८ वैशाख २०८१ शनिबार
अर्थ

नागरिक उड्डयन प्राधिकरणमा ४६ अर्बको बजेट

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष ०७६/७७ को बजेट सार्वजनिक गरेको छ। प्राधिकरणले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी यस वर्षको नीति तथा कार्यक्रमसहित ४६ अर्ब ९६ करोडको बजेट सार्वजनिक गरेको हो।

उसले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ मा भएको व्यवस्था, हवाई नीति, २०६३, नेपाल सरकारको १५औं योजनाको आधारपत्र, विगत पाँच वर्षको आयको अध्ययन एवं विश्लेषण र नेपाल सरकारको आव ०७६/७७ को बजेट, नीति तथा कार्यक्रम,नेपाल सरकारको ऋण लगानी, सेयर लगानी,अनुदान, वैदेशिक ऋण र अनुदानका आधारमा बजेट विनियोजन भएको जनाएको छ।

प्राधिकरणले एरोनटिकलतर्फ पाँच अर्ब ८३ करोड १९ लाखर नन–एरोनटिकलबाट दुई अर्ब ४९ करोड ९४ लाख गरी आठ अर्ब ३३ करोड १३ लाख रुपैयाँ अनुमानित आय प्रक्षेपण गरेको छ। साथै, यस वर्ष विमानस्थल विकास (एडिएफ) बापतको शुल्क दुई अर्ब २१ करोड २८ लाख रुपैयाँ उठाउने योजना रहेकोबजेटमा उल्लेख छ।

प्राधिकरणले पुँजीगततर्फ ३४ अर्ब चार करोड ३७ लाख र कार्यसञ्चालनतर्फ चार अर्ब १८ करोड ८४ लाखसहित ३८ अर्ब २३ करोड २१ लाख खर्च हुने अनुमान गरेको छ। त्यस्तै, अन्य व्यय शीर्षकमा नेपाल सरकारको ऋण, साँवा–ब्याज भुक्तानी ९९ करोड ५० लाख, नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने लाभांश ३६ करोड ७६ लाख, कर्मचारी बोनस एक अर्ब २६ करोड ३१ लाख, स्थिर सम्पत्ति प्रतिस्थापनबापत एक अर्ब ७६ करोड ६६ लाख, आयकर एक अर्ब १४ करोड ९४ लाख, नन–अपरेटिभ खाता वायुयान सञ्चालन कोष ६३ करोड ६५ लाख, मूल्य अभिवृद्धि कर दुई अर्ब ६७ करोड ४८ लाख गरी कुल आठ अर्ब ७३ करोड ३० लाख खर्च हुने अनुमान प्राधिकरणको छ।

स्रोत व्यवस्थापन
खर्च, नीति तथा कार्यक्रम व्यवस्थापनका लागि प्राधिकरणले आन्तरिक र बाह्य स्रोत परिचालन गर्ने जनाएको छ। त्यसका लागि प्राधिकरणले २९ अर्ब ६६ करोड १८ लाख आन्तरिक आय स्रोतबाट र १७ अर्ब २९ करोड ८९ लाख नेपाल सरकारको विभिन्न शीर्षकमार्फत परिचालन गर्ने जनाएको छ। जसमा सरकारबाट अनुदानमार्फत एक अर्ब ४५ करोड, सेयरबाट पाँच अर्ब ५२ करोड २५ लाख र ऋणमार्फत १० अर्ब ३२ करोड ६४ लाख जुटाइने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले आफ्नो नीति तथा कार्यक्रममा नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानलाई आइसिएओको ट्रेनियर प्लसको मापदण्ड बमोजिम नागरिक उड्डयन प्राधिकरणसम्बन्धी एक विशेष सुविधासम्पन्न तालिम केन्द्रको रुपमा स्तरोन्नति गरिने जनाएको छ। त्रिभुवन विमानस्थलमा भौतिक पूर्वाधार विकास, बुटिक एयरपोर्टको अवधारणा र यसलाई चौबिसै घन्टा सञ्चालनयोग्य बनाउने उल्लेख छ।

बिग सिक्सको सवारीलाई मात्र विमानसम्मको सुविधा दिने,ट्रान्जिटमा रहेका यात्रुकालागि लाउन्जको व्यवस्था गर्ने तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको निर्माणमा सघाउने नीति सार्वजनिक गरेको छ।

विराटनगर, चन्द्रगढी, जनकपुर र धनगढी विमानस्थलको गुरुयोजना तयार गरी सो अनुरुप स्तरोन्नति गर्दै लाने,प्रदेशका राजधानीमा रहेका विमानस्थलाई ७० सिटभन्दा माथिका जहाज उडाउन तथा अवतरण मिल्ने गरी स्तरोन्नति गर्ने प्राधिकरणको योजना छ।

प्रकाशित: ३ आश्विन २०७६ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App