थकाली ‘स्वाद’ मा कब्जा

शुक्रबार, ०३ असोज २०७६, १२ : ४८ सन्तोष पोखरेल

मिठो थकाली खाना खान कहाँ जाने होला ? पोखरा ओर्लनासाथ धेरैले सोध्ने प्रश्न हो यो । अझ आन्तरिक पर्यटकको मुखैमा झुन्डिएको छ, थकाली खानाको स्वाद । त्यसैले त पोखरा झर्नासाथ थकाली भान्छा चहार्न थाल्छन् । हवाईजहाज चढेर आउने आन्तरिक यात्रु त एकघण्टा भोक मारेर भए पनि काठमाडौंबाट उडेर पोखरा ओर्लेपछि बल्ल खाना खान थकाली भान्छाघरतिर हानिन्छन् ।

बारम्बार पोखरा घुमिरहने धेरै आन्तरिक पाहुनालाई थाहा पनि छ, पोखराका नाम कहलिएका थकाली भान्छाघर बारे । मोनालिसा, माइलीको थकाली, एयरपोर्ट थकाली, पोखरा थकाली किचन, मुस्ताङ थकाली, मन्त्र थकाली.....यस्तै यस्तै । यी बाहेक यहाँ चोकचोक र भित्री गल्लीमा समेत देखिन्छन् थकाली भान्छाघर । तीमध्ये केही साँच्चै थकाली समुदायले चलाएका हुन् भने केही थकालीको ‘ब्रान्ड’ बेचेर पाहुना तान्ने गरी सञ्चालनमा रहेका भान्छाघर हुन् ।

पोखरामा यति नै संख्यामा थकाली भान्छाघर छन् भन्ने यकिन छैन । लेकसाइडमा थकाली भान्छा चलाएका समीर शेरचन भन्छन्, ‘जहाँतहीँ थकाली भान्छाघर चलेका छन् । तीमध्ये केही साँच्चै थकाली समुदायले चलाएका हुन् । धेरैले थकालीको नाममा भान्छा चलाएका छन् । जसरी भए पनि थकालीको भान्छाको प्रचार भएको छ ।’ थकाली समुदायको नाममा जथाभावि भान्छाघर खोलिएको भन्दै बेलाबेला समाजमा कुरा उठ्ने गरे पनि यो सामान्य रहेको उनको भनाइ छ । ‘हामीले अरु विदेशी खाना बेच्न हुने, तर अरुले थकाली खाना बेच्नै नहुने भन्ने होइन,’ उनी भन्छन्, ‘तर, वास्तविक थकालीको भान्छा पस्किन सके त्यसले थप पहिचान कमाउँथ्यो भन्ने हाम्रो भनाइ हो, थकालीको ब्रान्ड नबिग्रोस भन्ने चाहेका हांै ।’

समीरको अनुभवमा थकाली समुदायले आफ्नो ब्रान्डलाई गोप्य राख्न पनि सक्दैन । पछिल्लो समय काम गर्ने जनशक्ति निकै नै कम छ । जनशक्ति अभावमा जो कोहीलाई भान्छामा छिराउनुपर्छ । भान्छा छिरेका कामदारले खाना पकाउन सिक्छन्, अनि अन्यत्र काम गर्न जान्छन् वा आफैँले भान्छाघर खोल्छन् । ‘थकाली भान्छामा खाना पकाएको मान्छेले बाहिर आफैँले खोलेर सञ्चालन गर्छ । जे भए पनि थकालीको ब्रान्ड बिक्री भएको छ,’ उनले भने, ‘देशविदेशमा पनि थकाली खानाले चर्चा बटुलेको छ ।’


...
हिमाली जिल्ला मुस्ताङमा थकाली जातिको बसोबास छ । त्यहाँको थाक सात सय क्षेत्र (थाकखोला) थकाली समुदायको बढी बसोबास भएको क्षेत्र हो । पोखरा थकाली किचनकी सञ्चालक सरिता शेरचनको अनुभवमा थाकखोलाका थकाली छरिएर बस्दा थकाली खानाको स्वाद पनि छरिएको हो । ‘झन्डै ६ हजार जनसंख्या (थकाली) माथिको विश्वास पनि हो । खासमा थकाली समुदाय खानामा निकै नै विश्वास गर्छन् । मिठो खानाको स्वाद कसैले चाखेको छ भने त्यो थकाली समुदायमै छ,’ उनले
भनिन्, ‘त्यही समुदायबाटै थकाली खानाको स्वाद सर्वत्र फैलिएको हो ।’

मुस्ताङको थाकखोला आसपासका थकालीले धान फलाएको अनुभव खासै गर्न पाएनन् । अहिले पनि हिमाली जिल्ला मुस्ताङमा अन्यत्रजस्तो धानखेती छैन । धानखेती गर्न नपाए पनि यो समुदायसँग धानको भातको स्वाद भने अचम्मकै छ । धान खेती गर्न नपाएपछि फापर उत्पादनको अनुभव भने उनीहरुसँग छ । त्यही फापरको ढिँडोमा सीप खन्याएका थकाली समुदायले पछि चामललाई हिमाली मौलिकतामा ढाल्न सफल भए । अनि थकाली ब्रान्डमा सबैतिर स्वाद पस्किन सके ।

‘धान फलाएको अनुभवले थकाली खाना तयार भएको होइन, यो त सबै सीपको करामत हो,’ उनले भनिन्, ‘हिजो फापरको ढिँडो स्वाद थपेका थियौं । अहिले फापरको साटो चामल जोडिएको छ ।’ झन्डै अढाई दशकदेखि थकाली ब्रान्डमा यो खानाले नाम कमाएको उनले बताइन् । पछिल्लो समय घुम्न आउने पाहुनामध्ये आन्तरिकले दिनमा कम्तीमा एकछाक थकाली खानाको स्वाद चाख्ने गर्छन् । थकाली भान्छाका लागि पाहुना पनि स्वदेशी नै बढी हुन् । विदेशी पाहुनालाई त थकाली भान्छाले ‘बोनस’ मान्दै आएका छन् । तर, विदेशीमा पनि कोरियन र चिनियाँ भने थकाली खाना रुचाउँछन् ।

मुस्ताङ सदरमुकाम जोमसोममा थकाली होटल संचालन गरिरहेकी मोहनकुमारी गौचनका अनुसार मुस्ताङीसँग अहिले पनि धान उत्पादनको उतिसारो अनुभव छैन । तर, पोखराबाट उकालेको चामलको स्वादले थकालीको खाना लोकप्रिय बनिरहेको छ । गौचनका अनुसार परम्परागत रुपमा थकाली समुदायको भान्छामा फापरको ढिँडो पाक्थ्यो । स्थानीयस्तरमा उत्पादन तरकारी, अचार, दाल, मासुसँग थकालीले ढिँडो खाँदै आएका थिए । तर, जब यो खाना बजार पस्न थाल्यो, अनि ढिँडोको साटो भात पस्किन थालियो । पछि त्यही भात नै थकालीको भान्छाको मूल खाना बन्न थाल्यो ।

‘थकाली समुदाय खाना पकाउन भनेपछि माहिर हुन्छ । मिठो खाना नै थकालीको पहिचान हो,’ गौचनले भनिन्, ‘पहिला ढिँडो खाने र खुवाउने थकालीले पछि भात खुवाउन थाले । चामलले नै फापरलाई विस्थापित गरेको हो । तर, अहिले फेरि फापरले चामल विस्थापित गर्न थालेको छ ।’ पहिला पहिला फापरको ढिँडो खाने त गरिब समुदायले भनेर हेयको दृष्टिले हेर्दै जाँदा ढिँडोको साटो भात खुवाउन थालेको उनले बताइन् । ‘हिजो त ढिँडो खाने भनेको गरिबले हो भन्ने थियो । भात खाने समुदाय धनी मानिन्थे,’ उनले भनिन्, ‘त्यही कारणले थकाली भान्छामा भात प्रवेश ग¥यो । तर, अहिले त्यही भान्छामा भातको साटो ढिँडोले महत्व पाउन थालेको छ ।’
...
थकाली खाना स–साना भट्टी पसलको कन्सेप्ट हो । यो खानासँग ‘स्वाद’ जोडिएको छ । जुन अहिले सहरीयामाझ निकै नै लोकप्रिय छ । बजारतिरको फेसन अहिले यति बढेको छ कि घरमा पाहुना आए भने थकाली खाना खान लैजाने चलन छ । थकाली खानाको स्वादले बजार लिन थालेको करिब अढाई दशक बित्न थालेको छ । सुरुमा निकै नै सानो आकारमा सुरु भएको थकाली खानाले अहिले मुख्य सहरमा स्वादमा कब्जा जमाइसकेको छ । ‘चिसो ठाउँको खाना भएकोले पनि यो स्वादिलो हुन्छ । त्यही भएर यसमा मन बसेको हो,’ पोखरा थकाली किचनकी शेरचन भन्छिन्, ‘चिसो ठाउँको खाना स्वादिलो हुन्छ ।’

थकालीको पहिचान नै खानासँग जोडिएको छ । ‘बिहान उठेपछि थकाली महिलाको ध्यान खानामा पुग्छ । कुन स्वादको खाना परिवारलाई खुवाउने भन्ने नै ध्यान हुन्छ,’ उनले सुनाइन्, ‘खानामा ध्यान दिने समुदाय नै थकाली हो ।’ थकाली समुदाय खानामा मिहिनेत गर्ने भएकोले पनि स्वादले सबैतिर चर्चा पाउने उनले बताइन् । ‘अरु समुदायका छोरी बुहारी जागिर, पठनपाठनमा बढी व्यस्त हुँदा थकाली समुदायका छोरी–बुहारी भने भान्छामा व्यस्त हुन्छन्,’ उनले भनिन् ।

थकाली खाना स्वादिलो बनाउन आवश्यक कच्चा पदार्थको पनि गुणस्तर हुनुपर्छ । त्यसबाहेक खाना पकाउने विषयमा कुनै कमजोरी हुनुहुँदैन । थकाली भान्छामा पाक्ने परिकारका धेरै सामग्री मुस्ताङबाटै झारिन्छ । थकाली भान्छामा पाक्ने मासको कालो दाल तनहुँ र धादिङबाट ल्याइन्छ । तर कालो र खैरो सिमी भने मुस्ताङबाटै झारिन्छ । त्यसबाहेक आलु, सिजनको बेलाको रायोका साग पनि मुस्ताङकै उत्पादन प्रयोग हुन्छ । फापरको पिठो पनि मुस्ताङबाट झारिन्छ । दालमा स्वाद थप्ने जिम्बु पनि माथि (मुस्ताङ) बाटै ल्याइन्छ ।

पछिल्लो समय थकाली खानाको स्वाद खस्किँदो छ । कारण–भान्छामा पाक्ने सामग्री नै गुणस्तरीय हुन छाडेका छन् । पहिलेको तुलनामा अहिले चामल, दाल, घ्यूतेल, तरकारी सबैको स्वाद पहिलेजस्तो छैन । खानामा प्रयोग गर्ने कच्चा पदार्थ नै पहिलेजस्तो गुणस्तरीय हुन छाडेको समीर बताउँछन् । ‘थकालीको स्वाद जोगाइराख्न निकै नै सकस छ । किनकि खाना स्वादिलो बनाउने कच्चा पदार्थ नै गुणस्तरीय भेटिँदैन,’ उनले भने, ‘हरेक वर्ष थकालीको स्वाद खस्किँदो छ । बजारमा सामान नै गतिलो पाइँदैन । जति मिहिनेत गरे पनि खाना मिठो हुँदैन ।’ उनले ३–४ वर्षको अन्तरमा बजारमा पाइने घ्यूतेलको गुणस्तर नै कमजोर रहेको बताए ।

दाल
सिमीको दाल (कालो) फलामे ताप्केमा पकाईन्छ । मासको कालो दाल पनि घिउ हालेर ताप्केमै पकाइन्छ । खैरो सिमीको दाल भने डेक्चीमा पकाउने चलन छ । कतिपयले मासको दाललाई प्रेसर कुकरमा पकाएर फलामे ताप्केमा खन्याएर डाडुले घोट्ने गर्छन् । घोटिएको दालमा अदुवा र नुन हालेर स्वादिलो बनाइन्छ । मासको दाल भने जिम्बुले झानिँदैन ।
तर, सिमीको दाल भने पाकेर घोटेपछि जिम्बुले झान्ने चलन छ । जिम्बुले झानेको दालको गन्ध टोलमै फैलिन्छ ।  थकाली खानामा रहर र मुसुरोको दाल पाक्दैन । थकाली भान्छामा भात र ढिँडो नभई ‘दाल’ लाई विशेष मानिन्छ । थकालीको भान्छा दालले जोगाएको छ । भात, ढिँडो, सिजनअनुसारको तरकारी र अचार सबैतिर एकै खालको हो । खानामा लसुन, टिम्बुरको छोप, मुला विशेष मानिन्छ ।

तारेको आलु
त्यस्तै तारेको आलु र टिम्बुर पनि थकालीको स्वादिलो परिकार हो । उसिनेको आलुलाई बोक्रा फ्याकेर टुक्रा पारिन्छ । आलुको टुक्रालाई मेथि पड्काएको तोरिको तातो तेलमा खन्याइन्छ । त्यसमा नुन, खुर्सानी, बेसार, टिम्बुरको धुलो हालिन्छ । टिम्बुरको धुलो भने धेरै हाल्नु हुँदैन, किनभने टिम्बुर धेरै खाँदा असर गर्छ ।  त्यसबाहेक सिजनअनुसारको तरकारी र साग थकालीका नियमित खाना हुन् ।

फापरको ढिँडो
थकाली भान्छाको पहिचान फापरको ढिँडोसँग पनि जोडिएको छ । थकाली भान्छामा कोदो र मकै चल्दैन । फापरको ढिँडो पनि दालसँग नभई मासुको स्वादिलो झोलसँग खाने चलन छ । मासुको झोल र ढिँडो अनि, त्यसमा लसुन, मुला र छोप अचार । ढिँडोमा तरकारी र दाल उत्ति खाने चलन छैन । तामाको भाँडोमा ढिँडो पकाउने चलन छ । तामाको बाक्लो ताप्केमा पानी उमाल्ने र त्यसमा फापरको पिठो खन्याइन्छ र ओडाल्ने (स्थानीय भाषा) गरिन्छ । ढिँडो पकाउँदा सानो आगोमा पकाउनुपर्छ । दाउराको आगोमा पकाउन पाए झनै राम्रो । तर, अहिले सहरमा ग्यासचुलोमा पकाइन्छ । लसुन, मुला, छोप र मासुको झोलसँग ढिँडो खाइन्छ । ढिँडोसँग सुकुटि खान पाए झनै स्वादिलो ।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad