८ वैशाख २०८१ शनिबार
समाज

अविरल वर्षाले बाँके खजुराका सयौं घर डुबानमा

अबिरल वर्षाले डुबानमा परेका बाँके, खजुराका गाउँ । तस्बिर सौजन्य : झबि शर्मा/रेडक्रस

नेपालगन्ज– अबिरल वर्षाले बाँके, खजुराका सयौं घर डुबानमा परेका छन्। वर्षाले स्थानीय जेठी नालामा पानीको सतह बढ्दा खजुरा गाउँपालिका वडा नम्बर ६ र ७ का सयौं घर डुबानमा परेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जानकारी दिएको छ। समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले खजुरा गाउँपालिकाको वडा नम्बर ६ र ७ डुबानबाट बढी मात्रामा प्रभावित भएको बताए। 

‘बाढीले खजुरा क्षेत्रका मात्र १ सय ७२ घर डुबाएको अहिलेसम्म रिपोर्ट प्राप्त भएको छ, वर्षा नरोकिएकाले संख्या अझै बढ्न सक्ने देखिन्छ’, उद्धारका लागि घटनास्थलमा खटिएका प्रजिअ खड्काले बुधबार बेलुका नागरिकसँग भने। खजुरा गाउँपालिका अन्तर्गत पर्ने साविक उढरापुर र सोनपुर गाविसका अधिकांस गाउँ डुबेको प्रहरीले जनाएको छ। उक्त क्षेत्रका डुबान पीडितहरु स्थानीय सामुदायिक बिद्यालयको भवनमा आश्रय लिएका छन्। 

आधारभुत बिद्यालय सिन्दुरीमा १ सय जति र जनसेवा माध्यामिक बिदालयमा ८÷१० जना बिस्थापित परिवारले आश्रय लिएको नेपाल रेडक्रसका झबि शर्माले बताए। ‘वर्षा नरोकिएको हुँदा बिस्थापित परिवार सुरक्षित स्थानतर्फ जान सकेका छैनन्, बिस्थापित हुनेको संख्या अझै बढ्न सक्छ,’ शर्माले भने। वर्षाका कारण बुधबार दिनभर त्यस क्षेत्रको यातायात समेत प्रभावित भयो। डुबान पीडितको उद्दारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसकर्मी दिनभर खटिएका थिए। 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक(डिएसपी) शिव सिंहले अबिरल वर्षाले खजुरा क्षेत्रमा सबैभन्दा बढी डुवान गरेको हुँदा त्यस क्षेत्रमा उद्धार कार्यका लागि प्रहरीसहितको सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए। प्रमुख जिल्ला अधिकारी खड्कासहित जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर ओली, नेपाली सेना, सशस्त्र प्रहरीका उच्च अधिकारी डुबान क्षेत्रमै पुगेका थिए। 

प्रकाशित: १ आश्विन २०७६ १५:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App