८ वैशाख २०८१ शनिबार
राजनीति

विश्वमै डेंगुको प्रकोप छ, हाम्रोमा देखिएको संक्रमण जटिल छैनः उपप्रम यादव

काठमाडौं– सरकारले डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या अत्यन्तै न्यून रहेकाले आपतकालिन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ। 

प्रतिनिधिसभाको बुधबारको बैठकमा समय लिएर बोल्दै उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले डेंगु संक्रमण आपतकालिन अवस्था घोषणा गर्नुपर्ने तहसम्म नरहेको स्पष्ट पारेका हुन्। नेपालमा मात्रै नभई विश्वका अन्य मुलुकमा पनि डेंगुको संक्रमण देखिएको उल्लेख गर्दे उनले नेपालको डेंगु संक्रमण जटिल किसिमको नभएको दाबी गरे। उनले भने, ‘हामीकहाँ यो रोग पनि अन्य मुलुकहरुमा जस्तै जटिलतायुक्त डेंगु रोग अत्यन्त न्यून रुपमा मात्र देखिएका छन्। र मृत्युदर अत्यन्तै न्यून रहेकोले नै आपतकालिन अवस्थाको घोषणा गर्नुपर्ने हदमा नरहेको कुरा जानकारी गराउन चाहन्छु।’  

उनले डेंगु लगायत प्रकोप नियन्त्रणका लागि संघीय सरकारबाट प्रदेशमा ६ करोड १७ लाख र ८५ वटा स्थानीय तहमा १ करोड ६६ लाख रुपैया पठाईएको जानकारी गराए। त्यसैगरी, स्थानीय तहका विभिन्न जिल्लामा डेंगु रोग फैलाउने लामखुट्टेका लार्भा खोजेर मार्ने अभियान संचालन गर्नुको साथै जनचेतनामुलक कार्यक्रम पनि भइरहेको उनले बताए।

मुलुकभरका १ सय १८ पटा अस्पतालबाट डेंगु सम्बन्धी तथ्यांक अध्यावधि गर्ने काम भइरहेको पनि उनले जानकारी दिए।

त्यसैगरी मन्त्री यादवले सघन डेंगु रोग नियन्त्रण घरदैलो अभियान अन्तर्गत ‘सबैको साथ डेंगुको नाश हप्ताको एक दिन एक घण्टा हुँदैन कुनै कष्ट, सबैको सहभागितामा लामखुट्टे लार्भा नष्ट’ अभियान संचालन गरिएको तथा जानकारी मुलुक सूचना प्रकाशनका कार्यगत सूचीको विवरण पनि संसद समक्ष पेश गरेका थिए।

संसदको यसअघिका बैठकमा डेंगु संक्रमण बढ्दै जादा जिम्मेवार निकाय स्वास्थ्य मन्त्रालय समस्यातर्फ गम्भीर नबनेको भन्दै प्रतिपक्षी दलका सांसदले स्वास्थ्यमन्त्रीको राजीनामा मागेका थिए भने सत्तापक्षकै सांसदहरुले पनि स्वास्थ्यमन्त्रीको आलोचना गर्दै आएका थिए।

प्रकाशित: १ आश्विन २०७६ १०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App