालका अगुवासमेत रहेका खत्रीले भने, ‘राज्यले हामीजस्ता घाइते कति छन् भनेर खोजीसम्म गरेको छैन।’ उनले सशस्त्र द्वन्द्वको समयमा राखिएका बम विस्तृत शान्ति सम्झौता (२०६३ मंसिर ५) हुनुभन्दा पछि पड्किएर घाइते भएका व्यक्तिलाई पनि द्वन्द्वपीडितको सूचीमा नराखिएको बताए।

सशस्त्र द्वन्द्वमा घाइते भएका व्यक्ति करिब ९ हजारको संख्यामा रहे पनि उनीहरूलाई सरकारले सम्बोधन नगरेको सञ्जालले जनाएको छ।सञ्जालले हिंसात्मक गतिविधिबाट टाढा रहन र आफूजस्ता पीडितबारे सरकारको ध्यानाकर्षण गर्न देशव्यापी रूपमा अडियोसहितको फोटोकथा प्रदर्शनी गर्दैछ।

यसअघि संखुवासभामा सम्पन्न भइसकेको प्रदर्शनी दसैंअघि इलाम, विराटनगर, लहान, जनकपुर र रौतहटमा सम्पन्न गर्ने सञ्जालले जनाएको छ। ‘प्रदर्शनीसँगै ती स्थानका अपांग व्यक्तिसँग छलफल पनि गर्दै छौं,’ खत्रीले भने, ‘वास्तवमा हामीजस्ता पीडितको भावना सुन्ने कोही छैन, हामीले आफ्नो पीडा सुनाउने अवसरै पाएका छैनौं।’

सशस्त्र द्वन्द्वका पीडितको फोटोकथा हेर्न र उनीहरूको आवाज सुन्न बिहीबार चोकबजारमा विद्यार्थी, कर्मचारी, शिक्षक, व्यापारी, राजनीतिककर्मी, वृद्धवृद्धालगायत भेला भएका थिए। ‘पीडितकै मुखबाट त्यतिबेलाको पीडा सुन्दा आङ सिरिंग भएर आयो,’ पाँचथरको सराङडाँडाबाट आएर सदरमुकाम बसेकी ६५ वर्षीया सञ्चरानी लिम्बूले भनिन्, ‘अब देशमा यस्तो कहिल्यै नहोस्।’

प्रकाशित: ४ आश्विन २०७६ ०२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App