१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कालाबजारी रोक्न प्रशासनको अनुगमन

रामेछाप – चाडपर्वको मौका छोपेर व्यापारीले कालाबजारी गर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापले बजार अनुगमन व्यापक बनाएको छ। केही दिनदेखि कार्यालयले निरन्तर अनुगमन गरिरहेको छ।

चाडको मौका छोपेर व्यापारीले उपभोक्ता स्वास्थ्य र हितमा खेलबाड गर्न सक्ने ठानेर प्रशासनले अनुगमनमा सक्रियता बढाएको हो।

अनुगमनका क्रममा भेटिएका अखाद्य र म्याद नाघेका सामान बरामद गरेको कार्यालयले जनाएको छ। मन्थली बजारका सबैखाले पसलमा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लिलाकुमारी केसी पाण्डेले बताइन्।

अनुगमन टोलीले ठूलो परिमाणमा म्याद नाघेका र अखाद्य सामग्री बरामद गरेको छ। जिल्लाका हार्डवेयर, कस्मेटिक लगायत पसलमा अनुगमनका क्रममा बरामद गरिएका सामान राख्नै समस्या आएको प्रजिअ पाण्डेले बताइन्। ‘अनुगमन टोलीले दैनिक रुपमा ठूलो परिमाणमा सामग्री बरामद गरेर ल्याउँदा कार्यालयमा भण्डार गर्नसमेत ठाउँ अभाव हुन थालेको छ,’ उनले भनिन्।

कार्यालयले गरेको अनुगमनले चर्चा समेत पाएको छ। अनुगमनका क्रममा कुन पसलबाट के के सामान बरामद गरियो भन्ने विवरण सार्वजनिक गर्न थालेपछि सर्वसाधारणमा अनुगमनप्रति चासो बढेको छ। सर्वसाधारणले प्रशासनको अनुगमनलाई प्रशंसा पनि गरेका छन्। नियमित अनुगमनले स्थानीय व्यापारीलाई सजग बनाउने अपेक्षा गरिएको प्रजिअ पाण्डले बताइन्।

अनुगमनका क्रममा बरामद अखाद्य र म्याद नाघेका सामानको परिमाण यति ठूलो छ कि जिल्ला प्रशासन कार्यालयमा ती सामान राख्ने ठाउँकै अभाव भएको छ।

जिल्लामा नाम चलेका पसलबाट समेत अुनगमन टोलीले म्याद नाघेका र अखाद्य वस्तु तथा इजाजत नलिई बेच्न राखिएको वस्तु बरामद गरेको छ।

प्रशासनले बजार अनुगमनका क्रममा बरामद गरिएका सामान र पसलको नाम सार्वजनिक गरेपछि व्यवसायीलाई लाजै लाग्ने अवस्था बनेको कार्यालयका नायब सुब्बा तथा अनुगमन टोली संयोजक लक्ष्मण भुजेलले बताए। यसपटक अनुगमनको क्रममा व्यवसायीलाई कार्बाही नगरी सचेत गराएर आवश्यक निर्देशन दिएको प्रमुख जिल्ला अधिकारीले बताइन्।

‘यसपटक हामीले बरामद गरिएका सामग्री र पसलको नाम स्थानीय मिडियामार्फत दैनिक सार्वजनिक गरेका छौं, त्यसले व्यवसायीलाई लाजमर्नुको स्थिति बनेको छ। त्यो नै उनीहरुका लागि ठूलो कारवाही हो,’ प्रजिअ पाण्डेले भनिन्।

फेरि पनि कैफियत भेटिए कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाइने कार्यालयले जनाएको छ। व्यापारीले कमिसनको लोभमा दुई महिना म्याद बाँकी भएका सामान ल्याएर बेच्ने र उपभोक्तामाथि खेलबाड गरेकोले त्यसो नगर्न निर्देशन दिएको कार्यालयले जनाएको छ।

ग्रामीण बजारमा भने अखाद्य र गैरकानुनी सरसामान बिक्री भइरहेको गुनासो आइरहेको छ। सदरमुकामका बजारमा म्याद सकिएका सामान ग्रामीण बजारमा जाने गरेको गुनासो बाक्लै आउन थालेको छ। ग्रामीण तहमा पनि अुनगमन प्रभावकारी बनाउने जिल्ला प्रशासनले जनाएको छ। पालिकाहरुमा उपप्रमुख तथा उपाध्यक्षको संयोजकत्वमा अनुगमन गर्ने नीतिगत प्रावधान भए पनि त्यसको कार्यान्वयन छैन। कतै अनुगमन गरिए पनि सबैतिर प्रभावकारी हुन सकेको छैन। सबै स्थानीय तहलाई  बजार अनुगमन प्रभावकारी बनाउन आग्रह गरेको प्रजिअ पाण्डेले बताइन्।

प्रकाशित: २ आश्विन २०७६ ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App