coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पौडीका ३२ खेलाडी छनोट

काठमाडौं – घरेलु मैदानमा हुने १३औं दक्षिण एसियाली खेलकुद(साग)का लागि पौडी खेलाडीको दोस्रो चरणको छनोट गरिएको छ।

नेपाल पौडी संघले बुधबार १३औं सागका लागि ३२ सदस्यीय दोस्रो चरणको छनोट गरेको हो। संघका महासचिव जगतमान श्रेष्ठ, प्रमुख प्रशिक्षक शंकर कार्की, वरिष्ठद्वय प्रशिक्षक इश्वर कार्की, ओङदेन लामा, प्रशिक्षकहरू रत्नलाल महर्जन र नयना शाक्य सम्मिलित छनोट समितिले गत आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र नवौं एनएसए कप पौडी प्रतियोगिताका साथै फिना अंकको आधारमा दोस्रो चरणको खेलाडी छनोट गरेको थियो।

देशबाहिर रहेको खेलाडीको हकमा भने छनोट समितिले सप्ताहिक रूपमा संघलाई बुझाएको प्रशिक्षण विवरणलाई आधारमा बनाएको थियो। यसअन्तर्गत पुरुषतर्फ सैयद हम्जा शाह र नाथान दोर्जे शेर्पा तथा महिला ओलम्पियन गौरिका सिंह, डुवाना लामा र सोफिया शाह छनोट भए। पौडीले संघले यसअघि नै १३औं साग लक्षित गरेर ४० खेलाडीलाई प्रारम्भिक छनोट गर्दै प्रशिक्षण गराउँदै आएको थियो।

तर, गत हप्ता सम्पन्न नवौं एनएसए कप पौडी च्याम्पियनसिप सम्पन्न भएपछि संघले दोस्रो चरणको छनोट गरेको हो। दोस्रो चरणको छनोटमा पुरुषतर्फ एलेक्सजेन्डर शाह, अनुभव सुब्बा, शुभम श्रेष्ठ, विकास कुमाल, तेन्जिङ गुरुङ, नासिर हुसेन, गौरव लामा, दिलिप थापामगर, वेदज्ञराज जोशी, तरुण भण्डारी, जेबिस पौडेल, सागर नायक, स्पन्दन शाक्य, जयन्त गुरुङ र निर्भय थापा छन्।

महिलातर्फ अनुसिया तन्डुकार, टिसा शाक्य, उपास्ती महर्जन, अदिप्सा बैद्य, समिराशोभा थापा, युस्का महर्जन, रोसा न्यौपाने, श्रेबी महर्जन, अनुस्का पोख्रेल, आज्मी शेरचन र शिक्षा श्रेष्ठ छन्। अन्तर्राष्ट्रिय एक्सपोजरका लागि २८ खेलाडीले भारतको बंग्लोरमा आगामी सेप्टेम्बर २७ र २८ मा हुने एसियन स्विमिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्। त्यहाँ प्रतिस्पधा नगर्ने खेलाडीले सातदोबाटोमा रहेको पौडी प्रशिक्षण केन्द्रमा नियमित प्रशिक्षण गर्नेछन्।

पौडीका मुख्य प्रशिक्षक शंकर कार्कीले ३२ खेलाडीको प्रदर्शनको टायम कार्डका आधारमा अन्तिम टोली छनोट हुने बताएका छन्। आगामी मंसिर १५ देखि २४ गतेसम्म घरेलु मैदानमा आयोजना हुने १३औं सागका लागि पौडीमा कुल २८ सदस्यीय अन्तिम टोली छनोट हुने मुख्य प्रशिक्षक कार्कीले जानकारी दिए। पुरुषमा १६ र महिलामा १२ खेलाडीले १३औं साग खेल्नेछन्।

प्रकाशित: २ आश्विन २०७६ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App