५ वैशाख २०८१ बुधबार
समाज

रुपन्देही गोली प्रकरणः अनुसन्धानका लागि सिआइबी टोली आउँदै

भैरहवा– आइतबार रुपन्देहीको रोहिणीमा भएको गोली काण्डलाई नेपाल प्रहरीले विभिन्न कोणबाट सुक्ष्म अध्ययन गरिरहेको छ। जिल्ला प्रहरी प्रमुख आएकै दिन भएको घटनालाई लिएर प्रहरीले गर्नुपर्ने सबै बल लगाएर घटनालाई अनुसन्धान गरिरहेको छ।

काउन्टर पार्टसँग पनि समन्वय गरेर यो विषयलाई कसरी हुन्छ दोषी पत्ता लगाएर कानुनी दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय लागेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक विरेन्द्र बहादुर शाहीले बताए। 'हामीसँग भएको सबै क्षमता लगाएर काम गरिरहेका छौ, सडकका सिसि क्यामराबाट हामीलाई मद्दत मिलेको छ। हामीलाई चुनौती छ तर गरेरै नतिजा लगाउँछौ।' स्रोतका अनुसार सडकमा भएको सिसी क्यामराका फुटेजबाट तस्बिर हासिल भइसकेको छ, अनुसन्धानका लागि सिआइबीबाट विशेषज्ञ सहितको टोली पनि आउदै छ। मंगलबार अनुसन्धानकै क्रममा भारतिय प्रहरीसँग पनि छलफल र समन्वय भएको छ। शंकास्पद व्यक्तिहरुसँग सोधपुछ गर्ने काम भइरहेको छ।

यता घटना घटेको चौथो दिन भएपनि कसैले सूचना दिएर घटना गराएको हो या लुटेराले आफै पैसा लुट्नको लागि घटना गरेको भन्नेमा अहिले पुष्टि नभएकोले घटना रहष्यमय बन्दै गएको छ। गोली कसले र किन चलाएको भन्ने विषय नखुले पनि पारिवारिक स्रोतले भने हत्या भएको दाबी गरेका छन्। आमालाई उदृत गर्दै मृतककी १६ वर्षीया छोरी सोनम चौधरीले काका धमेन्द्र चौधरीको २ वर्षअघि मृत्यु भएपछि काकी घर नबसी माइत बस्दै आएको र उनले समय समयमा हामीहरुलाई विभिन्न मान्छे लगाएर सम्पतिका लागि धम्काउने गर्नु भएकोले बुबाको हत्या पनि काकीले गर्न लगाउनु भएको दाबी गरिन्।

काकी मालती चौधरीका कारण बुबाको हत्या भएकोले घटनाको छिट्टै सत्य तथ्य बाहिर ल्याउन प्रहरीसँग माग गरेकी छन्। ओमसतिया गाउँपालिका-५ पट्खौलीका महेन्द्र कुर्मी आइतबार दिउँसो साढे २ बजे भैरहवास्थित हिमालय बैंकबाट ५ लाख रुपैयाँ निकालेर लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा श्रीमती र ८ महिनाको दुधे बालक छोरासहित घर फर्किने क्रममा बैकुण्ठपुरमा गोली हानिएको थियो। लुटेराले कुर्मीलाई मोटरसाइकलबाट लडाइ पैसा र ज्यान जोगाउन नजिकैको घरतर्फ जाँदै गर्दा गोली हानी पैसा र उनीसँग भएको नागरिकता, चेकबुकलगायतका सामान लगेका थिए।

मृतक चौधरीको परिवारमा अहिले २ छोरी, एक छोरा, श्रीमती र बुबा आमा छन्। काकी र उनका छोरा छोरी अधिकांश समय मातीमा बस्दै आएको छन् ।

प्रकाशित: १ आश्विन २०७६ १०:५३ बुधबार

रुपन्देही_गोली_काण्ड अनुसन्धान सिआईबी