coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

डडेल्धुरा– हरेक वर्ष असोज संक्रान्तिमा मनाइने बुढी पोल्ने पर्व डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बुधबार धुमधामका साथ मनाइँदै छ। प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको सम्झनामा भाद्र संक्रन्तीका दिनमा ठडाइएको लिंगो अर्थात बुढीलाई आज पोलेर बन्ढुनी पर्व डडेल्धुराका सबै गाउँबस्ती संगै सुदूरपश्चिम प्रदेशमा मनाइने गरिन्छ। 

यस पर्वमा गाई बस्तुको हेरचाह गर्ने गोठला तथा स्थानीयहरुले भाद्र संक्रान्ति अर्थात ओल्के पर्वको दिन सल्ला, बाँझको लिङ्गो ठड्याई रुखहरु, रुखका हाँगाहरु काटेर एकै ठाउँमा थुपारेर बनाएको बुढीलाई जलाउने चलन  छ। 

द्वापर युगमा राक्षस पुतनाले राजा कंशको आदेशमा भगवान श्रीकृष्णलाई दुधको रुपमा विष खुवाएर मार्न लागेको बेला भगवान कृष्णले थाहा पाएर उल्टै राक्षसी पुतनाको रगत चुसी मारेको खुसीयालीमा यो पर्व मनाउने गरेको धार्मिक बिश्वास रहेको छ।

आज गाई वस्तुहरुको गोबर थुपार्ने ठाँउमा काँस, अमरिसो लगायत पाँच जातको घाँसले बेरेको सल्लाको दियालोले राँको बनाएर राख्ने गर्दछन र बेलुकी पख ‘गाईबाच्छी पाल बुढी निकाल, थुई बुढी थुई’ भन्दै काक्रो मुखमा हाली फाल्दै जलाउने चलन रहेको छ। दोबाटोमा जलाएको पुतना राक्षसको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन समेत रहेको छ। यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै प्रकारको रोग नलाग्ने धार्मिक विश्वास रहेको छ। यसै पर्वका अवसरमा आज डडेल्धुराका विभिन्न स्थानमा सांस्कृति कार्यक्रमको आयोजना समेत गरिएको छ। 

सदियौदेखि धार्मिक, तथा सांस्कृतिक महत्व बोकेको बन्ढुनी पर्ब हरेक बर्षको असोज १ गतेका दिन मनाइने गरिन्छ। हरेक बर्षको भदौ १ गतेदेखि प्रत्येक मानिसले आफ्नो गोरु गुहारमा कांडा र झारपातले बेरेर बनाएको बन्ढुनीलाई हरेक बर्षको असोज १ गतेका राती जलाउने परम्परा रहेको छ। बन्ढुनी वा बुढी जलाउँदा सल्लाको झरोका राँको बनाइन्छ भने प्रत्येक बृक्षले राम्रो फल दिओस भन्नका लागी बाबियो, कांसको फुरको रुख तथा बृक्षमा राखिन्छ। 

कतै कतै बुढी जलाई सकेपछि वारीपारी गाउँका एक आपसमा लुतो लैजाउ भन्ने प्रचलन पनि रहेको पण्डित लोकराज भट्टले बताए। सुदूरपश्चिमका बिभिन्न पहाडी जिल्लामा मनाइने बन्ढुनी पर्ब मनाउन आज बिहानैदेखि नुहाई, धुवाई गर्ने गर्छन। आजदेखि नै शरद रितुको आगमन भएको मानिन्छ। बुढी पोली सकेपछि आज राती वा भोलि बिहानसम्म पानी परे गाई अर्थात लक्ष्मीले जीत्ने र नपरे बुढीले जित्ने भन्ने भनाई पनि रहेको उनले बताए।

बन्ढुनी पोल्ने दिन अर्थात बुधबार रातभर अमरगढी नगरपालिका ७ पोखरा र अमरगढी १० राईमा स्थानीय एकै स्थानमा भेला भई देउडा गाउने खेल खेलने चलन रही आएको छ। पोखरामा बिहीबार बिहान ठिक चार बजे तिलाडीको पक्र्यौडा र भाटागाउमा बाट आगोका राँकोसहित देवी देवताका नारा लाउँदै बाँजागाँजाका साथ निकालिएको चौलो पछि बुढी पोल्ने चलन पनि रहि आएको स्थानीय प्रेम ऐरले बताए। 

प्रकाशित: १ आश्विन २०७६ ०९:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App