coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानको निर्यात घट्यो

टोकियो – जापानको निर्यात अघिल्लो वर्षको तुलनामा गत अगस्ट महिनामा १२ प्रतिशतले घटेको छ। संयुक्त राज्य अमेरिका र चीनबीच जारी व्यापार तनाब र करवृद्धिका कारण जापानको निर्यात प्रभावित भएको विश्लेषकहरुले बताएका छन्। जापानी सामानको प्रमुख बजार चीन र अमेरिका नै रहेकाले पनि जापानको निर्यातमा असर परेको हो। जापानका मेसिनरी, सवारी साधन र केमिकल सबैको निर्यात घटेको छ।

गत अगस्ट महिनामा जापानको आयात पनि घटेको पाइएको छ। आयातमा भएको गिरावट विगत तीन वर्षकै सबैभन्दा बढी हो। जापानमै पनि बजारमा सामानको मागमा मन्दी छाएको छ। अमेरिकातर्फको सिपिङ व्यवसाय चार प्रतिशतले घटेको छ भने चीनतर्फको सिपिङमा १२ प्रतिशतले कमी आएको छ।

समग्रमा, निर्यात र आयातमा छ प्रतिशतले कमी आएको जापानको भन्सार विभागले जनाएको छ। अगस्ट महिनामा संयुक्त राज्य अमेरिकातर्फ जापानको निकासी चार अर्ब ३७ करोड अमेरिकी डलर रहेको छ जबकी निर्यातभन्दा आयात अझ घटेको छ। व्यापारिक तनाबबीच आयातभन्दा निर्यात नै बढी भएको भन्दै जापानको अर्थ मन्त्रालयले खुशी व्यक्त गरेको छ।

जापानी व्यवसायको पछिल्लो सर्वेक्षणमा सन् २०११ को भूकम्प र सुनामीपछि जापानको अर्थतन्त्रमा यति ठूलो प्रभाव देखिएको यो पहिलोपटक रहेको उल्लेख छ। गत महिना जापान र संयुक्त राज्य अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भए पनि अन्तिम सम्झौता हुन अझै बाँकी छ।

विश्वका प्रमुख औद्योगिक राष्ट्रको समूह (जी–सेभेन) को बैठकका क्रममा दुबै मुलुकका नेताबीच फ्रान्समा वार्ता हुनुअघि नै यस्तो सहमति भएको समाचार सार्वजनिक भएको थियो। अमेरिकासँगको व्यापार वार्ताको जिम्मेवारी सम्हालेका जापानका अर्थमन्त्री तोसिमिचु मोटेगीले संवाददातासँग वासिङ्टनमा संक्षिप्त प्रतिक्रिया दिँदै वार्तामा ठूलो प्रगति भएको बताएका थिए। मन्त्री मोटेगीको जापानी प्रतिनिधिमण्डल र अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरबीच तीन दिन व्यापार वार्ता भएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच निकै सुमधुर सम्बन्ध रहेको छ तर राष्ट्रपति ट्रम्पले जापानमाथि द्विपक्षीय व्यापारमा अमेरिकाबाट अनपेक्षित लाभ पाइरहेको आरोप लगाउँदै आएका छन्। उनले दुबै मुलुकबीचको व्यापार सम्बन्धलाई बढी समावेशी बनाउनुपर्नेमा जोड दिइरहेका छन्। 

अमेरिकी व्यापार प्रतिनिधि लाइटिजर र मोटेगीबीच जापानले अमेरिकी कृषिजन्य वस्तुमाथि लाग्दै आएको करलाई ट्रान्स–प्यासिफिक पार्टनरसिप (टिपिपी) सम्झौता बमोजिम अरु देश सरह बनाउन सहमति भएको छ। साथै जापानले अमेरिकाबाट आयात हुने मासुजन्य वस्तुको कर घटाउने तथा दुग्धजन्य वस्तुमा लाग्दै आएको कोटा नराख्ने विषयमा सहमति भएको जापानी प्रसारण संस्था एनएचकेले जनाएको छ। जापानले यसअघि टिपिपी सम्झौताबमोजिम कृषिजन्य वस्तुका सन्दर्भमा अरु मुलुक सरहको व्यवहार गर्ने वचन दिँदै आएको थियो।

पछिल्लो सहमतिमा अमेरिकाले जापानी औद्योगिक वस्तुमाथि अतिरिक्त कर नलगाउने जनाएको छ। तर जापानलाई टाउको दुखाई भएको जापानी सवारी साधनमाथि लाग्ने अमेरिकी करहरुका बारेमा भने यद्यपी कुनै सहमति भएको छैन। दुबै मुलुकबीच अन्तिम सम्झौता अगामी सेप्टेम्बर महिनाको अन्त्यसम्ममा हुने जापानी अखबारले जनाएका छन्।
यसैबीच फ्रान्सेली समाचार एजेन्सी एएफपीका अनुसार जापानको प्रमुख शेयर बजार निक्की २२५ सूचक बुधबार केही घटेको छ। विगत १० दिनदेखि सामान्य वृद्धि हुँदै आएको शेयर बजार बुधबार ०.१८ विन्दुले घटेर २१ हजार ९६०.७१ मा बन्द भएको छ। टोपिक्स पनि ७.९६ विन्दुले घटेर एक हजार ६०६.६२ मा बन्द भएको छ।

साउदी अरबको तेल प्रशोधनस्थलमा भएका आक्रमणका कारण तेलमा मूल्यवृद्धि भएपछि टोकियो शेयर बजारमा असर परेको अनुमान गरिएको छ। लगानीकर्ता अमेरिकी केन्द्रीय बैंकको नीति घोषणाका बारेमा पनि सावधानीपूर्वक प्रतिक्षा गरिरहेका छन्। जानकार केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने अपेक्षामा छन्। अमेरिकी केन्द्रीय बैंकले मंगलबार नगद अभाव रहेको भन्दै अर्बौं डलर वित्तीय बजारका लागि उपलब्ध गराएको थियो।

प्रकाशित: २ आश्विन २०७६ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App