कथा

देब्रे घुँडा

शुक्रबार, ०३ असोज २०७६, १० : ५६ विवश वस्ती

‘रातभरि राम्ररी सुत्न नै सकिनँ । घुँडाको समस्या फेरि बल्झिएजस्तो छ ।’ बिहानीपख आँखा उघार्नेबित्तिकै वृहत्ले आफ्नो पीडा पत्नीसामु बिसाए ।
‘सञ्चो नभए नजानु नि त ।’ सहानुभूति घोलिएका शब्द पत्नीले बिसाइन् र थपिन् फेरि, ‘आज आराम गर्नुस् । एक दुई दिनसम्म ठीक भएन भने डक्टरलाई देखाउन जानुपर्छ । मरिहत्ते नगर्नुस् ।’

‘हैन, बिस्तारै भए पनि जान्छु म । बरु केही सामान छोरालाई पनि बोकाएर लैजान्छु ।’ वृहत्ले पूर्वतिरका अग्ला–होचा डाँडातिर बृहत् दृष्टि बिसाउँदै भने । बादलका घना छटाहरु व्याप्त थिए । घामले अनुहार प्रदर्शन गर्ने कुनै सम्भावना देखिँदैनथ्यो । उद्विग्नतामा रुपान्तरित पत्नीको मुहारलाई नियाल्दै उनले थपे, ‘हैन, आज हाट जानै पर्छ । फुच्चेले पनि लुगा भएन भनेर करकर गरिरा’छ । त्यहीँ केरा बेचेरै भए पनि नयाँ लुगा किनिदिनै पर्छ ।’
वृहत् बाहिर निस्किए ।

पानीका मसिना थोपा निरन्तर खसिरहेका थिए । रातभरि परेको झरीले उज्यालो हुँदा पनि विश्राम लिने संकेत देखाइरहेको थिएन । आकाशको सिंगो वृत्तभरि कालो बादल सल्बलाइरहेको थियो र अझ घनघोर वर्षा हुने सम्भावना बढ्दै थियो ।
‘छाता छैन ?’ वृहत्ले सोधे ।
‘कहाँ हुनु ? असारमा एक्ले फाँटको रोपाइँमा जाँदा सिम्ले खोलाले बगाएको हैन र ? छातासँगै खाजा हालेको झोलासमेत बगायो नि ।’ केही समय रोकिएर पत्नीले केही सम्झेजस्तै गरी भनिन्, ‘अँ, प्लास्टिक छ नि । त्यसैले काम चलिहाल्छ नि । ठूलो पानी पर्‍यो भने त छाताले भन्दा प्लास्टिकले नै थेग्छ बरु । हावाले पनि उडाउँदैन ।’
वृहत्ले एउटा बोरामा केरा हाल्न थाल्यो र अर्को बोरामा भुइँकटहर, मेवा इत्यादि राख्यो । छोरा उठिसकेको थियो, अघि नै । उनले छोरालाई भने, ‘आज तिमी पनि हिँड, मैले मात्र सबै सामान बोक्न सक्दिनँ ।’

छोराले कुनै नाइँनास्ती गरेनन् । हाट जाने कुराले ऊ रोमाञ्चित समेत बन्यो । हाटको रमझम, मानिसको भीडभाड र मीठा–मीठा खानेकुराको स्वादप्रति ऊ अभ्यस्त भइसकेको थियो ।
वृहत् हिँड्न लाग्यो ।
पत्नीले सुझाव दिँदै भनिन्, ‘रातभरि पानी परेको छ, खोला बढेको होला । हात्तीगौंडाको जँघारबाट नतर्नु होला । मलाई नै २–३ पटक अत्याइसक्यो ।’
पत्नीको सुझावलाई उनले मनमनै ग्रहण गरे ।
००
प्लास्टिक ओढेका छन्, बाबु–छोरा दुवैले । दुवै चुपचाप हिँडिरहेका छन्, गन्तव्य पहिल्याउँदै । कहिले छोरा अघि हुन्छ, कहिले बाबु । एकोहोरो र चुपचाप दुवैले पाइला लम्काइरहेका छन् ।
एकाध वर्षयता वृहत्को दैनिकीमा आमूल परिवर्तन आएको छ । संसारलाई, समाजलाई र मान्छेहरुलाई परिवर्तन गर्न हिँडेका थिए, उनी । वर्षौंसम्म बन्दुकमा रमाएका उनी, जोशिला र उत्तेजक भाषण गर्ने उनी । अनेक विम्ब–संसारमा उनको जीवन गाथालाई उभ्याउन सकिन्छ । तर, अचेल भने उनी आफैँ परिवर्तित भएका छन् । विगतका धङधङीबाट उनी क्रमशः मुक्त हुँदैछन् । संसारमा पसिनाबाट सिर्जित आर्जनभन्दा ठूलो केही रहेनछ, त्यो जति परम यथार्थ अरु केही रहेनछ भन्ने तत्वज्ञान उनको मन मस्तिष्कमा लाहा छापझैं घुस्रिएको छ ।

