coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिटामोल समेत छैन स्वास्थ्य संस्थामा

पाल्पा- आईतबार झडेवा गाविसका ज्ञानबहादुर विक कान दुखेर झडेवा स्वास्थ्य चौकीमा पुगे। स्वास्थ्य संस्थामा औषधीको अभावले उपचार राम्रो नभएको उनले गुनासो गरे। उनले औषधी नलिई घर फर्कन बाध्य भएको बताए। देविसरा राना स्वास्थ्य चौकीमा जाँदा कोट्रिममात्र लिएर फर्कनु परेको बताउँदै थिईन्।

अर्चले गाविसका हर्षबहादुर सोमैले अर्चले स्वास्थ्य चौकीमा स्वास्थ्य उपचार गर्न पुगेका अधिकांश विरामी सिटामोल समेत नपाएर नीजि स्वास्थ्य संस्थाहरुमा उपचारका लागि पुग्नु परेको बताए । स्वास्थ्य चौकीहरुमा ३८ किसिमका औषधी निशुल्क पाईने बताउने सरकारले सिटामोल समेत वितरण गर्न नसक्नु लाजमर्दा कुरा भएको उनले बताए । अर्चले स्वास्थ्य चौकीका प्रमुख मीनबहादुर रानाले औषधीको अभावले उपचारात्मक सेवा दिन कठिन भएको बताए । उनी भन्छन्, ‘औषधीको अभावमा प्रवद्र्धनात्मक र प्रतिरोधात्मक सेवा सञ्चालन गरेका छौ । सिटामोल समेत सकिएको छ । लुता र दादको समस्याले विद्यार्थीहरु यो समयमा स्वास्थ्य संस्थामा आईरहेता पनि त्यसै फर्काउन बाध्य भएका छौं।’

जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधीको अभाव सिर्जना भएको छ । जिल्लाका अधिकांश स्वास्थ्य संस्थाहरुमा सिटामोल समेत सकिएको छ । केही स्वास्थ्य संस्थाहरुले समिति मार्फत् अत्यावश्यक औषधी सीमित मात्रामा खरीद गरेका छन् । जिल्लामा सबैभन्दा बढी माग हुने औषधि एसिलक, डाइजिन, बु्रफिन, सिटामोल यहाँ अभाव भएको हो । जिल्ला स्वास्थ्य कार्यालयले गाउँका स्वास्थ्य चौकीलाई सामान्य समस्यामा विरामीले प्रयोग गर्ने सिटामोल समेत पठाउन सकेको छैन ।

ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रका सिअहेव बिष्णु केसीले स्वास्थ्य संस्थाामा सिटामोल समेत अभाव भएको बताए । उनी भन्छन्, ‘विरामीलाई रित्तो हात फर्काउनु परेको छ । औषधी जिल्लाले पठाउन सकेको छैन । समितिसँग पैसा नभएर खरीद गर्न सकिएन ।’ देविनगर स्वास्थ्य चौकीका निलकण्ठ न्यौपानले सिटामोल सकिएपछि कार्यालयबाट सेवाग्राही त्यसै फर्कनु परेको बताए । उनी भन्छन्, ‘सिटामोल, डाईजिन जस्ता औषधी जिल्ला स्वास्थ्यमा माग गरेको तर प्राप्त हुन सकेको छैन । जिल्लाले खरीदको प्रक्रिया अगाडी बढाएको बताउँछ । समितिले खरीद गर्न गाविसमा पैसा छैन ।’ झडेवा स्वास्थ्य चौकी प्रमुख केशव जिसीले औषधी  अभाव भएकोले स्वास्थ्य संस्था व्यवस्थापन समितिबाट खरीद गर्ने निर्णय भएको बताए । उनले तत्कालै औषधी खरीद गरि वितरण गरिने बताउँछन् ।

