८ वैशाख २०८१ शनिबार
अर्थ

मलेसियाको बायोमेडिकल निःशुल्क, सबै खर्च रोजगारदाताको काँधमा

काठमाडौं– मलेसिया रोजगार खुलेसँगै कामदारको स्वास्थ्य परीक्षणमा लाग्ने शुल्क पनि स्पष्ट भएको छ।

मेडिकल शुल्क नेपाल र मलेसियाबीच २०७५ कात्तिक १२ गते भएको श्रम सम्झौतापछि बसेको दुई देशको प्राविधिक समितिको संयुक्त बैठकले निर्धारण गरे बमोजिम हुने र उक्त रकम रोजगारदाता कम्पनीले नै व्यहोर्ने छन्। 

काठमाडौंस्थित मलेसियन दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै संयुक्त बैठकले स्वास्थ्य परीक्षण गर्न कर सहित कुल ७ हजार ६ सय ६४ रुपैयाँ लाग्ने र कामदार आपूर्ति गर्दा लाग्ने सबै खर्च रोजगारदाताले व्यहोर्ने सहमति गरेको जानकारी गराएको छ। दूतावासका अनुसार मलेसियाको स्वास्थ्य परीक्षण गर्दा लाग्ने शुल्कसमेत रोजगारदाता कम्पनीले नै व्यहोर्ने सहमति पत्रमा उल्लेख छ।

दुई देशका अधिकारीबीच गत साता मलेसियामा सम्पन्न प्राविधिक समितिको दोस्रो बैठकले मलेसिया रोजगारीमा देखिएको अन्योलता अन्त्य गर्दै कामदार जाने प्रक्रिया सुरु गर्ने सहमति गरेको थियो। सहमति सँगै १५ महिनाअघि रोकिएको मागपत्र प्रमाणीकरणको कामसमेत मंगलबारदेखि नेपाली दूतावास मलेसियाले गर्न थालेको छ।  

बायोमेडिकल स्वास्थ्य परीक्षण गर्न सूचिकृत संस्थाले कामदारको स्वास्थ्य परीक्षण गरेवापत ७ हजार ६ सय ६४ रुपैयाँ लिने दूतावासले जनाएको छ। नेपाल सरकारले तोके अनुरुप मलेसिया जानुअघि स्वास्थ्य परीक्षण गर्न ४ हजार ५ सय, मलेसिया सरकारले निर्धारण गरे बमोजिम बायोमेडिकल परीक्षण वापत २ हजार ८ सय र नेपाल सरकारको नियम अनुरुप १३ प्रतिशत मूल्य अभिवृद्धि कर ३ सय ६४ गरि कुल ७ हजार ६ सय ६४ रुपैयाँ मलेसियाको स्वास्थ्य परीक्षण शुल्क निर्धारण गरिएको दूतावासले जनाएको छ।

दुवै देशको सहमतिमा स्वास्थ्य परीक्षण शुल्क तोकिएको छ। यदि तोकिएको शुल्क भन्दा बढी लिए कारवाही गरिने श्रम मन्त्रालयले जनाएको छ। सबै खर्च रोजगारदाताले व्यहोर्ने भएकाले कामदारमाथि कुनै आर्थिक भार नपर्ने शून्य लागतमा मलेसिया जान पाउने मन्त्रालयको भनाई छ।

नेपालमा स्वास्थ्य परीक्षण पास भएर मलेसिया गएका कामदार त्यहाँ गरिने स्वास्थ्य परीक्षणमा फेल हुने दरमा कमी ल्याउन, स्वास्थ्य परीक्षणलाई गुणस्तरीय गर्न भन्दै मलेसियाले बायोमेडिकल स्वास्थ्य परीक्षण सुरु गरेको हो। बायोमेडिकल बिधिबाट स्वास्थ्य परीक्षण गरेर विदेशिएका कामदार स्वास्थ्यकै कारण नेपाल फर्किने दर अत्यन्त न्युन रहेको स्वास्थ्य व्यवसायीको भनाइ छ। 

तत्कालिन श्रममन्त्री दीपक बोहोराले संसदको अन्तर्राष्ट्रिय श्रम समितिमा बायोमेडिकल स्वास्थ्य परीक्षण सुरु भएपछि स्वास्थ्यकै कारण कामदार नेपाल फर्किने दर १ प्रतिशतको हाराहारी मात्र रहको बताएका थिए। 

दुई देशबीच सम्पन्न श्रम सम्झौतामा कामदार आपूर्ति गर्दा लाग्ने सम्पूर्ण खर्च मलेसियाली रोजगारदाता कम्पनीले व्यहोर्ने सहमति भएको थियो। सहमति अनुसार अब मलेसिया जाने नेपाली कामदारले स्वास्थ्य परीक्षण, भिसा प्रक्रिया तथा आईएससी गरेको सबै खर्च रोजगारदाता कम्पनीले तिर्ने छन्। विगतमा मलेसियाको कलिंग भिसा आउन केही साता लाग्ने गरेकोमा बायोमेडिकल स्वास्थ्य परीक्षण सुरु भएपछि भने २ देखि ३ दिनमा कलिंग भिसा आउन थालेको वैदेशिक रोजगार व्यवसायीले बताउने गरेका छन्।

मलेसियाले आफूले कामदार लिने सबै देशबाट आउने कामदारको स्वास्थ्य परीक्षण रिपोर्ट बायोमेडिकल बिधिबाट लिने गरेको छ। नेपाल र मलेसियाका अधिकारीको संयुक्त बैठकले कामदार आपूर्तिको प्रक्रिया पुनः सुचारु गर्दै हाललाई बायोमेडिकल गर्ने ३६ वटा स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गर्ने सहमति गरेको थियो। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App