८ वैशाख २०८१ शनिबार
समाज

पुरुष बलात्कारको बेग्लै मुचुल्का

काठमाडौं- दुई वर्षअघि आफ्नै पुरुष कर्मचारीलाई बलात्कार गरेको आरोपमा राजधानीस्थित एक पाँचतारे होटल महाप्रबन्धक पक्राउ परे। काठमाडौं प्रहरीले अनुसन्धान त थाल्यो तर पुरुष बलात्कारको घटना उसैका लागि समेत नौलो थियो । होटल महाप्रबन्धक बलात्कार आरोपमा प्रहरी हिरासतमा थिए । प्रहरीले पीडितलाई स्वास्थ्य जाँच गराउन अस्पताल पठायो । प्रहरीले सोधेका प्रश्नको उत्तरसहितको अस्पतालले स्वास्थ्य परीक्षण रिपोर्ट पठायो । सोही आधारमा कारबाही अघि बढेको थियो ।
अहिले भने यस्तो अवस्था अन्त्य भएको छ किनकि घटना अनुसन्धानका लागि आवश्यक जाँच फारमको नयाँ ढाँचा प्रचलनमा छ । अब मादक पदार्थ सेवन, बलात्कारदेखि शव परीक्षणसम्मका लागि वैज्ञानिक फारम प्रयोगमा आएका छन् । प्रहरीका लागि प्रमाण जुटाउन कठिन हुने बलात्कार घटनामा समेत महिला र पुरुषका लागि फरक–फरक फारम प्रयोगमा ल्याउन गत बुधबारदेखि देशभरका अस्पतालमा अनिवार्य गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले कात्तिक ३ गते देशभरका क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल र जिल्ला अस्पताललाई नयाँ ढाँचाका केसजाँच फारम मंसिर १ बाट अनिवार्य प्रयोगमा ल्याउन परिपत्र गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार नयाँ ढाँचाका केसजाँच फारम प्रयोगसम्बन्धी प्रावधान साउन ३ गते नै राजपत्रमा प्रकाशित भए पनि विविध कारणले कार्यान्वयन हुन सकेको थिएन।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका वरिष्ठ फरेन्सिक चिकित्सक हरिहर वस्तीले घटनाको अनुसन्धान र प्रमाण संकलनका लागि अनिवार्य केसजाँचलाई दुई दशकपछि व्यवस्थित गर्ने प्रयास थालिएको बताए । ‘यसले अपराध अनुसन्धानमा सहयोग पुग्नेछ,’ वस्तीले नागरिकसँग भने । अस्पताल र प्रहरी कार्यालयको जाँच प्रतिवेदन फरक पर्दा मुद्दामा विवाद हुने गरेको उनले बताए ।
स्वास्थ्य मन्त्रालयको परिपत्रअनुसार शव परीक्षण (पोस्टमार्टम), जबर्जस्ती करणीमा महिला र पुरुष, घाउचोट, घटनास्थल मुचुल्का, बरामदी मुचुल्का र मादक तथा लागूऔषध सेवन गरेनगरेको प्रमाणितका लागि सोहीअनुसार फरकफरक फारम तयार पारिएका छन् । परिपत्रमा चेकजाँचका लागि अस्पतालका फरेन्सिक विज्ञ वा तालिमप्राप्त व्यक्ति आफैले प्रतिवेदन तयार गर्न अनिवार्य गरिएको छ । यस्तै फारममा लेखिएका अक्षरमा केरमेट वा टिपेक्स लगाउन रोक लगाइएको छ ।
काठमाडौं प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत डिएसपी रवीन्द्र रेग्मी नयाँ व्यवस्थाले अनुसन्धान र प्रमाण संकलनमा सहयोग पुग्ने र प्रतिवेदनउपर सम्बद्ध पक्षको विश्वास बढ्ने बताए । उनका अनुसार हाल प्रहरीले घाउचोट, बरामदी र घटनास्थल मुचुल्काको ढाँचा फारम अनिवार्य प्रयोगमा ल्याए पनि अन्य विषयमा अस्पतालले दिने प्रतिवेदनमा भर पर्नुपर्ने अवस्था छ ।
सरकारले प्रयोगमा ल्याएका नयाँ फारममा बलात्कार सम्बन्धी घटनामा पीडितको स्वास्थ्य जाँच गर्दा प्रहरीले सोध्ने प्रश्नउत्तरभन्दा घटना प्रमाणित गर्ने वैज्ञानिक आधार राखिएका छन् । बलात्कार घटनामा प्रतिकार गर्दा हुने चिह्न, शरीरका घाउचोटसहित योनीको परीक्षण सचित्र जाँच गर्ने व्यवस्था फारममार्फत गरिएको छ । यस्तै पुरुष बलात्कार घटनामा गरिने सोही प्रकारका जाँचका लागि पनि छुट्टै फारम व्यवस्था गरिएको छ । घटनास्थल, बरामदी र खानतलासी मुचुल्कामा समेत फेरबदल भएको छ ।
ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारी अपराध अनुसन्धानमा फरेन्सिक पाटो अति महŒवपूर्ण हुने भएकाले प्रहरीले लोकार्डो (फरेन्सिक विज्ञानका ज्ञाता) ले स्थापना गरेको नियमअनुसार हालसम्म काम गर्दै आएको बताउँछन् । उनका अनुसार ग्रामीण अस्पतालमा हुने विज्ञ चिकित्सक र साधनस्रोतको अभावमा प्रहरीले प्रयोग गर्दै आएको नियम सहयोगीसिद्ध भएको हो । ‘सबै भागमा भनेअनुसारको साधनस्रोत नहुन सक्छ, फरेन्सिक विज्ञानको नयाँ आधार सरकारको निर्णयले तय गर्नेछ,’ एसएसपी अधिकारीले भने ।
चिकित्सक वस्तीका अनुसार शिक्षण अस्पतालमा १७ वर्षदेखि नै शवजाँचमा एकैरुपका फारम प्रयोगमा ल्याइए पनि अन्य निकायबाट हुने अनुसन्धान प्रतिवेदन फरक फरक हुन्थे ।
प्रहरी प्रधान कार्यालयले नयाँ फारम विषयमा मन्त्रालयबाट कुनै पत्र नआएको जनाएको छ । प्रहरी प्रवक्ता डिआइजी हेमन्त मल्लले प्रहरीले अपराध अनुसन्धानपछि प्रमाणका लागि अस्पतालको परीक्षणलाई आधार मान्दै आएको बताए । उनले प्रचलनमा रहेका अनुसन्धान फारमको ढाँचा वैज्ञानिक बनाउने प्रहरीको प्रयासमा सरकारको निर्णयले बल पुग्ने बताए । उनले भने, ‘हाम्रो अनुसन्धान प्रणालीमा वैज्ञानिक र प्राविधिक सहयोग अनिवार्य थियो, मन्त्रालयको पहलले मद्दत पुग्नेछ ।’


 

प्रकाशित: ७ मंसिर २०७३ ०२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App