८ वैशाख २०८१ शनिबार
समाज

शिखर सम्मेलनमा बालविवाह अन्त्य गर्ने विषय उठान गर्न माग

काठमाडौँ- बालविवाह अन्त्य गर्ने अभियानमा क्रियाशील रहेका विभिन्न १७ वटा गैरसरकारी सस्थाले दिगो विकाससम्बन्धी शिखर सम्मेलनमा बालविवाहको विषयलाई उठान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।     
     
यही असोज ६ र ८ गते न्युयोर्कमा आयोजना हुने सो शिखर सम्मेलनमा नेपालले भाग लिँदैछ। दिगोे विकासका लक्ष्यलाई सन् २०३० भित्र हासिल गर्न बालविवाह अन्त्य गर्न जोड समेत दिइएको छ। ‘गल्र्स नट ब्रिड्स नेपाल’ नामक संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारको सो ध्यानाकर्षण गराइएको हो।     
     
नेपाल बालविवाहको दर उच्च रहेको मुलुकभित्र पर्दछ। दक्षिण एशियामा बङ्गलादेशपछि नेपाल बालविवाह हुनेमा दोस्रो स्थानमा रहेको छ। सन् २०१६ को जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार १८ वर्ष नपुग्दै विवाह हुने ३९ प्रतिशत रहेको छ।

मुलुकी अपराध संहिताले विवाहको उमेर २० वर्ष तोकेको छ। संविधानमा बालविवाहलाई बाल अधिकार हनन र दण्डनीय अपराधको रुपमा उल्लेख गरेको छ तर नेपालमा बालविवाह नरोकिएको आयोजक सस्थाले जनाएको छ। संयुक्त राष्ट्रसंघको सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न साधारणसभाले दिगो विकास लक्ष्य पारित गरेको थियो।     
     
शिक्षा, स्वास्थ्यलगायत विभिन्न १७ वटा लक्ष्यअन्तर्गत बालविवाह अन्त्यलाई विशेष जोड दिएको छ। सो लक्ष्यको ५.३ मा ‘बालविवाह, कम उमेरको विवाह, जवरजस्ती विवाह र महिलाको योनी छेदनजस्ता गलत र हानिकारक अभ्यासलाई विश्वबाट निर्मूल गर्ने’ उल्लेख गरिएको छ।     
     
आयोजक सस्थाका महासचिव आनन्द तामाङले दिगो विकास लक्ष्य हासिल गर्न सरकारले लगानी बढाउन र भएका नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न जोड दिए। उनले अगामी शिखर सम्मेलनमा नेपालले बालविवाह अन्त्यसम्बन्धी विषयलाई जोडदार रुपमा उठान गर्न आग्रह गर्दै बालविवाह अन्त्यका लागि सामूहिक प्रयत्नको खाँचो औँल्याए।     
     
शिखर सम्मेलनमा नेपालले सो विषयलाई उठान गर्दा बालविवाह अन्त्य गर्न थप लगानी जुट्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो। बालविवाह अन्त्य गर्ने नीतिगत र कानूनी व्यवस्था भए पनि व्यवहारिक रुपमा नेपालमा बालविवाहको समस्या बढ्दो रहेको छ। रासस

प्रकाशित: १ आश्विन २०७६ ११:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App