जिल्लामा सिटामोल, बुफ्रिन, डाईजिन, लुताको औषधी, दादको औषधी, जिङ्क, ओआरएस, अल्वेण्डाजोल तथा चोटपटक लाग्दा सफा गर्ने स्प्रिटसमेत नभएको सेवाग्राहीहरु बताउँछन् । अत्याधिक आवश्यक पर्ने ब्यान्डेजको अभाव छ । कतिपय स्वास्थ्य संस्थामा सिप्रोसमेत छैन । ड्रेसिङ गर्ने कटन छैन । घाउ सुकाउने औषधी, ग्यास्ट्रिकको औषधि मगाए पनि पाउन सकिएको छैन । जिल्लामा भारतीय तथा नेपाली दुवै कम्पनिबाट आपूर्ती हुने औषधी अभाव छ ।

क्षेत्रीय मेडिकल स्टोर रुपन्देहीबाट सीमित मात्रामा औषधि सबैलाई थोरैथोरै बाँड्दा तत्कालै सकिने गरेको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी माधव ज्ञवालीले बताए । उनी भन्छन्, ‘औषधी अभाव भएको हो । पूर्ण स्टक आउट भएको छैन । पाँच किसिमका एन्टिबायोटिक औषधि निशुल्क पाउनु पर्नेमा एमोक्सिलिन र कोट्रिम मात्र उपलब्ध छ ।’ उनले चालिस लाखको औषधी खरीदका लागि प्रक्रिया अगाडी बढाएको बताए । पुनर्जागरण महाशाखाबाट जनसंख्या तथा विरामीको अनुपातका आधारमा प्राप्त भएको औषधी कमी भएपछि खरीद गर्न थालिएको ज्ञवालीले बताए । अभाव परिपूर्ती गरि प्रयासरत छौं । ‘स्वास्थ्य संस्थाहरुमा दुई लाख बढी रकम मौज्दात छ । असोज ५ मा सबै संस्थामा परिपत्र गरेर अत्यावश्यक ओषधी खरीद गर्न परिपत्र गरेका थियौं । केहीले खरीद गरेका छन्,’—सूचना अधिकारी ज्ञवालीले भने ।

पाल्पा जिल्ला अस्पतालका डा.भास्कर हुमागाईंले अत्यावश्यक औषधि अस्पतालको बजेटबाट खरिद गरेपनि नयाँ औषधि नआएको बताए । ‘यस आर्थिक वर्षमा भएको बजेटले खरिद गरेका औषधि पनि सकियो, लामो औषधि टेन्डर प्रक्रियाका कारण समस्या थपिएको छ । सेवाग्राहीलाई बाहिर पठाउन बाध्य भयौं ।’ अस्पताल विकास समितिका अध्यक्ष डा. पुरन बज्राचार्यले समितिले सबै औषधी दिन नसके पनि केही औषधी व्यवस्था गरिरहेको बताए ।

अस्पतालबाट ७०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट ३५ प्रकारको औषधि निशुल्क वितरण गर्ने सरकारले घोषणा गरेको छ । तर नियमित रुपमा जिल्लाका कुनै पनि स्वास्थ्य संस्थाहरुमा अन्य समयमा पनि नपाईने गरेको गुनासो सेवाग्राहीको छ । अहिले जिल्लामा न्यून मात्रा १५ प्रकारका औषधी मात्रै छन् । जुन अत्यावश्यक पनि छैनन् ।

सरकारी तवरबाट सञ्चालित जिल्लामा दुई सरकारी अस्पताल, दुई प्राथमिक स्वास्थ्य चौकी, ६२ स्वास्थ्य चौकी, एक सय ८४ गाउँघर क्लिनिक सञ्चालनमा छन् । औषधी अभावका कारण यहाँका जनता नीजि स्वास्थ्य संस्थामा महङ्गो स्वास्थ्य उपचार लिन बाध्य भएका छन् ।

प्रकाशित: ६ मंसिर २०७३ ०९:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App