विगततिर फर्किन मन नलाग्ने होइन उनलाई । फर्किउँ फर्किउँझैं लाग्छ विगततिर, विगतका विशाल झाडीहरुतिर । तर, विगतको ऐनामा आफ्नो रुप, रङ हेर्न उनलाई कताकता संकोच लाग्छ, हिनताबोधले नराम्ररी अँठ्याउँछ । अहिले त खण्डित भइसकेको छ, त्यो ऐना पनि, जहाँ उनी आफ्नो अनुहार अस्पष्ट, विभाजित र सौन्दर्यहीन मात्रै देख्छन् ।
‘बा, मलाई आजै किनिदिनुस् है ।’ छोराको स्वरसँगै उनी यथार्थको धरातलमा ओर्लिन पुगे । नभए अनेक तरंग र कल्पनाशीलताको बाक्लो झाडीमा उनी अल्मलिइरहेका थिए ।
‘के लुगा ?’
‘अँ । म त एउटा गज्जबको टिसर्ट किन्छु ।’ छोराले अनुहार उज्यालो पार्दै भन्यो ।
‘फेरि दसैंमा त म किन्दिनँ नि ।’     
‘एउटा पाइन्ट त...।’
‘अहिलेकै पाइन्टले काम चलिहाल्छ नि ।’
एकाएक छोराको अनुहार अँध्यारियो । छोराको अनुहार अँध्यारिएसँगै उनको अनुहारमा पनि उदासिनताका रङहरु पोतिन पुगे । नमज्जा लाग्यो उनलाई ।

बाटोमा हिँड्दा–हिँड्दै वृहत्लाई आफ्नो घुँडा नराम्ररी दुखेको प्रतीत भयो । झन्झन् दुख्न थाल्यो, घुँडा । ‘बस, एकछिन’ नजिकैको चौतारातिर औंल्याउँदै उनले छोरालाई भने र आफूले पनि सामान बिसाएर केही बेर थकान मेट्ने इच्छा देखाए । उनले एकोहोरो दुखिरहेको देब्रे घुँडातिर आँखा पुर्‍याए । आँखा मात्रै पुर्‍याएनन्, पीडा कम हुने अपेक्षामा घुँडा मुसार्न पनि थाले । तर, घुँडा भने झन्झन् दुखिरहेको थियो ।

...त्यो दिन उनी धेरै मुस्किलले बाँचेका थिए । सुनकोसीभन्दा दक्षिणतिरको सुरम्य अमारे गाउँमा उनीहरुले त्यो रात बिताइरहेका थिए । धेरै दिनको यात्राका कारण उनीसहित ८–९ जना निकै थकित थिए । त्यो रात त उनीहरुले आरामपूर्वक नै बिताए । तर, बिहान उठ्ने बित्तिकै भने एउटा अमूर्त खबर उनीहरुको कानमा पर्‍यो र त्यसले भयावह संकट निम्त्याउने सम्भावना प्रबल बन्दै थियो । कसैले खबर सुनाउँदै भने, ‘तपाईहरु यो ठाउँबाट हिँडि हाल्नुस् । पल्लो गाउँमा उनीहरु आइसकेका छन् । भरिसक तपाईहरु कोसीपारि जानुस् । कोसी पारी जानुभयो भने अझ सुरक्षित हुनु हुनेछ ।’

वृहत लगायत उनका सहयोद्धाहरु झट्पट्ट उठे र आफ्ना सामानहरु बोकेर हिँड्न थाले । एकजना सहयोद्धाले भने वीरता प्रदर्शन गर्न उचित ठान्यो र भन्यो, ‘किन डराउने हामी ? हामी यति धेरै छौं । हामीसँग हतियार पनि प्रशस्तै छन् । मलाई त पटक्कै डर लागेको छैन । म त तिनीहरुसँग भिड्न तयार छु ।’

