८ वैशाख २०८१ शनिबार
खेल

कोस्टाको गोलले चेल्सी शीर्षमा

लन्डन –डिएगो कोस्टाको निर्णायक गोलमा चेल्सीले आइतबार मिडिल्सब्राउमाथि १–० को जितसहित इङ्लिस प्रिमियर लिग अंकतालिकाको शीर्ष स्थानमा पुनरागमन जनाएको छ।

चेल्सीलाई अवे मैदानमा जित दिलाउन ४१ औं मिनेटमा स्पेनिस स्ट्राइकर डिएगो कोस्टाले गरेको एउटै गोल पर्याप्त भयो। जारी सिजनमा कोस्टाको यो १० औैं गोल हो।

जितपछि एन्टोनियो कोन्टेको चेल्सी लिभरपुललाई पछि पार्दै प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको हो। १२ खेलमा चेल्सीले २८ अंक जोड्दा लिभरपुल भने २७ अंकसाथ दोस्रो स्थानमा झरेको छ । समान २७ अंक भए पनि म्यानचेस्टर सिटी गोलअन्तरमा लिभरपुलभन्दा पछि रहँदै तेस्रो स्थानमा सीमित छ । आर्सनल २५ अंकसाथ चौथो तथा २४ अंक जोडेको टोटेनह्याम पाँचौं स्थानमा छ । आइतबार पराजित भएको मिडिल्सब्राउ ११ अंकसहित १५ औं स्थानमा छ ।

चेल्सीका इटालियन प्रशिक्षक कोन्टेले कठिन प्रतिद्वन्द्वीविरुद्ध पाएको अवे जित लिग यात्रामा महŒवपूर्ण हुने बताए । लामो लिगमा प्रत्येक खेल र त्यसमा पाएको अंकको महŒव रहने बताउँदै कोन्टेले उपाधि महŒवाकांक्षा पूरा गर्न अवे मैदानमा लिने अंक अझै अर्थपूर्ण हुनेमा जोड दिए ।

‘यो खेल कठिन हुने हामीलाई पहिल्यै थाहा थियो । मिडिल्सब्राउ अहिले उच्च फर्ममा छ । साथमा उनीहरूलाई घरेलु मैदानको फाइदा पनि थियो तर हामीले खेल जितेका छौं र अहिले अंकतालिकामा हाम्रो खातामा कठिन खेलबाट प्राप्त ३ अंक जोडिएको छ,’ कोन्टेले भने, ‘हामीले सही समयमा गोल गर्नुका साथै अर्को गोललाई पनि अवसर सिर्जना गरेका थियौं । सुरुमा पाँच मिनेट उनीहरूले राम्रो गरिरहँदा हामी जम्न सकेनौं । तर त्यसपछि खेल पूरा समय नियन्त्रणमा राख्दै हामीले विपक्षीलाई गोल दिएनौं।’

मिडिल्सब्राउका प्रशिक्षक ऐटर कारान्काले आफ्नै गल्तीका कारण नतिजा सुम्पनुपरेको प्रतिक्रिया दिए । ‘चेल्सी पक्कै पनि हामीभन्दा राम्रो टोली हो । तर घरमा हामी उनीहरूलाई हराउन सक्षम थियौं । आर्सनल र म्यानचेस्टर सिटीसँगका खेलपछि हामीलाई त्यो विश्वास पलाएको थियो । विगतका पाँच खेलमाजस्तै प्रदर्शन गर्न सके हामी आगामी खेलमा धेरै जित पाउन सक्छौं। तर आज चाहिँ आफ्नै गल्तीमा निराश हुनुप¥यो,’ कारान्काले खेलपछि भने।

प्रकाशित: ७ मंसिर २०७३ ०२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App