८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अमेरिकी ड्रोन हमलामा ३० कृषक मारिए

काबुल – इस्लामिक स्टेट (आइएस) लक्षित अमेरिकी ड्रोन हमलाका कारण अफगानिस्तानमा कम्तीमा ३० सर्वसाधारणको मृत्यु भएको छ। अधिकारीहरुका अनुसार दिउँसोको काम सकेर आराम गरिरहेका खेतमा काम गर्ने मजदुर अमेरिकी ड्रोन हमलामा परेका हुन्।

दुर्घटनावश भएको भनिएको बुधबार रातिको आक्रमणमा परी ४० जना घाइते भएको बताइएको छ। अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तस्थित वाजिर टांगी हिमाली क्षेत्रमा सल्लाहको गट्टो संकलन गर्न खटिएका कृषक र कामदार अमेरिकी ड्रोन हमलामा परेका हुन्। ‘ड्रोन हमलामा पर्नुअघि कामदार टुकी बत्ति बालेर वरपर बसिरहेका थिए,’ एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। अफगानिस्तानको रक्षा मन्त्रालय र काबुलस्थित अमेरिकाका एक वरिष्ठ अधिकारीले ड्रोन हमलाको पुष्टि गरे पनि सर्वसाधारण मारिएको विषयमा भने केही बोलेका छैनन्।

अधिकारीहरुका अनुसार दिउँसोको काम सकेर आराम गरिरहेका खेतमा काम गर्ने मजदुर अमेरिकी ड्रोन हमलामा परेका हुन्।

‘नान्गाहार प्रान्तमा रहेका आइएस आतंकवादी समूहका सदस्यलाई लक्षित गर्दै अमेरिकी फौजले ड्रोन हमला गरेको थियो,’ अफगानिस्तानस्थित अमेरिकी फौजका प्रवक्ता कर्णेल सोन्नी लेग्गेटले बताए। ‘सर्वसाधारण मारिएको आरोपबारे हामी सचेत छौं र यस विषयको सत्यतथ्य पत्ता लगाउनका लागि त्यहाँका स्थानीय अधिकारीसँग हामीले मिलेर काम गरिरहेका छौं,’ प्रवक्ता लेग्गेटले बताए।

युद्धग्रस्त अफगानिस्तानमा हाल १४ हजार अमेरिकी सेना तैनाथ छन्। उनीहरुले अफगान सेनालाई तालिम र सल्लाह प्रदान गरिरहेको छन्। यसका साथै अमेरिकी सेनाले आइएस र तालिबानविरुद्ध प्रतिआतंकवादी गतिविधि पनि सञ्चालन गरिरहेको छ। सल्लाको गट्टो फार्मका मालिक हैदर खानका अनुुसार गरिरहेका कृषक गट्टो टिप्ने कार्यका लागि एक सय ५० कामदार खटिरहेका थिए, जसमध्ये केही अझै हराइरहेका छन्। उनले मृतक र घाइतेको पुष्टिसमेत गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

‘ड्रोन हमलाका बेला फार्मनजिकैको क्षेत्रमा गाडिएका पाँचवटा टेन्टमा करिब दुई सय कामदार सुतिरहेका थिए,’ आक्रमणका जीवित एक मजदुरले बताए। ‘हामीमध्ये केही भाग्न सफल भयौं। केही घाइते भए तर धेरै मारिए,’ उत्तरपूर्वी कुनार प्रान्तका स्थानीय तथा सो फार्ममा काम गर्न गएका एकजना कामदार जुमा गुलले बताए।

सर्वसाधारण कामदारमाथि भएको ड्रोन हमलालाई लिएर आक्रोशित केही स्थानीयले अमेरिकी फौजले माफी माग्नुपर्ने र पीडितका परिवारलाई आर्थिक क्षतिपूर्ति दिनुपर्ने मागसमेत गरेका छन्। ‘यस्ता गल्ती प्रमाणित हुनै सक्दैन। सर्वसाधारण मानिस मारेर युद्ध जित्न सकिँदैन भन्ने कुरा अमेरिकी फौजले बुझ्न जरुरी छ,’ जलालाबाद सहरका एक स्थानीय जाभेद मन्सुरलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

अफगानिस्तानमा पहिलो पटक सन् २०१४ मा जिहादी आइएस लडाकु देखा परेका थिए। त्यस बेलादेखि नै उनीहरुले देशको उत्तरी र पूर्वी क्षेत्रलक्षित आतंकवादी गतिविधि सञ्चालन गर्दै आइरहेका छन्। अफगानिस्तानमा के कतिको संख्यामा आइएस लडाकु छन् भन्नेबारे भने वास्तविक तथ्यांक छैन यद्यपि अमेरिकी सेनाका अनुसार अफगानिस्तानमा करिब दुई हजार आइएस लडाकु क्रियाशील छन्। सर्वसाधारण मानिस मारिएको यस विषयमा आइएसले भने कुनै प्रतिक्रिया नजनाएको रोयटर्सले उल्लेख गरेको छ।
 

प्रकाशित: ३ आश्विन २०७६ ०३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App