coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरिया,जापानी कुटनीतिज्ञहरुबीच वार्ता

सियोल- दक्षिण कोरिया र जापानका उच्च कुटनीतिक तहमा कोरियाली युद्धताकाको जबर्जस्ती श्रम र द्विपक्षीय व्यापार विवादका विषयमा टोकियोमा शुक्रबार वार्ता भएको छ।    

सियोलस्थित विदेश मन्त्रालयका अनुसार दक्षिण कोरियाली विदेश मन्त्रालयका एसिया तथा प्रशान्त मामिलाका महानिर्देशक किम जङ–हान र उनका जापानी समकक्षी शिगेकी ताकिजाकीबीच भेटवार्ता भएको हो। उनीहरुबीच दोस्रो विश्वयुद्धताकाको जबर्जस्ती श्रम समेतका आपसी हितका विषयमा छलफल भएको थियो।    

किमले ताकिजाकीलाई युद्धपीडितका बारेमा दक्षिण कोरियाली धारणा अवगत गराएको थियो। कोरियाली द्वीपमा सन् १९१०–१९४५ सम्म रहेको जापानी उपनिवेशका क्रममा बिना पारिश्रमिक ठूलो संख्यामा कोरियालीलाई काममा लगाइएको र त्यसबापत पीडितलाई आजसम्म क्षतिपूर्ति नदिइएको आरोप दक्षिण कोरियाको छ।     

जापानले भने सन् १९६५ मा सम्पन्न सन्धिमार्फत सबै औपनिवेशिक समयका विवादहरु टुङ्गिएको दाबी गर्दै आइरहेको छ। यो सन्धिपछि दुबै मुलुकबीच कुटनीतिक सम्बन्ध स्थापना भएको थियो। तर दक्षिण कोरियाले पीडित व्यक्तिको अधिकार माग्ने हक सुरक्षित रहेको जनाउँदै आएको छ।    

यसैगरी, कोरियाली दूतले सियोल विरुद्ध लगाइएका निर्यात प्रतिबन्धहरु फुकुवा गर्न आग्रह गरेका छन्। दुबै मुलुकबीच व्यापारमा देखिएका गतिरोध अन्त्य गर्न संवाद नै उपयुक्त विकल्प रहेको पनि कोरियाली दूतले बताएका छन्।   

जापानले गत जुलाईमा तीन किसिमका प्रमुख सामग्रीहरु कोरिया निकासी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। यी सामग्रीहरु मेमोरी चिप्स र डिस्प्ले प्यानल बनाउन प्रयोग हुन्छ। कोरियाबाट निकासी हुने इलेक्ट्रोनिक सामग्रीहरु तिनै जापानी चिप्समा टिकेको कोरियाको भनाई छ।    

टोकियोले विश्वासिलो व्यापारिक साझेदारको सूचीबाट पनि कोरियालाई हटाएको थियो। प्रतिशोध स्वरुप कोरियाले पनि जापानलाई विश्वासिलो व्यापारिक साझेदारको सूचीबाट हटाएको थियो।     

किम र ताकिजाकी दुबैले संवाद र छलफललाई निरन्तरता दिने सहमति गरेका छन्। रासस

प्रकाशित: ३ आश्विन २०७६ ०९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App