coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘यात्री’ कवितामा बौद्ध दर्शन

महाकवि लक्ष्मीप्रसाद देवकोटालाई चिन्नेहरूले उनको ‘यात्री’ कवितालाई ख्याल गरेकै हुनुपर्छ। महाकाव्य, खण्डकाव्य, थुप्रै फुटकर कवितासँगै अन्य विधाका सर्जक देवकोटाको ‘यात्री’ कविता सर्वाधिक चर्चित छ।

यात्री कविताका सम्बन्धमा धेरैले भन्ने गरेको ‘मानवतावादी दर्शन’को सशक्त र मार्मिक अभिव्यक्तिप्रति यो स्तम्भकारको विमति छैन। तर एउटा प्रश्न छ– मानवतावाद कुनै मूर्त कुरा होइन। सबैले आ–आफ्नो विचार वा दर्शनलाई मानवतावादी नै भन्ने गर्छन्, तर ग्रहण गर्नेले कति कुरा कसरी लिने भन्ने महत्वपूर्ण हुन्छ। मानवतावाद मुखरित भएको कविता भनेर मात्रै पुग्दैन, कस्तो खालको मानवतावाद भन्ने प्रश्नमा पनि घोतलिनुपर्छ। ‘यात्री’ कवितालाई यहाँ बौद्धदर्शनको कसीमा राखेर पर्गेल्ने तथा निरुपण गर्ने प्रयास गरिन्छ।

गौतमबुद्ध (५६३–४८३ ई.पू.) ले ३५ वर्षको उमेरमा बुद्धत्व लाभ गरेको र त्यसउप्रान्त ४५ वर्षसम्म निरन्तर धर्म प्रवचन तथा संवाद गरी दिएको शिक्षापद नै आज बौद्ध धर्मदर्शनका रूपमा प्रतिष्ठापित छ। नेपाल तथा भारतमा प्रायशः बुद्ध र बौद्ध धर्मदर्शनको चर्चा गर्दा ‘मानव मात्रको कल्याणका लागि’ वा ‘मानवतावादका लागि’ भन्ने शब्दावलीको प्रयोग गर्ने गरेको पाइन्छ। तर बुद्धलाई मानवमा मात्रै सीमित गर्नु उचित छैन। बौद्ध दर्शनअनुसार मानव एउटा अवस्था विशेष हो। अनेकौं योनिमा जन्म लिने क्रममा मनुष्य योनिमा पनि जन्मिने हो। अघि अर्कै योनिमा भए पनि त्यसबाट च्यूत भएर मानवका रूपमा आएका हुन्। मृत्युपछि पुनः मान्छे नै अथवा अर्कै योनिमा जन्मन जाने र कर्मभोग गर्ने कुरामा बौद्ध धर्मदर्शनको मत दृढ छ। यसअनुसार एक सत्व (प्राणी) आफ्नो कर्मभोग अनुसार विभिन्न योनिमा घुमिरहनुपर्छ। अन्य योनि भन्नाले पशुपक्षी, जीवजन्तु मात्र नभएर देवयोनि तथा प्रेत योनिहरू पनि पर्छन्। र, पशुपक्षी लगायत योनि र मनुष्य योनि पृथक् नभएर सत्वहरूको अलग–अलग रूप हुन् भनेर बुझ्नुपर्छ। बुद्धले मानवका लागि मात्रै नभएर ती जम्मै सत्वका हितका लागि धर्म देशना गरेको भन्दा कुरा अझ स्पष्ट होला। प्राणी जन्म र मृत्युको चक्र अर्थात् भवचक्रमा घुमिरहेको र अनेकौं योनि ग्रहण गर्दै जन्म र पुनर्जन्ममा पिल्सिरहेको अवस्थालाई नै बुद्धले दुःख भनेका हुन्। यही दुःखबाट मुक्ति पाउनु नै बौद्ध धर्मदर्शनको एक मात्र उद्देश्य हो। मुक्तिका लागि मनुष्य योनिमा बढी सम्भावना भएकाले यो ‘क्षणसम्पद’ले युक्त भएको मानिन्छ। जन्म र मृत्यको चक्रबाट मुक्त भई अर्हत् हुने अथवा बोधिसत्वको आदर्शलाई आत्मसात् गरी बोधिचर्या गर्दै स्वयं बुद्ध हुने भन्ने कुराको निक्र्योल पनि मुनष्य योनिमा नै निर्धारण गर्ने हुन्। यस प्रकार अन्य योनिभन्दा मनुष्य योनिलाई बढी महत्व दिइनुको कारण स्पष्ट हुन्छ।