‘यस्तो मुर्ख कुरा नगर्नुस् ।’ राता आँखा आफ्ना सहयोद्धातिर डुलाउँदै वृहत्ले भने, ‘अहिले साहस प्रदर्शन गर्ने बेला होइन । आवश्यक पर्दा मोर्चामा लड्ने कुरा बेग्लै हो । तर, भिड्ने चाहना राख्नु मूर्खताबाहेक अरु केही हुन सक्दैन ।’
घाम उदाउने तर्खरमा थियो । केही समयपछि नै उनीहरु सुनकोसीको किनारमा पुगे । सङ्लो आवरणमा बगिरहेको थियो, सुनकोसी । सुनकोसीको प्रवाह भने केही मत्थर नै थियो । वर्षादको बेला पानीले ढाकिने बगरहरु अचेल भने सेता पहिरन ओढेर सजिएका देखिन्थे ।

‘तपाईंहरु क–कसलाई पौडिन आउँछ ?’ वृहत्ले आफ्ना सहयोद्धाहरुका अनुहारको भाव अध्ययन गर्दै सोधे र आफूले लगाइरहेको जुत्ता, पाइन्ट र सर्ट फुकाल्न थाले ।
‘मलाई अलि आउँदैन ।’
‘चिन्ता नगर्नुस्, म तपाईंलाई तार्छु ।’
‘हामी यतै बसे हुँदैन र ? कोसी पारी नै जाने हो र ?’
‘कोसी पारि सुरक्षित होइन्छ । यतै बस्दा जे पनि घटना घट्न सक्छ । समयमै आफ्नो सुरक्षा गर्नु उचित हुनेछ ।’ सबै सहयोद्धाहरुको मनोभाव नियाल्दै वृहत्ले भने ।

‘यति बिहानै कोसीको पानी त निकै चिसो होला । के पौडिएर तर्न सकिएला ?’ एकजना सहयोद्धाले भने अनिच्छा प्रकट गर्दै भन्यो, ‘माघको जाडोमा कोसी तर्नुजति मुस्किल र कष्टप्रद काम अरु के हुनसक्ला ?’
‘यो बहस गर्ने बेला होइन, साथी हो ।’ वृहत् एकजनाले साथीलाई लिएर कोसीमा हेलिए । तर, पल्लो किनारमा पुग्ने–पुग्ने बेलामा भने साथीलाई तान्ने बेला उनको मुखबाट एक शब्द फुत्कियो– ‘ऐया’ ।

उनको देब्रे घुँडा नमज्जाले ठोक्किन पुग्यो, कोसी छेउको ढुंगामा । खुट्टा खोच्याउँदै उनी नजिकैको बगरमा आए र हेरे आफ्नो देब्रे घुँडालाई । घुँडा चोटले ग्रस्त थियो, पलाउन थाल्दै थियो रगत । उनी असैह्य पीडामा डुब्न थाले ।
‘म बोक्छु तपार्इंलाई ।’ एकजनाले वृहत्लाई बोक्न तम्सियो । तर, उनले अस्वीकार गर्दै भने, ‘पर्दैन । म आफैं हिँड्छु ।’
तर हिँड्न सकेनन् उनी । घुँडामा ठूलै चोट लाग्न पुगेको थियो र भित्री भागसम्म नै दख्खल पुगेको थियो, सायद । बगरको केही भागसम्म खुट्टा खोच्याउँदै हिँडे पनि उनमा झन्झन् पीडा थपिँदै गइरहेको थियो ।
‘म हिँड्न नसक्ने भएँ ।’ दक्षिणतिर लमतन्न पसारिएको क्षितिजमा आफ्ना निर्निमेष आँखा बिसाउँदै उनी बगरमा थचक्क बसे ।
...विगतको झोलुंगाबाट वृहत् निस्किए र वर्तमानको आँगनीमा हिँड्न थाले, टुकुटुकु ।
००
केही वर्षयता ग्वाङ खोलाको किनारनिर शनिबारे हाट लाग्न थालेको छ । खोलाको बगरभन्दा नजिकै छ, त्यो नयाँ हाट । पहिला थिएन, त्यहाँ हाट । काँस घारीले ढाकिएको, एउटा सुनसान बगर मात्रै थियो । पहिला अर्कै ठाउँमा लाग्थ्यो हाट र नाम नै थियो, ‘हाटे चौंर’ । तर, जनघनत्व बढ्दै गयो । त्यो सानो बजारले बिस्तारै लघु–सहरमा ढाल्दै लग्यो, आफूलाई । पहिला हाट लाग्ने थलोमा बसपार्क बन्यो, पार्क बन्यो । हाट हट्यो, त्यहाँबाट । अहिले खोला किनारमा हाट लाग्न थालेको छ ।

