coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

विद्यालयमा राजनीति पसेपछि पढाइ चौपट

धन्छवार (सिरहा) - लक्ष्मीपुर पत्तारी–४ धन्छवारका मनिष शर्माको घरैअगाडि कक्षा पाँचसम्म पढाइ हुने आधारभूत विद्यालय छ तर उनी एक घण्टा पडेर सीतापुरस्थित संस्थागत विद्यालय (बोर्डिङ) पढ्छन्। उनी सुरुदेखि नै संस्थागत (निजी) विद्यालय पढ्न थालेका भने होइनन्, कक्षा चारमा मात्र उता पढ्न गएका हुन।

‘तीन कक्षासम्म यसै विद्यालयमा पढाएँ, यहाँ पढाइ नै हुन छोडेपछि निजीमा भर्ना गराएकी हुँ,’ मनिषकी आमा शिवकलादेवी भन्छिन्, ‘सरकारी स्कुलमा राजनीति पसेदेखि पढाइ चौपट भयो।’ शिवकलाका अनुसार पहिला गाउँभरिका सबै बालबालिका कक्षा पाँचसम्म पढ्न यसै विद्यालयमा आउँथे। विद्यालयमा खाजा कार्याक्रमले बच्चाहरूलाई आकर्षित गरेको थियो। तर, व्यवस्थापन समिति गठनमा राजनीति भएपछि पाँच महिनादेखि विद्यालय बन्धक बनेको छ।

गाउँमा ४५ घर मुसहर (सदा), ३२ घर चमार (राम), ३५ घर तत्मा (दास) सहित यादव, शर्मा, साहलगायत जाति बस्छन्। विद्यालयमा दलित समुदायका एक सय १९ बालबालिकासहित एक सय ७८ जना विद्यार्थी अध्ययनरत रहेको तथ्यांक छ। पाठ्यपुस्तक, छात्रवृत्ति, पोशाक, खाजा कार्यक्रमका कारण यो विद्यालय दलित समुदायका विद्यार्थीको आकर्षक पढाइ गन्तव्य बन्दै गएको थियो। स्थानीय श्यामलाल सदायले भने, ‘राम्रो पढाइका कारण अरू जातका बालबालिका पनि यसै विद्यालयमा पढ्थे। तर विद्यालयमा राजनीतिक हस्तक्षेप सुरु भएदेखि सब खत्तम भयो।’ दलितका विद्यार्थीबाहेक हुनेखाने सबैले आफ्नो बालबच्चा सीतापुरस्थित निजी विद्यालयमा भर्ना गराए, गराउँदै छन्, सदायले सुनाए।
मंसिरदेखि विद्यालयको पठनपाठनसमेत नियमित छैन।

पाठ्यपुस्तक, छात्रवृत्ति, पोशाक, खाजा कार्यक्रम ठप्प छ। यहाँसम्म कि कार्यरत शिक्षकहरूले तलबसमेत खान पाएका छैनन्। विद्यालयले आफ्नो खाता सञ्चालन गर्न नसक्दा गाउँपालिकाबाट पाउने सेवा–सुविधा पाउन सकेको छैन। शैक्षिक सत्र सुरु भएको पाँच महिना बित्न लाग्दासमेत विद्यालयले पाठ्यपुस्तक उपलब्ध नगराउँदा बालबालिका विद्यालय जान छाडेका छन्।

कक्षा एकदेखि पाँचसम्म पठनपाठन हुने विद्यालयमा २०७५ सालमा एक सय ९६ विद्यार्थीको नामांकन थियो । तर राजनीतिका कारण विद्यालयको पठनपाठन अनियमित भएपछि २०७६ सालमा विद्यार्थीको नामांकन घटेर एक सय ७८ मा सीमित भयो। विद्यालयले पाठ्यपुस्तक, छात्रवृति, पोशाक उपलब्ध नगराउँदा विद्यार्थी नियमित पढ्न आउन छाडेका हुन् ।

‘सरहरूले विद्यार्थीलाई कपीमा आफ्नो र साथीहरूको नाम, ठेगाना, गाउँ–सहरको नाम लेख्न लगाउँछन्। कथा सुनाउँछन्। अनि छुट्टी दिन्छन्। किताब नै नभएपछि के पढ्नु ?’ कक्षा ५ मा अध्ययनरत श्रवणकुमार सदा (मुसहर) ले भने, ‘स्कुलबाट दुई–तीनवटा विषयको पुरानो किताब दिएको त छ तर आधाजसो पाना च्यातिएको छ।’ पुरानो, पाना च्यातिएको किताबको कुनै पाठ दुरुस्त नभएको उनले बताए।

शिक्षा ऐन नवौं संशोधनले तराई–मधेसमा एउटा कक्षामा ५० विद्यार्थी तोकेको छ । तर आधारभूत विद्यालय धन्छवारलाई यो ऐनले छुँदैन । यो शैक्षिक सत्रमा कहिले पनि ३० भन्दा बढी विद्यार्थी उपस्थित नभएको स्थानीय बताउँछन्। विद्यार्थी उपस्थिति नहुनुमा विद्यालयका प्रधानाध्यापक तारणी चौधरी पाठ्यपुस्तक उपलब्ध नभएकालाई मुख्य कारण बताउँछन् ।

‘पाठ्यपुस्तक खरिदका लागि गाउँपालिकाको शिक्षा शाखाको खातामा ३४ हजार दुई सय ८१ रुपैयाँ छ,’ प्रअ चौधरीले भने, ‘विद्यालय व्यवस्थापन समिति चयनमा विवाद भएका कारण खाता सञ्चालन हुन नसक्दा रकम निकासा हुन सकेको छैन। विद्यार्थी पुस्तक नभएपछि पढ्नै आउँदैनन् ।

उनले विद्यार्थीलाई छात्रवृत्तिसमेत वितरण गर्न नपाउँदा विद्यार्थी उपस्थितिमा कमी आएको बताए । तर अभिभावकहरू विद्यालयमा शिक्षक नियमित रूपमा नआउने, आए पनि नपढाउने गरेकै कारण बालबालिकाले विद्यालय छाड्न थालेको बताउँछन् । ‘विद्यालयमा शिक्षक नियमित रूपमा पढाउन आउँदैनन्,’ कक्षा ४ मा अध्ययनरत आनन्दकुमार रामकी आमा पल्हास रामले भनिन् ‘पाँच महिना बित्न लाग्दासमेत किताब दिँदैनन्, छात्रवृत्ति पनि दिएको छैनन् अनि किन जान्छन् विद्यार्थी ।’

उनी दलित समुदायका बालबालिका पढ्ने विद्यालय भएकै कारण यस विद्यालयलाई बेहाल बनाएको बताउँछिन्। ‘कहिले पनि शिक्षक नियमित हुँदैनन्। कहिले यो शिक्षक अनुपस्थित हुन्छ त कहिले त्यो,’ रामले भनिन्, ‘दलित बालबालिकाको पढाइको एक मात्र सहारा यो स्कुलको पढाइ राम्रो बनाउन न शिक्षक गम्भीर छन्, न सरकार।’

यस विद्यालयमा दरबन्दीमा प्रधानाध्यापक तारणी चौधरी र प्राथमिक शिक्षक विश्वम्भर शर्मा छन्। बालविकासतर्फ सहयोगी कार्यकर्ता शिवकुमारी सिंह, विना यादव, देवकुमारी चौधरी र कार्यालय सहयोगी रामकुमार यादव कार्यरत छन्।
अनियमितताको राजनीति

आधारभूत विद्यालय धनछवारमा गत मंसिर १० गते भएको भेलाबाट हरिप्रसाद सदाय, जलासीदेवी सदाय, अर्जुन मण्डल र बबिताकुमारी दास गरी चार सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन भयो। समितिलाई पूर्णता दिन थप दुईजना सदस्य मनोनित गर्नुपर्छ,जसका लागि विद्यालयले पुनः पताचार गरी भेला बोलाउनुपर्छ।

तर यस विद्यालयको व्यवस्थापन समितिको पूर्णता गाउँपालिकाको अग्रसरतामा भयो। सम्बन्धित वडाका अध्यक्ष र विद्यालयका प्रधानाध्यापकको अनुपस्थितिमा निमित प्रधानाध्यपकको उपस्थितिमा समितिलाई मंसिर २७ गते पूर्णता दिइयो। स्रोतव्यक्ति एकलाशकुमारी यादव, गाउँपालिकाका प्रतिनिधि चन्देश्वर साह, निमिति प्रअ विश्वम्भर शर्मा चार सदस्य व्यवस्थापन समिति र अभिभावकको भेलाले छेदीलाल राम र सीयावती सदायलाई सदस्यमा मनोनित गरेको सदस्य बबिताकुमारी दासले बताइन्।

पूर्ण समितिले हरिनारायण सदायलाई व्यवस्थापन समितिको अध्यक्षमा चयन ग¥यो। तर आफू अनुपस्थित रहँदा समिति गठन भएको भन्दै समितिलाई प्रधानाध्यापक तारणीप्रसाद चौधरीले कार्यान्वयन गरेनन्। गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहले पटकपटक समितिलाई सदर गरेर खाता सञ्चालन गर्न पताचार गर्दा पनि प्रअले टेरेनन्।

वडाध्यक्ष विद्यानन्द साह सुडी समिति गठनबारे अनविज्ञ छन्। अवैध तरिकाले गठन गरिएको समितिलाई कार्यान्वयन नगर्न वडाध्यक्ष सुडीले प्रअ चौधरीलाई पताचार गरेका छन्। २०७५ माघ ६ गते पत्रमार्फत सुडीले अवैध समितिलाई सदर नगर्न भनेका छन्। यता गाउँपालिका अध्यक्ष रामबल्लभ साहले २०७५ माघ ८ गते पत्रमार्फत समितिको नाममा खाता सञ्चालन गराएर कार्यान्वयन गर्नु भनेको छ।

‘जुँगाको लडाइँले बालबालिकाको भविष्य बिगार्न पाइँदैन,’ कक्षा ५ मा अध्यनरत निरज रामकी अभिभावक राधादेवी रामले भनिन्, ‘गाउँपालिका र वडा कार्यालयसँगै विद्यालयका प्रअसमेत पढाउन छाडेर राजनीतिमा उत्रिएपछि बालबालिकाको पढाइमा बाधा पुगेको छ, हाम्रा बालबालिकाको भविष्यमाथि खेलवाड भएको छ ।’अभिभावकहरू लक्ष्मीपुर पत्तारी गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहलाई पठनपाठन नियमित गर्न, छात्रवृत्ति वितरण गर्न, विद्यालयलाई राजनीति झमेलाबाट टाढा राख्न, विद्यालय व्यवस्थापन समितिलाई काम गर्ने वातावरण बनाइदिन ज्ञापन गरेका छन्। विद्यालयका प्रअ तारणीप्रसाद चौधरीले पाठ्यपुस्तकका लागि रकम माग नगरेको, विद्यालयको खातासमेत सञ्चालन नगरेकाले प्रअ चौधरीको तलब गाउँपालिकाले रोक्का अध्यक्ष साहले बताए।

प्रकाशित: ३ आश्विन २०७६ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App