‘यात्री’ कवितामा मनुष्य देहलाई एउटा मन्दिरको रूपमा कल्पना गरिएको छ। यो कविता सम्भवतः शिवरात्रिका लागि भारतबाट आएका तीर्थयात्रुलाई लक्षित गरेर लेखेको हुनुपर्छ। कवितामा सिद्ध लक्ष्मीकराको शिक्षा प्रतिविम्बित भएको छ। उनले पनि मानिसको शरीरलाई मन्दिरकै रूपमा लिएको पाइन्छ।

बुद्धद्वारा देशित धर्मदर्शनलाई उनीपछिका अनेकौं आचार्यले विभिन्न दृष्टिकोणबाट व्याख्या विश्लेषण गर्ने गरेको पाइन्छ। बुद्धको महापरिनिर्वाणको सय वर्षपछि संघमा ठूलो विवाद निस्केको र अन्ततः स्थविरवाद र महासांघिक गरी दुई सम्प्रदाय छुट्टिएको कुरामा विवाद छैन। सामान्यतः यसलाई विनयसम्बन्धी विवाद भनेर अथ्र्याउने गरेको पाइन्छ। तर, यही प्रसङ्गलाई अलि गहिरिएर अध्ययन गर्दा विनयसम्बन्धी बाहेक दर्शनमै गम्भीर प्रश्न उठेको र मतैक्य हुन नसक्दा सम्प्रदाय नै विभक्त भएको देख्न सकिन्छ। यो विभाजनलाई नकारात्मक र दुःखदायी घटनाका रुपमा लिनेहरूको आफ्नो तर्क होला, तर यसैलाई बौद्धदर्शनको ऐतिहासिक विकासक्रम वा व्यावहारिक प्रयोगको रुपमा पनि लिन नसकिने होइन। वेद, कुरान, बाइबल लगायत धर्मग्रन्थमा प्रश्न उठाउन पाइँदैन र परमसत्ताको वचन भनी आज्ञाकारी भई चुपचाप पालना गर्नुबाहेक अर्को विकल्प हुँदैन। तर बुद्धले आफूद्वारा देशित धर्मको परीक्षण सुनारले सुन जाँचेजस्तै जाँच्न र खुला रूपमा छलफल गर्न पूर्ण स्वतन्त्रताको प्रत्याभूति दिएका छन्। अझ, ठीक लागे मात्र यसलाई ग्रहण गर्न भनेका छन्। अर्थात् आस्था, विश्वास, श्रद्धा वा डरत्रासका आधारमा बौद्ध धर्मदर्शनलाई अपनाउनुपर्दैन। बुद्धले दिएको यो स्वतन्त्रतालाई बौद्धले आत्मसात् गरेको पाइन्छ र यस क्रममा बुद्धका शिक्षालाई अनेक कोणबाट हेर्ने, समय सापेक्ष प्रस्तुत गर्ने तथा व्याख्या गर्ने क्रममा आचार्यहरूबीच अनेकौं मतभिन्नता देखापरेको बुझ्नुपर्दछ। अर्को सय वर्षभित्र अर्थात् इसापूर्व तेस्रो शताब्दीसम्म १८ निकायको विकास भइसकेको थियो। त्यसपछि पनि यो क्रम बढ्दै ईश्वी सम्वतको सुरुतिर आउँदासम्म सम्प्रदायहरूको उदय वा विलय तथा एकआपसमा मिल्ने हुँदै अन्ततः विकास भएको एउटा बौद्ध दर्शन वा निकाय हो– महायान। महायान शाखाबाटै बज्रयानको विकास भयो। बौद्ध धर्मदर्शनको यो साढे दुई हजार वर्षको यात्रामा रमाइलो पक्ष सम्प्रदायहरू एक–आपसमा बाझे पनि बुद्धको मूलभूत दर्शनको विपरीत भने गएनन्। मानवताकै सवालमा पनि कुरा एउटै छ। महाकवि देवकोटाको ‘यात्री’ कवितालाई यहाँ बज्रयान बौद्ध धर्मअन्तर्गत देखापरेका ८४ सिद्धमध्ये ‘लक्ष्मीकरा’को चश्माबाट हेर्न खोजेको छु।