डेढ वर्ष । वृहत्ले औंला भाँचेरै गन्यो । उनले त्यो हाटमा आफ्ना खेतबारीमा उत्पादित फलफूल, सागपातहरु ल्याएर बेच्न थालेको डेढ वर्ष पुगिसकेछ । मौसम अनुसारका केरा, मेवा, भुँइकटहर, लिची बेचेर उनले आफ्नो पारिवारिक रथ हाँकिरहेका छन् । खेतबारीमा फलफूल नफल्दा सुकाइएको माछाको सिल पनि बेच्ने गरेका छन्, उनले । अर्थात् हाटमा जे चिज बिक्रीयोग्य छन्, सबै बेच्दै आएका छन् । बेच्न लायक चिजहरु बेच्न उनलाई कुनै संकोच लाग्दैन । किनभने, उनले जिन्दगीमा कहिल्यै नैतिकता बेचेनन्, इमान बेचेनन्, बेचेनन् निष्ठा ।

‘जानुस्, गएर भेट्नुस् । केही न केही त दिइहाल्छन् नि तपाईलाई । त्यत्रो वर्ष सँगै हिँड्नु भो । तपाईंले नै ज्यान बाजी थापेर उहाँलाई बचाउनुभएको होइन र ?’ एक साँझ खाना खाएर दलानमा बसिरहेका बेला उनका पत्नीले भनिन् ।
‘जान्नँ म, मरिगए पनि जान्नँ ।’
‘ढिपी नगर्नुस् न । एकपटक गएर त भेट्नुस् । आफ्नो अवस्थाबारे कुरा राख्नुस् । कतै न कतै, केही...।’ पत्नीको आग्रह पोखिइरहेको थियो ।
‘अहँ, म कसैसँग केही माग्दिनँ ।’
‘त्यसो नभन्नुस् ।’

‘अहिलेसम्म यी हात फैलाएर कसैसँग केही मागिएन । अब माग्दिनँ । कसैसँग माग्नु मेरो नैतिकताभन्दा विपरीतको कुरा हो । म आफ्नो इमानलाई धरौटीमा राखेर कसैसामु गिड्गिडाउँन जाँदिन ।’ वृहत्ले आफूलाई स्वाभिमानी तुल्याउँदै लगे, ‘बरु, नुन चाटेर बसुँला । तर, म कसैसामु हात पसार्न जादिनँ ।’
‘अब के गर्ने त ?’ पत्नी बड्बडाइन्, ‘यत्तिकै बसेर त समस्यामाथि झन् समस्या थपिँदै जान्छ । छोराछोरी बढ्दै छन् । उनीहरुको भविष्य...। मलाई त कहाली लागेर आउँछ ।’
‘मैले सोचिसकेको छु ।’
‘के सोच्नुभएको छ ?’

‘अब म उत्पादनमूलक कामहरुमा लाग्नेछु । त्यत्रा पाखा बारीहरु बाझै छन् । अब त्यहाँ फलफूल लगाउँछु । भुइँकटहर रोप्छु, केरा रोप्छु । खसी–बाख्राहरु पाल्छु । त्यहीं चिजहरु बेच्छु र घरव्यवहार धान्छु । अरु सबैले त्यही काम गर्दा हुन्छ भने मैले किन गर्न नहुने ? कसैसामु हात थाप्दिनँ, आफैँ पसिना बगाएर खान्छु ।’ वृहत्ले जोशिलो पाराले आफ्नो कुरा राखे र पत्नीको मुहारतिर दृष्टि फ्याँके ।
पत्नी अवाक् थिइन् ।

केही क्षण फिँजारिएको मौनतालाई चिर्दै पत्नीले भनिन्, ‘खेती किसानीतिर फर्किनु भयो भने तपाईको राजनीति त चौपट हुन्छ नि ।’ ‘भए होस् । मलाई कुनै पर्वाह छैन ।’ वृहत् आफ्नो अडानमै अडिई रहेँ, ‘मलाई छट्टु काम गर्न आउँदैन । ढाँट्न मन लाग्दैन । म सिधालाई कहिल्यै बांगो भन्न सक्दिनँ । त्यही कारण म कतिपटक पिल्सिएको छु, पछारिएको छु । त्यो कुरा तिम्ले पनि थाहा पाएकी नै छौ ।’
‘तर, खेतीपातिमै...।’

‘के हामीले खेती किसानी गर्नु हुँदैन भन्ने छ कतै ? अहिले लोकेन्द्रजी भकुन्डे बेंसीमा खेतीपाती गरेर बस्नुभएको छ । उहाँले फलाउनुभएको कालो धान कति महँगोमा बिक्री हुन्छ । दुईपटक सांसद र एकपटक मन्त्री भइसक्नुभएको उहाँलाई खेतीपाती गर्न कुनै शरम छैन भने हामीलाई चाहिँ के को लाज नि ? अब आफ्नै बारीमा फलफूल फलाउने हो, खसी बाख्रा पाल्ने हो र हाटमा लगेर मज्जाले बेच्ने हो ।’ वृहत् झन्झन् दृढ हुँदै गए ।
००
हाटभन्दा केही पर, पूर्वी दिशामा केही महिनायता एउटा नयाँ घर निर्माण हुँदै थियो । तीव्र गतिमा निर्माण हुँदै थियो, त्यो घर । खोलाको किनारभन्दा करिब सय फिट जति टाढा उक्त घर निर्माण हुँदै थियो । विशाल पाँच तले घर । त्यो घरमा हाटबाट १–२ मिनेटमा नै पुग्न सकिन्थ्यो ।
आज निर्माणाधीन त्यो घरमा वृहत्को आँखा पुगे, अनायासै । एकजना ग्राहकको अनुहारमा गढेर हेर्ने क्रममा त्यो घरतिर उनको आँखा डोरिएको थियो । निर्माणाधीन घर देख्नेबित्तिकै उनमा चासो र कौतूहलताले एक्कासि छोप्न थाल्यो । छेउकै एकजना पसलेलाई उनले कुनै भूमिका नबाँधी सोधे, ‘त्यत्रो घर केको लागि बन्दै रहेछ ? अस्पताल बनाउन लागेको हो कि क्या हो ?’
ती पसलेले भन्यो, ‘के को अस्पताल बन्थ्यो नि । होटल बन्दै गरेको हो, होटल ।’
‘त्यत्रो ठूलो होटल ?’ वृहत् चकित परे ।
‘तीन तारे होटल बनाउने रे नि त ।’

‘आखिर यो ठाउँको विकास पनि अब बिस्तारै हुने भो । बाटो बनेपछि त विकासले फड्को मार्ने रहेछ । यत्रा यत्रा होटल बन्न थाले ।’ वृहत्ले त्यही पसलेलाई सोधे, ‘कसले बनाउन लागेका रहेछन्, यति ठूलो होटल ?’
‘खै, सिलामेतिरको नेवारले भन्ने सुनेको हुँ । त्यल्ले पैसा चाहिँ टन्नै कमाएका रहेछन् । नभए त्यत्रो होटल बनाउने पैसा कहाँबाट आउँथ्यो ?’ ती पसलेले निमेषभरमै आफ्ना कुरा राख्यो ।

‘हो, ठूलै लगानी रहेछ ।’ निर्माणाधीन घरतिर पुनः नजर डुलाउँदै वृहत्ले भने र आफ्नो सामानतिर हेर्दै भने, ‘आज यो केरा त नबिक्लाजस्तो छ । अरु सबै बिके तर यति एउटा केरा मात्र बाँकी रह्यो । आ, नबिके केही फरक पर्दैन । चुवा बोटेमा शिव दाइको पसलमा लगेर छाडिदिनु पर्ला । उहाँले बेचिदिइ हाल्नु हुन्छ नि ।’

घाम, मरिन खोलामाथिको तारे भीरको डाँडा ताक्दै लम्किरहेको थियो । घाम डुबेपछि त झमक्कै पर्छ, साँझ । साँझ परेपछि जंगलको बाटो छिचोल्न गाह्रो हुन्छ । वृहत्ले हतारहतार बिक्री नभएको सामान बोरामा हाले र हाटबाट घरतिरको यात्रा तय गरे ।

