coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘महाभोजमा दोहोरो चरित्र निभाउन प्रयाररत छु’

रमेश बुढाथोकी लगायत अन्य कलाकार, 'महाभाेज' नाटकमा अभिनय गर्दै।

रंगमञ्च, टेलिसिरियल, फिल्म क्षेत्रमा स्थापित नाम हो, अभिनेता रमेश बुढाथोकी। उनी पछिल्लो ४० वर्षदेखि नेपाली कला क्षेत्रमा सक्रिय छन्।

रमेश नाटकबाटै उदाएका हुन्। जन्मघर विराटनगरमा छँदै (०३५ सालतिर) दियालो समूहसँग आबद्ध भएर उनी रंगमञ्च क्षेत्रमा लागेका थिए। त्यतिबेला विराटनगरको सभागृहमा नाटक देखाइन्थ्यो। दुई वर्षजति विराटनगरमा रंगकर्म गरेर उनी काठमाडौं आए र प्रज्ञा प्रतिष्ठानबाट एक वर्षे नाटकको तालिम लिए। त्यसपछि नाटक, टेलिसिरियल हुँदै फिल्ममा सक्रिय रहे। उनले ६ दर्जनजति नेपाली चलचित्रमा अभिनय गरेका छन्, उनले निर्देशन गरेका ११ वटा फिल्म प्रदर्शन भइसकेका छन्, त्यस्तै टेलिसिरियलका १२ सयजति भागमा काम गरेका छन्।

अहिले भने उनी पाँच वर्षपछि नाटकमा फर्केका हुन्। काठमाडौं, अनामनगरस्थित मण्डला थियटरमा मञ्चन भइरहेको नाटक ‘महाभोज’मा उनी प्रमुख भूमिकामा छन्। भारतीय लेखिका मन्नु भण्डारीकृत नाटक महाभोजलाई विप्लव प्रतीकले अनुवाद गरेका छन् भने अनुप बरालको निर्देशन रहेको छ।

एउटा चरित्रबाट अर्को चरित्रमा एकैचोटि आफूलाई बदल्दा त्यसलाई दर्शकले स्विकार्नुभयो भने त्यही नै एउटा कलाकारका लागि चरम सन्तुष्टि हो।

यसअघि उनले अनुदित नाटक सरकारी निरीक्षक (इन्स्पेक्टर जनरल) गरेका थिए। यो नाटक पनि १५ वर्षको अन्तरालमा गरेका थिए।
प्रस्तुत छ, उनले ‘महाभोज’मा निभाएको चरित्रसँग सम्बन्धित वार्ता :

महाभोजमा यहाँले निभाएको चरित्र कस्तो हो ?
यसमा मैले एउटा धूर्त राजनीतिक खेलाडी ‘रमेशविक्रम’को भूमिका निभाएको छु। रमेशविक्रमले असल नेताको नकाब लगाएको छ, तर ऊ भित्रबाट खराब छ। ऊ आफ्नो स्वार्थका लागि न्याय–अन्याय, सही–गलत केही नभनेर जे पनि गर्न तयार हुन्छ।

आजको हाम्रो राजनीति, नेताहरुको प्रवृत्ति र तपाईंले नाटकमा निभाएको भूमिकाबीच के कति तालमेल वा अन्तर पाउनुहुन्छ ?
हुन त यो नाटकको कथावस्तु मन्नु भण्डारीले आजभन्दा ४० वर्षअघि लेखेकी हुन्। यो राजनीतिक विषयवस्तुमाथि लेखिएको गम्भीर खालको कृति हो।

यद्यपि, यो नाटक हाम्रो आजको राजनीतिक अवस्थासँग सान्दर्भिक भएको देखिन्छ। हाम्रा नेतामा देखिएको प्रवृत्तिलाई यसले उजागर गरेजस्तो लाग्छ। आज हाम्रो देश संघीयतामा गइसक्दा पनि राजनीतिक चतुर खेलाडीहरुले कसरी जनतालाईभोट बैंक र कार्यकर्ताको रुपमा प्रयोग गर्छन्, कसरी शोषण गर्छन् भन्ने यस नाटकमा देखाइएको छ।

विशेषतः जनतालाई प्रयोग गरेर आफ्नो दुनो सोझ्याउने, स्वार्थ पूरा गर्ने नेताहरुको जुन मनोवृत्ति छ, त्यसलाई टड्कारो रूपमा नंग्याउने कार्य यस नाटकले गरेको छ।

यो नाटक बिसु भन्ने दलित नेताको हत्यापछि सुरु हुन्छ। मिडिया, पुलिस र नेताहरु आ–आफ्नो स्वार्थ अनुकूल उसको लासमाथि खेल्छन्, जुन हाम्रा पछिल्ला हत्या–हिंसाका घटना, त्यसमा प्रहरी छानबिनका कुरासँग मेल खाएको जस्तो लाग्छ।  
आजको हाम्रो राजनीतिक, सामाजिक अवस्था, दलित–शोषित, मजदुरका कुरा यस नाटकले उठाएको छ।

नाटकमा दोहोरो चरित्रको भूमिका निभाउनुभएको छ, एकचोटि असलबाट खराब छविमा परिवर्तन हुनुपर्ने एउटा गज्जबको दृश्य छ, त्यसो गर्न कति मिहिनेत गर्नुप-यो ?
मैले निभाएको चरित्र अलि जटिल र चुनौतीपूर्ण छ। भित्री रुपएउटा भए पनि बाहिर अर्कैै देखाउनुपर्छ र एकैचोटि आफूलाई बदल्नुपर्छ ।

जहाँनेर मैले खराब नेताको वास्तविक रूप देखाउनुपर्नेछ, त्यहाँनेर केही नाटकीय परिवर्तन ल्याउनुपर्ने निर्देशकको कुरा थियो। एकातिर सुरुदेखि आफूलाई शान्तिप्रेमी, न्यायप्रेमी र आदर्शवादी प्रकृतिको नेताहुँ भनी प्रमाणित गर्नुपर्ने चुनौती छ। अर्कोतिर,एकैचोटि भावभंगिमा, आवाज, व्यवहारमा परिवर्तन ल्याएर आफ्नो वास्तविक रुप देखाउनुपर्छ, अर्थात् खराब नेता प्रमाणित गर्नुपर्छ। यसरी दोहोरो चरित्र निभाउन मलाई निकै चुनौती छ र आनन्द पनि यहीँनेर छ।

यसमा मैले सकेको प्रयास गरेको छु। धेरैले मनपराएको प्रतिक्रिया दिनुभएको छ। एउटा चरित्रबाट अर्को चरित्रमा एकैचोटि आफूलाई बदल्दा त्यसलाई दर्शकले स्विकार्नुभयो भने त्यही नै एउटा कलाकारका लागि चरम सन्तुष्टि हो।
प्रस्तुति : ध्रुवसत्य परियार

प्रकाशित: ४ आश्विन २०७६ ०१:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App