coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकारले राज्य आतंक सिर्जना गर्‍याे : देउवा

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले राज्य आतंक सिर्जना गरी समाजमा अशान्ति फैलाएको आरोप लागाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले जनताको करबाट तलब खाने प्रहरीलाई पार्टीको जस्तो बनाएको बताए ।

उनले भने, ‘प्रहरी प्रशासनलाई कुनै पनि पार्टीले तलब दिएको छैन । प्रहरी पार्टीको कार्यकर्ता होइन । शान्ति सुरक्षा दिनुपर्छ ।’ देउवाले बहुमतको दम्भका आडमा हुने कुनै पनि क्रियाकलापविरुद्ध कांग्रेस उत्रने बताए ।

सरकार गठन भएको डेढ वर्षमा संघीयताको बाँकी काम सम्पन्न गर्न सरकार असफल भएको पनि उनले बताए । यस सरकारको पालामा इतिहासकै ठूलाठूला भ्रष्टाचार भएको तर भ्रष्टाचारीलाई कारबाही नभएको बताए । वाइड बडी, न्यारो बडी, बालुवाटारको जग्गा खरिद प्रकरणका दोषीलाई कुनै पनि हालतमा छुट दिन नहुने उनले बताए ।

उनले प्रेस स्वतन्त्रता पनि सरकारले रोक्न खोजेको बताए । उनले संविधानविपरीतका विधेयक जबरजस्ती पारित गर्ने र प्रतिपक्षको कुरा सरकारले नसुनेको बताए । नेपाल–भारत सीमामा डुबानका विषयमा कूटनीतिक पहल गर्नुपर्ने कुरा पटकपटक गरे पनि सरकारले नसुनेको उनको भनाइ थियो ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले संविधान कार्यन्वयन गर्न प्रतिपक्ष र सत्तापक्ष एकताबद्ध हुनुपर्ने बताए । उनले सरकारका कुनै कमजोरी छन् भने सच्याउन तयार रहेको बताए । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान संशोधन गरेर जानुपर्ने बताए । ‘संविधान आधा भरि छ, आधा भरिएको गिलासको रक्षा गरौं, बाँकी आधा गिलासमा संविधान संशोधन गरौं,’ उनले भने । ‘जुन शासकीय स्वरूप र निर्वाचन प्रणाली अपनाइएको छ, त्यो एक आपसमा बाझिने खालको रहेको छ,’ उनले भने । उनले खर्चिलो निर्वाचनले पनि भ्रष्टाचार बढाउने बताए । राष्ट्रिय जनता पार्टीका राजेन्द्र महतोले सरकारले चार वर्ष बित्दा पनि सबैलाई संविधान मनाउने वातावरण सिर्जना नगरेको बताए ।

उनले भने, ‘हामीलाई संविधान दिवस मनाउने अवसर कहिल्यै नदिने हो भने लहरो तान्दा पहरो थर्कन सक्छ ।’ उनले संविधान संशोधन गर्नुपर्ने बताए । उनले ठूलो भ्रष्टाचार काण्डका दोषीलाई कारबाही नगरी उन्मुक्ति दिने काम गरेको पनि उनले बताए । राप्रपाका राजेन्द्र लिङदेनले संघमा मात्र नभई ६ प्रदेशमा नेकपाको सरकार भए पनि मुलुकलाई विकासको गतिमा अघि लैजान नसकेको बताए ।

प्रकाशित: ३ आश्विन २०७६ ०१:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App