बज्रयान बौद्ध धर्मको इतिहासमा अनेकौं सिद्धहरूको नाम आउँछ, जसमध्ये ८४ जनालाई विशेष मानिन्छ। तीमध्ये एक हुन्, राजा इन्द्रभूति। तिब्बतमा अत्यन्तै आदरसत्कार गरिने आचार्य पद्मसंभव यिनैको दरबारमा हुर्केका थिए। अर्थात्, यिनलाई उनको धर्मपिता पनि भन्न सकिन्छ। यिनै सिद्धका एक छोरी हुन् लक्ष्मीकरा। गृहस्थ जीवन त्यागी लक्ष्मीकरा भिक्षुणी भएकी थिइन्। र, साधनाका क्रममा उनले अनेकौं हन्डर मात्रै खाइनन्। भनिन्छ, कुष्ठरोगको सिकार पनि भइन्। जस्तोसुकै आपत्विपत् आइलाग्दा पनि उनले साधना पथबाट कहिल्यै हरेस खाइनन् र अन्ततः सिद्धि प्राप्त भयो।

कतिपय धर्मदर्शनले मानव शरीरलाई तुच्छ मानेर अशुद्धिहरूको पोको पनि भनेको पाइन्छ। देहलाई तड्पाउनुपर्छ, अनि मात्र साधना सिद्ध हुन्छ र मोक्ष प्राप्त हुन्छ भन्ने मान्यता उनीहरूको पाइन्छ। उनीहरूका अनुसार आत्मा र परमात्मा नै ठूलो हो। मानव देह केही होइन, तर आत्मा भन्ने कुरा यही देहमा वास गर्ने विश्वास गर्दछन्। देहको मृत्युपछि आत्मा उडेर जान्छ र अरु नै शरीरमा प्रवेश गर्ने विश्वास लिन्छन्। यस अवस्थामा आत्माको विश्वासलाई बढी र देहलाई कम महत्व दिनु स्वाभाविक हो। अझ जैन धर्ममा ‘कायोत्सर्ग’लाई आदर्श मानिन्छ। भारतीय इतिहासमा मौर्य साम्राज्यको स्थापना गर्ने सम्राट चन्द्रगुप्त मौर्य जैन धर्मका थिए र जीवनको अन्तिम अवस्थामा राजपात छाडेर एकान्तमा बसी कायोत्सर्ग गरेका थिए। शरीरलाई सुकाउँदै लाने र अन्ततः मृत्युवरण गर्ने अभ्यास कायोत्सर्ग हो।

तर, सिद्ध लक्ष्मीकराले मानव देहलाई अत्यन्तै महत्व दिएको पाइन्छ। मानव शरीरको महत्वबारे व्याख्यानमा कतिसम्म भनेको पाइन्छ भने, यो पुज्य पनि हो। काठमाडौंको नेवार समाजमा ‘म्हपूजा’ भनेर वर्षमा एकपल्ट गरिने शरीर पूजामा सिद्ध लक्ष्मीकराकै प्रभाव हो कि जस्तो पनि लाग्छ। नेवार अध्ययनका लागि यो एउटा राम्रो प्रश्न हुन सक्छ। लक्ष्मीकरा काठमाडौं आएको तथ्य पाइँदैन, तर उनको सानिध्यमा बसी विद्याध्ययन गरी फर्केका बज्राचार्यहरूको प्रभाव नेवार समाजमा व्याप्त रहेको कुरामा ध्यान दिनुपर्छ। लक्ष्मीकलाको शिष्य परम्परा अहिलेसम्म पनि चलिरहेकै पाइन्छ। मानव शरीरलाई महत्व दिनु लक्ष्मीकराको मौलिक विचार नभएर बुद्धबाटै निसृत शिक्षाका रूपमा बुझ्नुपर्छ। बुद्धले आफ्नो शिक्षामा मानव शरीरलाई पूर्वजन्ममा गरेको कुशल वा अकुशल कर्मको भोग गर्ने तथा यही सोही जन्म वा पछिको जन्मका लागि पुण्य सञ्चय गर्ने अवसरका रूपमा लिएको पाइन्छ। यही भएर बौद्ध धर्ममा आत्महत्या गर्नुलाई ठूलो पापको रुपमा लिइन्छ।

