८ वैशाख २०८१ शनिबार
राजनीति

काठमाडौंको फोहोर व्यवस्थापनमा सघाउने जापानको प्रस्ताव

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र जापानी राजदूत  मासामिची साइगोबीच भेटवार्ता भएको छ। भेटवार्तामा राजदूत साइगोले इन्द्रजात्राका अवसरमा विदेशी जनप्रतिनिधिलाई आमन्त्रण गरेर काठमाडौँ महानगरपालिकाले इन्द्रजात्राको महत्वलाई विश्वसामू चिनाएको भन्दै खुशी व्यक्त गरे। ‘काठमाडौँका सांस्कृतिक मूर्त–अमुर्त सम्पदाबाट म प्रभावित भएको छु,’ साइगोले भने, ‘महानगरपालिकाको निम्तो स्वीकार गर्दै इन्द्रजात्राको अवलोकन गर्न हाम्रो देशको मात्सुमोतो नगरबाट पनि प्रतिनिधि मण्डल आउनु भएको थियो। उहाँहरु खुशी भएर फर्किनुभयो।’ 

इन्द्रजात्राकै प्रसङ्ग उल्लेख गर्दै उनले कुमारी रथ यात्रा गर्दा रथबाट मिल्काएको फूल आफूले पनि प्राप्त गर्ने अवसर पाएको र त्यो फूल अलि ओइलाएको भए पनि त्यसलाई जोगाएर राखेको बताए। ‘हामी नेपालको संम्पदा, संस्कृति र परम्पराको संरक्षणका लागि सहयोग आदन–प्रदान गरी हाम्रो सदियौँदेखिको सम्वन्धलाई अझ प्रगाढ बनाउन चाहन्छौँ,’ उनले भने, ‘यहाँका सम्पदा पुर्ननिर्माणमा पनि आवश्यक सहयोग गर्न हामी तयार छौँ।’ 

भेटमा मेयर शाक्यले आफू निर्वाचित भएर आएदेखि नै संम्पदा, संस्कृति र परम्पराको संरक्षणका सक्दो पहल गरिरहेको भन्दै सम्पदा पुर्ननिर्माण गर्दा परम्परालाई जोगाउँदै भूकम्प प्रतिरोधी ढंगले गरिरहेको पनि जानकारी दिए। ‘दुई देशबीचको सम्वन्धलाई अझ प्रगाढ बनाउँदै सहयोग आदन–प्रदान गर्न चाहन्छौँ,’ मेयर शाक्यले भने, ‘इन्द्रजात्रा अवलोकनका लागि जापानबाट प्रतिनिधि आउँदा खुशी भएका छौँ। नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि जापानी जनतालाई सन्देश दिन उहाँहरुलाई तपाईँको तर्फबाट पनि पहल होस् भन्ने हामीले चाहेका छौँ।’ 

मेयर शाक्य त्यस्तो प्रस्तावपछि राजदूत साइगोले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘अहिलेसम्म नेपालमा टे«किङ र बौद्ध धर्मसँग जोडिएका मानिसहरु मात्र आउने गरेका छन्,’ साइगोले भन्नुभयो, ‘नेपालमा हिमाल, पहाड र बौद्ध धर्मसँग सम्वन्धित कुरा मात्र छैनन् । सम्पदा, संस्कृति, परम्परा र लोभलाग्दा प्राकृतिक सौदर्यको अवलोकनका लागि पनि नेपाल जानै पर्छ भनेर हामी जापानी जनताका बीचमा नेपाल भ्रमण वर्ष २०२० का लागि सक्दो प्रवद्र्धन गर्छौ ।’ 

साइगोको त्यस्तो प्रतिवद्धतापछि मेयर शाक्यले खुशी व्यक्त गर्दै पुर्ननिर्माण भैरहेका काष्ठमाण्डपलगायतका सम्पदाको अवलोकन गर्न पनि राजदूत साइगोलाई आग्रह गरे।  मेयर शाक्यले विगतमा पनि जापानको सहयोग नेपाललाई निरन्तर प्राप्त भएको भन्दै आगामी दिनमा पनि सहयोग आदन–प्रदान निरन्तरता रहोस् भने।  

छलफलका क्रममा राजदूत साइगोले जापानको वातावरण मन्त्रालयले आयोजना गर्ने फोहोर व्यबस्थापन सम्बन्धि प्राबिधिक कार्यक्रमका लागि निम्तो दिए। ‘काठमाडौंको फोहोर व्यवस्थापनमा प्रबिधिको प्रयोग गर्न हामी इच्छुक छौँ,’  उनले भने, ‘त्यो कार्यक्रममा यहाँबाट सहभागी प्रतिनिधिले केही सिक्ने अवसर प्राप्त गर्नुहुनेछ भन्ने पनि हामीले आशा गरेका छौँ।’

प्रकाशित: १ आश्विन २०७६ १५:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App