७ वैशाख २०८१ शुक्रबार
समाज

ग्यास र हवाई इन्धनको मूल्य घट्यो

काठमाडाैं- नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो। 

अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर कायम गरिएको छ । मूल्य घटेपछि ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ३५० कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। 
 
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य केही घटेको छ। सेप्टेम्बर १ मा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य घटेर आएको थियो। अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य समायोजन भएसँगै नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन टेवा पुग्ने निगमले विश्वास लिएको छ।
 
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको समयमा जनतालाई राहत दिन ग्यासको मूल्य घटाइने बताउनुभएको थियो। डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य भने यथावत राखिएको छ। निगमले भारतबाट पाइपलाइनबाट इन्धन भित्र्याउन शुरु गरेकै दिन डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको थियो। रासस

प्रकाशित: ३ आश्विन २०७६ १६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App