८ वैशाख २०८१ शनिबार
कला

‘कविकुञ्ज’ अब संग्रहालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर (कविकुञ्ज) लाई संग्रहालय बनाइने भएको छ। हाल जीर्ण अवस्थामा रहेको कविकुञ्ज इँटा र माटाको प्रयोगबाट निर्माण भएको थियो।

विनासकारी भूकम्पका कारण कविकुञ्जको भित्री भागमा क्षति पुगेको थियो। कविकुञ्जको नयाँ भवन पुरानो आकार र डिजाइनमा निर्माण गरिने भएको छ। गत वर्ष लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महाकवि देवकोटाको कविकुञ्जलाई संग्रहालय बनाउने घोषणा गरेका थिए। त्यसलगत्तै कविकुञ्ज रहेको जग्गाको मूल्याङ्कन गर्न सरकारले मुआब्जा निर्धारण समिति गठन गरेको थियो। १२ आना क्षेत्रफलमा फैलिएको जग्गाको पाँच करोड १२ लाख मूल्याङ्कन गरिएको थियो।

‘महाकवि देवकोटाको घरलाई नेपाल प्रज्ञा–प्रतिष्ठान मातहत लिएर संग्रहालय बनाउन कविकुञ्जको जग्गा प्रतिष्ठानको नाममा ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ’, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने। काठमाडौैका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिमा देवकोटा परिवार, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, मालपोत कार्यालय, नापी र गुठी कार्यालयका प्रतिनिधि सदस्य छन्। कविकुञ्ज पशुपति महागुठीअन्तर्गत पर्दछ।

महाकवि देवकोटाले घर छोरी मीरा देवकोटाका नाममा गरिदिएका थिए। छोरी मीराको मृत्युपछि उनका जेठा छोरा पद्मप्रसादका नाममा नामसारी गरी संस्कृति मन्त्रालय मातहत ल्याइएको छ। उनका जेठा छोरा अमेरिका र कान्छा दीपकप्रसाद अष्ट्रेलियामा बस्दै आएका छन्। संस्कृति मन्त्रालयबाट जग्गालाई प्रज्ञा–प्रतिष्ठानका नाममा ल्याउने प्रक्रिया सुरु भएको प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बताए। ‘जग्गा प्रतिष्ठानको नाममा आएपछि मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयलाई बजेट विनियोजन गर्न पत्राचार गर्छ’, उनले भने।

संग्रहालयमा महाकवि देवकोटासँग सम्बन्धित साहित्यिक कृति, अडियो भिडियोसहितका प्रवचन र फोटो राखिनेछन्। त्यसबाहेक पुस्तकालय र सेमिनार हलसहितको आकर्षक भवन निर्माण गर्नेछौं,’ उनले थपे।

प्रकाशित: २ आश्विन २०७६ ०२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App