हाटबाट फर्किँदै गर्दा उनको आँखा फेरि एकपटक त्यही निर्माणाधीन घरतिर नै पर्‍यो । त्यो घरतिर हेर्दै उनले मनमनै भने, ‘कति अग्लो बनाएका रहेछन्, आकाशै छोलाजस्तो ।’
वृहत् घर पुग्दा अँध्यारोले सर्वत्र आधिपत्य जमाइसकेको थियो । आकाशमा फाट्टफुट्ट ताराहरु चम्किन थालिसकेका थिए । अरु दिनजस्तो आज घर फर्किँदा उनमा ताजापन थिएन । कताकता थाकेजस्तो, गलेजस्तो र आफैँमा हराएजस्तो प्रतीत भइसकेको थियो, उनलाई । उनले पत्नीतिर हेर्दै सोधे, ‘आज धेरै नै थकाइ लागेजस्तो भयो, त्यो अस्ति नै बनाएको चिज छैन ?’

‘होला अलिकति ।’ पत्नीले उनको उदासिन चेहरातिर हेर्दै भनिन्, ‘नखानु यो चिज धेरै अब । यही चिज खाँदा तपाईंलाई बदनाम गर्नेहरु धेरै निस्किए । तपाईंको यही कमजोरीलाई औंल्याएर अरुले बदनाम गरे र उनीहरुले नै फाइदा उठाए ।’
‘मैले कति नै पिएको छु र ?’ उनी केही अशान्त देखिए र भने, ‘घरमै बनाएको एक दुई गिलास पिउँदा केको आलोचना ? के को बदख्वाइँ ? यो त हाम्रो जातीय र सांस्कृतिक पहिचान पनि हो । हाम्ले पनि दिनमा हजारौंको झोल पिउनेहरुको कथा सुनेका छौं । उनीहरुले हजारौं पर्ने बोतल रित्याउँदा केही नहुने, कसैले औंला नठड्याउने । हामीले भने यति जाबो... ।’

मस्त निदाए, वृहत् । दिनभरिको थकाइले उनी सघन निद्रामा परे ।
तर, आज राति भने उनले एउटा अनौठो सपना देखे । त्यो सपना उनको जीवनको आँखीझ्यालबाट बन्द कोठाभित्र प्रवेश गरेको थियो, निःसंकोच, बिना स्वीकृति ।
...‘म आफ्नो घुँडाको शल्यक्रिया गराउन चाहन्छु ।’ वृहत्ले आफ्नो घुँडा मुसार्दै भने ।
‘के हुन्छ घुँडालाई ?’
‘असाध्यै दुख्छ । कहिलेकाहीँ त यति धेरै दुख्छ कि, एक दुई पाइला पनि हिँड्न सक्दिनँ ।’
‘पहिलादेखि नै दुख्न थालेको हो ?’

‘हो, युद्धको बेलादेखि नै । युद्धको बेला चोट लागेर दुख्न थालेको यो घुँडा अहिलेसम्म पनि दुखिरहेको छ । उपचार नगराउने हो भने जीवनभर दुख्नेछ ।’ वृहत्ले भने, ‘अब म यो घुँडालाई दुख्न दिन्न । अब म पीडा सहन सक्दिनँ । जसरी हुन्छ म यो घुँडाको उपचार गर्न चाहन्छु । चाहे स्वदेश होस् वा विदेश । जहाँ गएर भए पनि म आफ्नो घुँडाको पीडा मेटाउन चाहन्छु ।’
‘मैले के गर्नुपर्‍यो त ?’ उनको साथी बोल्यो, जो अहिले राष्ट्रको उच्च पदमा आसिन छन् । अर्थात् एउटा गतिलो र चमकदार मन्त्रालयको लगाम अँठ्याइरहेका छन्, उनका साथीले ।
‘उपचारका लागि विदेश ?’

‘त्यो त सम्भव छैन । बरु स्वदेशमै उपचार गर्ने हो भने राज्यकोषबाट केही आर्थिक सहायता दिलाउन सकिन्छ ।’
‘हुन्नँ, म स्वदेशमा उपचार गराउदिनँ । यत्रो सरकार बनेको छ...।’
‘कहाँ उपचार गराउने मन छ ?’
‘भरिसक्य सिंगापुर र थाइन्ल्यान्ड । ती देशहरुमा सम्भव छैन भने दिल्लीसम्म भए पनि हुन्छ । मेरो सबै उपचार खर्चको व्ययभार राज्यले बेहोर्नुपर्छ ।’
‘विदेशमा त सम्भव छैन ।’
‘किन छैन ?’
‘छैन भनेपछि कुरा बुझ्नुस् न, छैन ।’
‘किन छैन ?’
‘छैन, छैन, छैन ।’

हठात् रुपमा ब्युँझिए, वृहत् । र, घुँडातिर हात लम्काए र केही बेरसम्म मुसारे । घुँडा ठीकठाक नै थियो । दुखेको थिएन कतै । भर्खरै समापन भएको सपनालाई सम्झिएँ, उनले । आफूले देखेको सपनाप्रति ग्लानीबोध भयो र त्यो सपनालाई घोर रुपले भत्र्सना र खण्डन गर्न मन लाग्यो, ‘थुक्क सपना । कस्तो झुर सपना देखेछु । कतै म राज्यकोषलाई लुटेर आफ्नो घुँडाको उपचार गर्न विदेश जाउँला त ?’
उनले कोठाको चारैतिर नजर बिसाए । चकमन्नताले सर्वत्र घेरिरहेको थियो ।
००
हरेक शनिबार ।
वृहत्को जीवनमा एउटा तालिका नै बनिसकेको छ । हरेक शनिबार उनी अरु दिनभन्दा चाँडै उठ्छन्, बोरामा राखिएका सामानहरु बोकेर हाट भर्न जान्छन् र फेरि बेलुकीपख घरतिर नै पाइला सोझ्याउँछन् ।
‘ओहो, आज त त्यो घरलाई रंगीचंगी बनाएर सिंगारिएको रहेछ नि ।’ हाटमा केही फलफूल फिजाउँदै गर्दा निर्माणाधीनको चरण पार गरेर निर्माण सम्पन्न भइसकेको त्यही होटलतिर उनको नजर दौडिन पुगे । त्यो गगनचुम्बी घर पूरै ध्वजा, पताकाहरुले सिंगारिएको थियो आज ।
‘आज त्यो होटलको उद्घाटन हुँदैछ रे ।’ उनीसँगै पसल थापिरहेका एकजना मानिसले भने, ‘त्यही भएर त्यस्तरी सिंगारिएको हो रे ।’
‘हो, कति राम्ररी सिंगारिएको रहेछ ।’
‘त्यति सिंगार्न कति खर्च लाग्छ होला, दाइ ?’
‘लाग्ला नि, लाख–डेढ लाख जति । त्योभन्दा घटीले के मान्ला र ?’ वृहत्ले भने । उनको आँखा भने त्यही होटलतिर नै दौडिरहेको थियो । र, उनले भने, ‘उद्घाटन हुने बेला हेर्न जानुपर्ला जस्तो छ । हाम्रो ठाउँमा यति ठूलो होटलको उद्घाटन हुँदैछ, हेर्नै पर्‍यो नि ।’
होटलमा मानिसहरुको चहल–पहल बढ्दै थियो । वृहत्ले आफू नजिकै पसल थापिरहेका मानिसलाई भने, ‘यी मेरा फलफूल एकछिन हेरिदिनुस् है । म त्यो होटलको उद्घाटन गरेको हेरेर आउँछु ।’

वृहत् त्यही होटलतिर लम्किए । उनी होटलभित्र भने छिरेनन् । पर्खालभन्दा बाहिर नै उभिएर होटलको अग्रभागमा व्याप्त चहलपहललाई ध्यानमग्न भएर नियालिरहे । उनीसँगै अरु मानिस पनि थिए, जो पर्खाल बाहिरै उभिएर ती दृश्यहरुलाई पर्गेलिरहेका थिए ।
‘ओ ।’ वृहत्को मुखबाट यही एउटा शब्द मात्र उत्पत्ति भयो । अरु शब्दहरु उनको गला नाघेर वायुमण्डलमा खस्न चाहेनन् ।
‘तपाईं त चकित पर्नुभयो । के भो दाइ ?’ उनीसँगै उभिएर ती दृश्यलाई अपलक रुपमा हेरिरहेका एकजना युवाले सोध्यो ।
‘ए, दाइ सलाइ छ ?’
‘म चुरोट नै खान्न, कसरी सलाइ हुनु भाइ ?’
‘ए, खानु हुन्न है । कहिल्यै खानुभएको छैन ?’
‘अहँ ।’
‘आफू त नखाई बाँच्नै नसकिने भइयो । चुरोट नखाई त मेरो चित्त पटक्कै बुझ्दैन । दिनमा ५–६ वटा त चाहिन्छ, चाहिन्छ ।’
‘चुरोट पिउने मान्छे भएर सलाइ र लाइटर बोकेर हिँड्नु पर्दैन ?’
‘थियो एउटा सलाइको बट्टा नै । खोला तर्दा पानीमा भिज्यो क्या दाइ । आजै यस्तो भएको हो । अरु बेला मेरो खल्तीमा कि लाइटर, कि सलाइ टुट्दैनथ्यो ।’

दुईजना अपरिचितको संवादले त्यही विश्राम लियो, जुन संवाद वृहत्ले पनि सुनिरहेका थिए । तर, उनको सम्पूर्ण ध्यान भने होटलको अग्रभागमा अरु मानिसहरुसँग मुस्कुराउँदै कुराकानी गरिरहेका एकजना अधबैंसेले खिचिरहेको थियो ।
‘त्यो मानिस विशाल नै होइन ?’ उनले मनमनै सोचे र एकटकले ती मानिसतिर नजर पुर्‍याउँदै कल्पिए, ‘हो, तिनी विशाल नै हुन् । विशाल बाहेक अरु कोही हुन सक्दैन ।’
उनलाई त्यही पर्खालबाट चिच्याएर आफ्ना परम मित्र, कैयौं मोर्चाहरुमा सँगसँगै लडेका, उनले कैयौं दिनसम्म मलम–पट्टी गरेका तिनै आत्मीय, परम प्रिय र सहृदयी साथी विशाललाई बोलाउन मन लाग्यो । तर, इच्छाहरु हँडलिएर सतहमा पोखिन खोजे पनि उनले त्यसलाई दबाएर राख्न नै उचित ठाने । किनभने, उनी चप्पल, थोत्रा सर्ट र पाइन्टमा सजिएका थिए । नकोरेका कपाल जिङ्रिङ्ग परेको थियो । तर, साथी भने बिल गेटस्झैं चिरिच्याट्ट परेको थियो । एकाध सुटेडबुटेडहरुबीच घेरिँदै, मन्द मुस्कान पस्किँदै उनका परम मित्र उभिइरहेको थियो, उनको आँखाभन्दा केही पर ।

आफूसँगै पर्खाल छेउमा उभिइरहेको एकजना युवातिर फर्किँदै उनले सोधे, ‘ए, भाइ ऊ त्यो नीलो सर्ट लगाउने मानिसलाई तिम्ले चिन्या छौ ?’
‘किन नचिन्नु दाइ, त्यही नेता विशाल त हो नि ।’
‘उनी पनि आएका रहेछन् ।’
‘दाइ पनि कत्ति गज्जबको कुरा गर्नु हुन्छ । यो होटलको उद्घाटनमा उनी नआए अरु को आउँछन् त ? मजाक नगर्नुस् न दाइ ।’
‘किन ? उनी आउनै पर्ने कारण किन नि ?’
‘ल, तपाईंलाई यत्ति पनि थाहा छैन ? यो होटल नै उनको हो नि । उनको एकल लगानीमा यो होटल बनेको हो । आफ्नो होटलको उद्घाटनमा आफैँ आउनु त परिहाल्यो नि, हैन र, दाइ ?’
‘ए, उनकै होटल हो ?’ वृहत्को मुखबाट यत्ति शब्द मात्रै ओर्लियो ।
‘हो नि ।’ ती युवाले भने, ‘अरु मानिसले पैसा कमाएका भएर काठमाडौंतिर नै लगानी गरेर बस्थे । तर, विशालले भने आफ्नै ठाउँमा होटल खोलेर सबैलाई चकित नै पारे नि ।’

वृहत् भुइँमा थचक्कै बसे । अहिले त उनको देब्रे घुँडा झनै, बेस्सरी नै दुख्न थाल्यो । घुँडाको दुखाइ सहन नसकेर उनी व्याकुल भए र उनका आँखा पनि धमिला हुँदै गए । बिस्तारै उठेर उनले त्यही अघिको, विशालले मृदु मुस्कान छरिरहेको दृश्य एकपटक नियाल्न चाहे ।
उनको आँखा झन्झन् धमिलो हुँदै गइरहेको थियो ।
 
 
 

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad