८ वैशाख २०८१ शनिबार
अर्थ

अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा थप १३ देशमा विस्तार

काठमाडौं– नेपाल टेलिकमले थप १३ देशमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा सञ्चालनमा ल्याएको छ। यो सेवा संविधान दिवसका अवसरमा भोलि (शुक्रबार)बाट सुरु हुनेछ। टेलिकमले भदौ २० गतेदेखि छिमेकी मुलुक भारतबाट अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा पुनः संचालन गरेको थियो। 

अब टेलिकमका जीएसएम पोस्टपेड मोबाइल सेवाका ग्राहकहरु चीन, अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूएई, कतार, बेलायत, स्वीजरल्याण्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड जाँदा भ्वाइस, एसएमएसका अलावा डाटा रोमिङ सेवा पनि चलाउन सक्ने छन्। साथै कम्पनीका प्रिपेड मोबाइल सेवाका ग्राहकहरुले समेत अब भारत र चीन जादा यी सुविधा (भ्वाइस, एसएमएस र डाटा रोमिङ सेवा) उपभोग गर्न सक्ने छन्। 

हाल अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका मोबाइल ग्राहकहरुलाई यो सेवा स्वतः उपलब्ध हुनेछ भने नयाँ रोमिङ सेवा लिने ग्राहकहरुलाई सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा डाटा सेवा उपलब्ध हुनेछ।
  
केही समय भित्रै डाटा तथा प्रिपेड रोमिङ सेवा अन्य देशहरुमा पनि विस्तार गर्दै लगिने टेलिकमकी प्रवक्ता   प्रतिभा बैद्यले जानकारी दिइन्।

नेपाल टेलिकमले विगत लामो समय देखि आफ्ना पोस्टपेड ग्राहकहरुलाई लक्षित गरि ८७ मुलुकका १९२ भन्दा बढी दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ। गत २०७६ बैशाख १६ बाट जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि दुई छिमेकी मुलुकहरु भारत र चीनमा रोमिङ सेवा (भ्वाइस तथा एसएमएस) उपलब्ध गराइएको थियो। 

प्रकाशित: २ आश्विन २०७६ १०:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App