coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘स्कूलमा गोली चलाउनेलाई प्रहरीको संरक्षण’

रौतहट— विद्यालय व्यवस्थापन समिति (विव्यस) को निर्वाचनको विषयलाई रौतहटमा भएको गोलीकान्डका दोषीलाई प्रहरीले संरक्षण दिएको आरोप निर्वाचित अध्यक्षले लगाएका छन्। रौतहटको धरहरी गाविसस्थित जय किसान उच्च माध्यमिक विद्यालयको गत महिना सम्पन्न विव्यसको निर्वाचनमा गोली चलाउने व्यक्तिलाई प्रहरीले संरक्षण दिइरहेको आरोप निर्वाचित अध्यक्ष हृदय नारायण साहले लगाएका हुन्।

रौतहटको शिवनगरमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष साहले गत जेठ २६ गते राति विव्यसको निर्वाचनपछि गोली प्रहार गरेर दुई जनालाई गम्भीर घाइते बनाउने व्यक्तिहरुलाई रौतहट प्रहरीले जोगाइरहेको र प्राप्त प्रमाणलाई अपराधीको पक्षमा प्रस्तुत गरिरहेको गम्भीर आरोप लगाइए।

नव निर्वाचित अध्यक्ष एवं पूर्व प्रधानाध्यापक समेत रहेका साहले घटनाको छानबिन हुनुपर्ने माग गरेका छन्।

जेठ २६ गते निर्वाचनको समयमा स्थानीय प्रशासनद्वारा शान्ति सुव्यवस्था कायम गर्न हेलचक्राइ गरेको कारण अपराधीलाई घटना गराउने वातावरण बनेको आरोप साहको छ।

गोली चलाएर घाइते बनाउने मुख्य योजनाकार राजकिशोर यादव शिवनगरस्थित आफन्तका सञ्जिवनी हेल्थ केयर अस्पतालमा प्रहरीको निगरानीमा उपचारत छन्। निजलाई ज्यानमार्ने उद्योग मुद्दाको मिसिलमा प्रहरीले फरार उल्लेख गरेकोप्रति अध्यक्ष साहले आपत्ति जनाए।

अध्यक्ष साहले ज्यान मार्ने उद्योग मुद्दामा गोली लागि घाइते भएका  टइट पंडित र शम्भु साहको घाउ जाँच फारम प्रहरीले पैसाको चलखेलमा नगराएको समेत आरोप लगाए। घाइतेद्वयलाई अस्प्तालद्वारा बुलेट इन्जुरी लागेको प्रमाणित गरे पनि प्रहरी प्रतिवेदनमा छर्रा लागेको कुरा उल्लेख गरी उक्त अपराधीलाई संरक्षण गर्न कार्य देखिएको उनले ठहर गरे ।

घटना पछि प्रहरीले खानतलासी गर्ने क्रममा अभियुक्त गुडु भन्ने विवेक कुमार यादवको घरबाट १२ बोरको दुई थान बन्दुक फेला पारेको भएतापनि उक्त मुद्दाको मिसिलमा १ थान लाइसेन्सी बन्दुक बरामद भएको देखाउदा अपराधीलाई प्रहरीबाट संरक्षण भएको कार्य पुष्टि भएको आरोप अध्यक्ष साहले लगाए।

विद्यालय जस्तो शान्ति क्षेत्रमा गोली चलाउने उपर प्रहरीले कारवाही अघि नबढाए यो मुद्दा माथिल्लो निकायमा पुर्याउने उनले बताए।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक गणेश रेग्मीले आरोपहरु लाञ्छनायुक्त भएको बताए। प्रहरीले अनुसन्धान गरी उक्त मुद्दाका आरोपीहरुलाई आदलत समक्ष मिसिल पठाइसकेको बताउँदै राजकिशोर यादवको स्वास्थ्य अवस्था खराब रहेकाले प्रहरी निगरानीमा उपचार भइरहेको स्पष्ट पारे।

प्रहरीले नियन्त्रणमा लिएर बयान नलिएसम्म कानुनअनुसार फरारकै सुचिमा रहने जानकारी दिँदै उनले सोही कुरालाई अनावश्यक हल्ला मच्चाइएको बताए।

प्रकाशित: १५ असार २०७३ १४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App