८ वैशाख २०८१ शनिबार
समाज

बाँसगढीमा पूर्णहिरा मावि उत्कृष्ट

बर्दिया – औसत जिपिएमा बाँसगढी नगरपालिकाले गरेको छनोटमा पूर्णहीरा माध्यमिक विद्यालय लक्षमणा उत्कृष्ट भएको छ । संविधान दिवसको अवसरमा बाँसगढी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा पूर्णहीरा मावि उत्कृष्ट भएको घोषणासहित नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । उत्कृष्ट भएबापत विद्यालयका प्रधानाध्यापक गोपाल सुवेदीलाई एक लाख रुपैयाँसहित प्रमाणपत्र प्रदान गरियो ।

बाँसगढी नगरपालिकामा १४ वटा सामुदायिक विद्यालय छन् । १४ वटा विद्यालयमा पूर्णहीरा मावि उत्कृष्ट भएको हो । एसइईामा बाँसगढी नगपालिकामा सबैभन्दा बढी औसत जिपिए (३ दशमलव ४) ल्याउने पूर्णहीरा माविका छात्र प्रकाश पाण्डेलाई पनि कार्यक्रममा सम्मान गरियो । यसैगरी छात्रातर्फ औसत जिपिए ल्याएकी पूर्णहीराकै प्रेरणा देवकोटालाई पनि सम्मान गरियो ।

२०७३ सालदेखि बाँसगढी नगरपालिकाले उत्कृष्ट विद्यालयलाई सम्मान गर्दै आएको छ । संविधान दिवसको अवसरमा उत्कृष्ट माविलाई सम्मान गरिँदै आएको छ । २०७३ सालदेखि पूर्णहीरा माविले उत्कृष्ट स्थान हासिल गर्दै आएको छ । पूर्णहीरा मावि २०४४ सालमा स्थापना भएको हो । उक्त विद्यालय नागरिक दैनिकका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीले आफ्ना आमा र बुवाको स्मृतिमा स्थापना गरेका थिए । विद्यालय स्थापनाकर्ता ज्ञवालीको पनि निधन भइसकेको छ ।

बाँसगढी नगरपालिकाले गरेको सम्मानले विद्यालय परिवार गौरवान्वित भएको प्रधानाध्यापक सुवेदीले बताए । ‘यो विद्यालय लगातार चार वर्ष उत्कृष्ट हुन सफल भएको छ,’ उनले भने, ‘शिक्षक, कर्मचारी, छात्र र छात्राको परिश्रमले विद्यालयको शिर उचो बनाएको छ ।’

त्यस्तै नगरपालिकाले विद्यार्थी संख्या बढाएका नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, विश्वज्योति आधारभूत माध्यामिक विद्यालय, शान्ति प्राथमिक विद्यालयलाई नगरपालिकाले एक लाख रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरेको छ । यस्तै संस्थागततर्फ बालज्योति आवासीय विद्यालयलाई पनि एकलाख रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा सामुदायिक विद्यालयमा छोराछोरी पढाउने शिक्षक, कर्मचारी, निजामती कर्मचारी र जनप्रतिनिधिलाई पनि नगरपालिकाले खादा ओढाएर सम्मान गरेको थियो ।

प्रकाशित: ४ आश्विन २०७६ ०२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App