‘यात्री’ कवितामा मनुष्य देहलाई एउटा मन्दिरको रूपमा कल्पना गरिएको छ। काठमाडौबाट चिट्लाङ् जाँदा गाउँ प्रवेश गर्ने ठाउँमा रहेको ढुंगेधारामा बसेर लेखेको यो कविता सम्भवतः शिवरात्रिका लागि भारतबाट आएका तीर्थयात्रुलाई लक्षित गरेर लेखेको हुनुपर्छ। कवितामा सिद्ध लक्ष्मीकराको शिक्षा प्रतिविम्बित भएको छ। उनले पनि मानिसको शरीरलाई मन्दिरकै रूपमा लिएको पाइन्छ। मन्दिरका अवयवहरू भएजस्तै शरीरका अवयवको पनि वर्णन गर्दै पुज्य भनेको पाइन्छ।

‘कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो ?’ भन्ने प्रश्न मात्रै गर्दैनन् महाकवि देवकोटा, ‘फर्क हे फर्क, जाऊ समाऊ मानिसहरूको पाउ, मलहम लगाउ आर्तहरूको चहराइरहेको घाउ’ पनि भन्छन्। यस पंक्तिमा करुणाको भाव ओतप्रोत भएको छ। बौद्ध दर्शनमा मैत्री, करुणा, मुदिता र उपेक्षालाई ‘चुतब्रह्म विहार’को रूपमा लिन्छन् र कुनै पनि बौद्ध धर्मावलम्बीले यी चार कुरालाई आन्तरिक रूपमा विकास नगरी साधनाको पथमा अगाडि बढाउनु असम्भव छ। बुद्ध र बौद्धदर्शन त अनिश्वरवादी हुन्, यस कवितामा ईश्वरका कुरा आएको छ भनेर प्रतिवाद पनि गर्न सकिएला। तर, ध्यानमा राख्नुपर्ने कुरा स्वयं देवकोटाले व्यक्त गरेको ईश्वर र परम्परागत मान्यताअनुसारको ईश्वरमा आकाशपातालको फरक छ। महाकवि देवकोटालाई पनि बौद्ध दर्शनअनुसारकै अनिश्वरवादी भन्न सकिने ठाउँ प्रशस्त छ। महाकविले यहाँ ईश्वर भनेर प्रतीकका रूपमा मात्रै लिएका छन्, यस बाहेक यसले अन्य अर्थ बोक्दैन।

महाकवि देवकोटाले कहीँकतै लक्ष्मीकरालाई प्रत्यक्ष रूपमा वा अप्रत्यक्ष रूपमा पढेको हुनुपर्छ। अथवा गौतम बुद्धका धर्मदर्शनसम्बन्धी ज्ञान सोझै पढेको हुनु पनि धेरै सम्भव छ। उनलाई मानवतावादी कविका रूपमा चिन्ने र चिनाउने त पुरानै कुरा भयो। मानवतावादमा पनि बौद्ध दर्शनबाट उनी बढी प्रभावित भएको कुरा देखिन आयो। गौतम बुद्धको जीवनचरित्रलाई लिएर देवकोटाले वि.सं. २००२–२००३ तिर ‘सत्यभास’ अथवा ‘बुद्धचरित’ शीर्षकमा महाकाव्य लेख्न थालिसकेको भए पनि सो कार्य पूर्ण हुन पाएन। अपूर्ण नै सही, पाण्डुलिपि कहीँ छ कि ? थाहा भएन। बुद्धमाथि महाकाव्य नै लेख्न सुरु गरेका महाकवि देवकोटा बुद्धका दर्शनबाट प्रभावित भएनन् भन्न सकिन्न। यस अर्थमा देवकोटा साहित्यको परिशीलन गर्दा बौद्ध दर्शनको आँखाबाट पनि पर्गेल्ने अभ्यास थालनी गर्नुपर्छ।

प्रकाशित: ४ आश्विन २०७६ ०२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App