coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नौवास्तामा औद्योगिक क्षेत्रको निर्माण हुने

बाँके– वैजनाथ गाउँपालिका– ३ नौवास्तामा स्थापना गरिने प्रदेशस्तरीय औद्यौगिक क्षेत्रको जग्गा विवाद समाधान भएपछि ५२५ बिघामा औद्यौगिक क्षेत्र निर्माण हुने भएको छ। त्यससँगै भौतिक पूर्वाधार निर्माणको बाटो खुलेको छ।

सरकारले औद्योगिक क्षेत्रका लागि छुट्याएको सो जग्गामा २०० भन्दाबढी स्थानीय घर बनाएर बसिरहेकाले औद्यौगिक क्षेत्रको भौतिक पूर्वाधार निर्माणलगायतको काम अघि बढ्न सकेको थिएन।

उक्त विवाद धेरैपटक समाधान गर्ने प्रयास गरिए पनि समाधान हुन नसकेकामा जिल्ला प्रशासन कार्यालयमा भएको पछिल्लो सर्वदलीय बैठकमा सो समस्या समाधान भएको हो। अब भौतिक पूर्वाधार निर्माणको काम शुरु गरिने औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले बताए। 

औद्योगिक क्षेत्रको जग्गामा रहेको २०८ घरसहित करीब २६८ परिवारलाई सोही स्थान नजिकको ३० बिघा क्षेत्रफलमा जग्गा दिएर सार्ने सर्वदलीय सहमति बनेपछि विवाद समाधान भएको अध्यक्ष बस्नेतले जानकारी दिए।

उनले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले छानबिन गरेर कसलाई कति जग्गा दिने भन्ने छिनोफानो गरेर जग्गा उपलब्ध गराउने सहमति बनेको बताए।  

औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि सो वरपरका स्थानीयले रोजगारी पाउनुका साथै अन्य विभिन्न व्यवसायसमेत गर्नसक्ने भएकाले नजिकै जग्गा पाएमा जाने बताएका थिए।

जग्गा विवादकै कारण करीब चार वर्षदेखि औद्योगिक क्षेत्र सञ्चालनको काम हुन नसकेकामा अब तीव्र गतिमा काम शुरु गर्नुपर्ने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल बैश्यले बताए। 

अबका केही महीनाभित्र उद्योगीलाई जग्गा उपलब्ध गराएर चार वर्षभित्र सम्पूर्ण निर्माण कार्य पुरा गर्ने योजना रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले औद्योगिक क्षेत्रको जग्गाभित्र घर बनाएर बसेका परिवारको उचित व्यवस्थापन गर्न सफल भएको जनाउँदै अब औद्योगिक क्षेत्र निर्माणको काम तीव्र पारिने बताए। प्रदेशस्तरीय सो औद्योगिक क्षेत्रले कम्तीमा ३० हजारलाई रोजगारी दिने बताइएको छ । रासस

प्रकाशित: ३ आश्विन २०७६ ०८:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App